काठमाडौं- सामान्यतः संसदीय राजनीतिमा पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदैनन् । २०७९ मंसिरको चुनावमा ठूलो दल बनेको नेपाली कांग्रेसले साना दलहरुको साथ लिएर सरकार बनाउनुपर्थ्यो, उसले नसकेको अवस्थामा दोस्रो ठूलो दल एमालेले बहुमत जुटाएर वैकल्पिक सरकार दिनुपर्थ्यो । तर डेढ वर्षसम्म दुई ठूला दलबीच तेस्रो दल माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा काँध थाप्ने प्रतिस्पर्धा चल्यो । तीन पटक गठबन्धन फेरिसकेका प्रचण्ड यसरी नै पाँच वर्ष गइहाल्छ जस्तो गर्न थालेका थिए । तर कांग्रेस र एमालेले प्रचण्ड सरकारलाई हटाएर नयाँ सरकार बनाउने सहमति गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार मध्यरात भएको सातबुँदे सहमतिको लिखित त सार्वजनिक भएको छैन । तर दुबै नेताले आ–आफ्नो दलमा गरेको ब्रिफिङ अनुसार आलोपालोमा अब ओली प्रधानमन्त्री हुनेछन्, त्यसपछि देउवा बन्ने छन् । राजनीतिक स्थिरताका लागि संविधानमा आवश्यक संशोधन गर्ने पनि सहमति भएको छ । देउवा र ओलीको आ–आफ्नो दलमा पूर्ण पटक भएकाले यसमा तलमाथि हुने सम्भावना छैन । तर चुनावमा प्रतिस्पर्धा गर्दै आएका र भोलि पनि मुख्य प्रतिस्पर्धी रहने दुई दलको सत्ता सहकार्य सहज पनि नभएको नेताहरुले बताएका छन् ।
अनि ओलीलाई समर्थन:
०७९ मंसिरको चुनावमा कांग्रेस पहिलो दल भएपछि देउवा प्रधानमन्त्रीमा रहिरहन चाहन्थे । तर कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेको माओवादीका अध्यक्ष प्रचण्डलाई १० पुस २०७९ मा एमालेले प्रधानमन्त्री बनाइदियो । त्यसपछि प्रचण्डलाई एमालेबाट छुटाएर कांग्रेस गठबन्धनमा ल्याउन समय खर्चिए । फागुन २०७९ मा प्रचण्डलाई कांग्रेस गठबन्धनमा फर्काउँदा प्रधानमन्त्रीको लाइनमा बसे । कांग्रेस नेताहरुका अनुसार उनको ध्यान प्रचण्डलाई नचिढ्याउने र गठबन्धन जोगाइराख्नमै सीमित भयो । त्यसका बाबजुद फागुन २०८० मा प्रचण्डले एमालेसँग गठबन्धन गर्ने निर्णयमा पुगे । देउवाले यसलाई धोका माने । त्यसपछि उनी प्रचण्ड सरकार हरहालतमा ढाल्ने प्रयासमा जुटे । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री अफर गरे । तर उनको कार्डले काम गरेन । त्यसपछि कांग्रेस नेताहरुले एमालेसँग पनि सम्वाद गरे । तर एमाले साना दलहरुलाई समेटेर गठबन्धन बलियो बनाउन लाग्यो । अनि सरकारको कामकारबाहीका कारण अड्डा अदालत, प्रहरी लगायतका राज्य संयन्त्रहरु आफूहरुविरुद्ध प्रयोग हुनसक्छ भन्ने भय कांग्रेस नेताहरु र स्वयं देउवामा पनि देखिन थाल्यो । त्यही कारण एमालेसँगै मिलेर सरकार बनाउने निष्कर्षमा पुगे । त्यसका लागि प्रतिस्पर्धी एमालेकै अध्यक्ष ओलीलाई प्रधानमन्त्री अफर गरेको नेताहरु