काठमाडौं – कुनै पनि पार्टीमा प्रवक्ताको मुख्य काम हो, बोल्ने । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भने प्रवक्तासमेत रहेका महामन्त्री मुकुल ढकाल बुधबार दिनभरि केन्द्रीय समिति बैठकमै मुखमा टेप टाँसेर बसिदिए । बैठकको मुख्य एजेन्डा थियो, महामन्त्री ढकालले ३८ जिल्ला घुमेर तयार पारेको ३२ पाने समीक्षा प्रतिवेदनबारे छलफल । इलामको उपचुनावमा नराम्रो धक्का व्यहोरेपछि रास्वपाले समीक्षा प्रतिवेदन तयार पार्न महामन्त्री ढकाललाई खटाएको थियो । १२ असारमा पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएसँगै रास्वपा बहस व्यक्ति केन्द्रित हुन थाल्यो । किनकी ढकालले समीक्षा प्रतिवेदनको निष्कर्षकै आधारमा आफूलाई कारबाही हुनसक्ने अभिव्यक्ति दिए भने पार्टी अनुशासन आयोगले पनि उनलाई स्पष्टीकरण सोध्यो । बुधबारको केन्द्रीय समिति बैठक अझै अस्वाभाविक भयो । बैठकमा महामन्त्री ढकालले आफूले समीक्षा प्रतिवेदन पेश गर्दा लाइभ (प्रत्यक्ष प्रशारण) गर्नुपर्ने माग राखे । १६ असारमा नै ढकालले सभापति रवि लामिछानेलाई केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारणका लागि आग्रह गरेका थिए । त्यसबेला सभापति लामिछानेले सुरुमा ‘हुन्छ/हुँदैन’ भन्नेबारे कुनै प्रतिक्रिया दिएका थिएनन् । केन्द्रीय समिति बैठकमा भने उनले प्रत्यक्ष प्रसारणका लागि आफूलाई समस्या नभएको सुनाए । तर केन्द्रीय सदस्यहरु त्यसको विपक्षमा उभिए । प्रतिवेदनमा रणनीतिक र कूटनीतिक विषय पनि हुनसक्ने भएकाले लाइभ गर्न नहुने उनीहरुको मत थियो । आफूहरुले सुनिसकेपछि प्रतिवेदन भने सार्वजनिक गर्न सकिने केन्द्रीय सदस्यहरुको मत थियो । राजनीतिमा कतिपय कुरालाई संवेदनशील र रणनीतिक रुपमा पनि बुझ्नुपर्छ’, सहप्रवक्ता मनिष झाले भने, ‘प्रत्यक्ष प्रसारण गर्न त्यति व्यवहारिक हुँदैन भनेर हामी सबैले भन्यौं । लाइभ गर्नुपर्ने महामन्त्रीको प्रस्तावलाई नकार्यौं । हलबाट प्राप्त नेताहरुको सुझावअनुुसार सभापति लामिछानेले प्रत्यक्ष प्रसारण हुन नसक्ने जानकारी गराए । महामन्त्री ढकाल भने त्यसको विरोधमा उत्रिए । ढकालले आफ्नो अभिव्यक्ति स्वतन्त्रता माथि हनन भएको जिकिर गरे । यो अभिव्यक्ति स्वतन्त्रताको हनन हो, म मुखमा कालो टेप लगाएर बस्छु’, ढकालले मास्कमाथि कालो टेप लगाए । एक महिना लगाएर तयार गरेको समीक्षा प्रतिवेदन पेश गर्न उनी तयार भएनन् ।
रास्वपा महामन्त्री ढकाल पार्टीबाट निलम्बित:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो । केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको छ । साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारवाहीको सिफारिससहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको छ । बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठकको बीचबाटै बाहिरिएका थिए । मिडियाकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । हिजो गोर्खा मिडियामा भएको गलत कामको दोष जीबी राईलाई लगाएको लामिछानेले अहिले पार्टीमा आफूलाई दोष थुपारेर उम्किन खोजेको ढकालले बताएका थिए । पार्टीको महामन्त्री प्रबन्ध निर्देशक (रवि गोर्खा मिडियामा त्यही पदमा थिए) जस्तै पद भएको भन्दै उनले भने, ‘हिजो जीबी राईको गल्ती, आज महामन्त्रीको गल्ती । मैले चाहिँ कहिल्यै गल्ती गर्दिन भन्ने व्यवहार सभापतिले देखाउनुभएको छ । उनले अगाडि भने, ‘जब उहाँ पत्रकार हुनुहुन्थ्यो तब नेता दोषी, जब नेता हुुनुहुन्थ्यो, तब पत्रकार दोषी, जब उहाँ प्रतिपक्ष हुनुहुन्थ्यो, तब सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्थ्यो, तब प्रतिपक्ष दोषी यो प्रकारको व्यवहार चित्तबुझ्दो भएन । साभार : अखप












