काठमाडौं- नारायणगढ-मुग्लिन सडकखण्ड चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने यही सडकमा शुक्रबार बिहान साढे ३ बजेको समयमा पहिरो खसेको थियो । पहिरोले २ वटा गाडी बगाउँदा २ यात्रुसहित २ वटा गाडी बेपत्ता भएका छन् भने सडक पनि अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक खुलाएर केही गाडी जान दिए पनि निरन्तर वर्षासँगै माथिबाट ढुंगा झर्न नरोकिएकाले गाडी चल्न सकेका छैनन् । पहिरो खस्दा अवरुद्ध बनेकाे नारायणगढ मुग्लिन सडकखण्डकै कालीखोला क्षेत्रको सडक खुलाउन भने केही समय लाग्ने भएको छ । पहिरोले सडक रातिदेखि नै अवरुद्ध छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख एसपी खड्कबहादुर खत्रीले दिएको जानकारी अनुसार कालीखोलामा माथिबाट ठूलो पहिरो झरेकोले पन्छाउन समय लाग्ने देखिएको छ । गएराति नै आएको पहिरोले सडक अवरुद्ध बनेको हो ।
माथिबाट ठूला ठूला ढुंगाहरु खसेका छन्, यसलाई हटाउन पनि समस्या भइरहेको छ, ठूलो एक्साभेटर मगाउने काम भइरहेको छ,’ एसपी खत्रीले भने, ‘अझै केही घण्टा यसलाई क्लियर गर्न लाग्छ । उनका अनुसार मुग्लिनबाट काठमाण्डौं सडकखण्डको मौवाखोलामा सडक एकतर्फी छ । अन्यत्र भने त्यति ठूलो डिस्टर्व नरहेको एसपी खत्रीले अनलाइनखबरलाई जानकारी दिए । रातिदेखि विभिन्न ठाउँमा आएको पहिरोले सडक अवरुद्ध हुँदा सडकहरुमा यात्रुवाहक तथा मालबाहक सवारीको लामो जाम लागेका छन् । साभार : अखप