बताउँछन् । ‘अब कम्तीमा त्यस्तो हुन्न भनेर कांग्रेस पंक्तिले राहत महसुस गरेको छ’, एक पदाधिकारी भन्छन्, ‘सभापतिले पनि राहत महसुस गर्नुभएको होला । तर एमालेसँग भएको सहमति अनुसार बाँकी तीन वर्ष सत्ता गठबन्धन चल्छ, आलोपालोमा एमालेको समर्थनमा देउवा प्रधानमन्त्री हुन पाउँछन् भन्नेमा कांग्रेस ढुक्क चाहिँ छैन । कांग्रेस नेताहरुका अनुसार आफैंमा कांग्रेस र एमाले मिलेर सरकार चलाउन आफैंमा सहज हुन्न । ०६५ मा माधवकुमार नेपाल र ०७० मा सुशील कोइरालाको नेतृत्वमा कांग्रेस र एमालेको सरकार थियो । त्यसबेलाको अनुभवका आधारमा एक नेताले बताए अनुसार सरकारले गर्ने कुनै पनि निर्णयले तल्लो तहसम्म प्रभाव पर्ने भएकाले दुबै दल आफ्नो अनुकुल निर्णय होस् भन्ने चाहन्छन् । त्यसमा सरकारको नेतृत्व गर्ने व्यक्तिले सत्ता साझेदार दलसँग निकै समन्वय मिलाएर कामकारबाही गर्न सक्नुपर्छ । तर ओलीको सरकार सञ्चालनमा आफैं शैली छ । मंगलबार पार्टी पदाधिकारी बैठकमा अर्जुननरसिंह केसी लगायतका केही नेताले ओलीको प्रवृत्तिबाट आजित भएको कांग्रेसले कसरी सत्ता सहकार्य गर्छ भनेर प्रश्न समेत गरेका थिए । यद्यपि मिलेर सरकार बनाउने सहमति गरिसकेकाले त्यसमा अडिनुपर्ने र सतर्कतापूर्वक व्यवहार गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन् । त्यसका लागि सरकारको नेतृत्व गरेर पठाउने व्यक्ति छनोट गर्दा नै कांग्रेसले निकै ध्यान दिनुपर्ने नेताहरु बताउँछन् । पार्टी सभापतिको विश्वास जितेको, प्रधानमन्त्री ओलीसँग पनि सहज व्यवहार गर्नसक्ने नेतृत्व खोज्नुपर्ने एक नेता बताउँछन् । नेताहरुले गठकन्धन तीन वर्षसम्म चल्छ र आलोपालोमा ओलीले सरकारको नेतृत्व हस्तान्तरण गर्छन् भन्नेमा कति विश्वस्त हुनुपर्छ भनेर देउवालाई सोधेका थिए । जवाफमा उनले धोकाको औषधि नहुने बताए । तर अहिले कांग्रेस र एमालेको सरकार असामान्य अवस्थामा बनेको भन्दै कांग्रेस सभापति देउवाले बैठकमा भने छन्, ‘यसले पनि केही निकास दिन सकेन भने कांग्रेस मात्र होइन, एमाले पनि फेल हुन्छ । यो राजनीतिक जोखिम उहाँहरुले बुझ्नुभएको छ । पछिल्लो समय कांग्रेस र एमाले मिल्नुपर्ने मत राख्दै आएका कांग्रेस नेता डा. मिनेन्द्र रिजाल पनि यो विकल्प सहज नभएको बताउँछन् । ‘दुई ठूला दलको बीचमा सत्ता सहकार्य पक्कै सहज हुन्न’, उनले अनलाइनखबरसँग भने, ‘विगतको अनुभवका आधारमा यो चुनौतीलाई व्यवस्थापन गर्दै चुनावमा एकअर्कासँग प्रतिस्पर्धा गर्नसक्ने ठाउँमा पुर्याउनुको विकल्प पनि हामीसँग छैन । कांग्रेस र एमाले मिल्दा पनि भने जस्तो काम गर्न सकेन, सत्ता बदलिरहने राजनीति भइरह्यो भने संविधानले उपादेयता गुमाउने खतरा हुनसक्ने उनको टिप्पणी छ । साभार : अखप












