काठमाडौं- संसदको तेस्रो दल भइकन पनि आफूसँग ३२ सिटको म्याजिक नम्बर छ भन्दै ढुक्क रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि सुखद खबर छैन । केही समयअघिसम्म एक अर्कासँग भेट्न समेत तयार नभएका दुई ठूला दलका प्रमुखहरु पछिल्लो एक सातामा निरन्तर भेटिरहेका छन् । बिहीबार साँझ एक व्यवसायीको निवासमा सँगै डिनर गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले १५ असारको दही च्युरा खान सँगै भेट्न तयार भए । ओली निवास बालकोटमा पत्नी तथा कांग्रेस सांसद आरजु राणासहित पुगेका देउवाले करिब तीन घन्टा बिताए । ‘हाम्रो सभापति २०–२५ मिनेट कहीँ बिताइसकेपछि छट्पटिन थालिहाल्ने मान्छे, हिजोआज ओलीजीसँग लामा–लामा बैठक गर्दै हुनुहुन्छ’, देउवा निकट उच्च तहका कांग्रेस नेताले ठट्यौली शैलीमा भने । देउवा र ओली तिनै नेता हुन्, जो २०७९ मंसिरको चुनावपछि आलोपालो प्रधानमन्त्री बन्ने प्रयासमा थिए । तर माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा आलोपालो काँध थापिरहेका छन् । पछिल्लो पटक २१ फागुनमा ओलीले काँध थापेका थिए । त्यसैले प्रचण्डले प्रतिनिधिसभाको बाँकी पुरै अवधि अर्थात ५ वर्ष नै प्रधानमन्त्री हुने चाहना राख्न थालिसकेका थिए । देउवा र ओलीको लामो सम्वादहीनता तोडिएको छ । शीर्ष तहमा सुरु भएको यो सम्वादले कांग्रेस र एमालेलाई सत्ता सहकार्यसम्म नपुर्याउला भन्न सकिन्न । संसदबाट बजेट पास भएको भोलिपल्ट ८ असारमा तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा भनेका थिए, ‘हामीलाई हटाउन सजिलो छैन, तरिका मिल्यो भने पुरै अवधि बसिन्छ । तर प्रचण्डलाई नराम्रोसँग झस्काउने गरी शनिबार देउवा र ओलीबीच भेटवार्ता भएको छ । दुवै दलका नेताहरुले संसदको पहिलो र दोस्रो ठूलो दलका नेताहरु भेट्नुलाई सामान्य भनी अर्थ्याउन खोजेका छन् । ‘दुई ठूला दलका शीर्ष नेताबीच सम्वादहीनता हुनु राम्रो होइन’ देउवा र ओलीको भेटबारे सोध्दा एमाले उपाध्यक्ष विष्णु पौडेल भन्छन्, ‘तर अहिलेको सत्ता गठबन्धन पुरै अवधि चल्छ । यो ढाल्छु भनेर कसैले आश गरेको छ भने नगरे हुन्छ । यो गठबन्धन ढल्छ कि भनेर निराश हुनेहरु निराश नभए हुन्छ । उनीहरुले जति सामान्य बताउन खोजे पनि गठबन्धन सरकारको नेतृत्व गरेको माओवादी केन्द्रमा भने ठूलै तरंग आएको छ । त्यसैले होला, आइतबार विहानै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरे । सिंहदरबारमा भएको दुई नेताको भेटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछाने पनि थपिएका थिए । साभार : अखप












