तरकारी गाउँमा कुहियो, सहरमा महँगियो…..

काठमाडौं –   केही दिनदेखिको अविरल वर्षाका कारण सहरका उपभोक्ता महँगोमा तरकारी किन्न बाध्य छन् । तरकारी महँगो भएको गुनासो दिनहुँ सुनिन थालेको छ । उता, गाउँमा तरकारी फलाउने किसानका गुनासो बेग्लै छ । उत्पादन भएका तरकारी सहर पुर्‍याउन नसक्दा बारीमै कुहिएको टुलुटुल हेर्ने बाहेक उनीहरूसँग विकल्प पनि छैन । काठमाडौं जडीबुटीको तरकारी बजार पुगेका सीताराम शिवाकोटी तरकारी भाउ सुनेर अक्क न बक्क परे । गोलभेँडा किलोको १ सय ६०, काउली १ सय ४० रुपैयाँ…। उनले नियमित किन्ने पसल छाडेर ठेलावालासँग सोद्धा पनि उस्तै मूल्य पर्न गयो । एक छाक तरकारीको मूल्य २ सयभन्दा धेरै भएपछि भान्सा कसरी चल्छ ? कालोबजारी हो कि महँगी नै यस्तो हो ? अविरल वर्षाका कारण किसानलाई हरियो तरकारी उत्पादन तथा ढुवानीमा समस्या भइरहेको छ । मकवानपुर भीमफेदी गाउँपालिकाका ग्रामीण कृषि सडक अवरुद्ध हुँदा त्यहाँ उत्पादित तरकारी बजार आउन सकेको छैन । खुर्सानी, टमाटरको भाउ बढिरहेको छ, तर बारीमै कुहिने अवस्था छ,’ स्थानीय मानबहादुर तामाङ भन्छन्, ‘झरी परेको पर्‍यै छ, गाउँका सडकमा गाडी गुड्ने अवस्था छैन । तरकारी जति बारीमै कुहिने भयो । ६ बोरा हरियो बुलेट खुर्सानी र ११ क्रेट गोलभेँडा बजार लैजान नसकिँदा कुहिने अवस्थामा रहेको उनको भनाइ छ । उनले वर्षामा भाउ आउने बेला तरकारी बजार पुर्‍याउन नसक्दा वर्षेनि किसान मारमा पर्ने गरेको गुनासो उनको छ । तरकारी लगाउँदाको जोखिम नै यही हो, अब कहिले भाउ आउँदैन, भाउ आको बेला बजार लैजान सक्दैनौं,’ तामाङले  भने, स्थानीय तहहरू कोल्ड स्टोर बनाइदिएको भए अहिले समस्या आउने थिएन । तामाङको जस्तै अवस्था गोरखाका किसानको पनि छ । गोरखा–आँबुखैरनी सडकखण्ड सहित स्थानीय ग्रामीण कृषि सडक अवरुद्ध हुँदा तरकारी संकलन हुन सकेको छैन । स्थानीय विष्णुप्रसाद अधिकारी भन्छन्, ‘केरा लोड गरेर पठाएको गाडी बाटोमै रोकिएपछि सबै गलेको छ, अब बजारमा कसरी बिक्री हुन्छ ? वर्षाले किसानको मिहिनेत त खेर जान्छ नि यस्तो भएपछि ।’ उनले सडक अवरुद्ध हुँदा हरियो तरकारी बजारसम्म पुर्‍याउन नसकिएको पनि बताए । गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध छ । उक्त सडक अन्तर्गत पर्ने गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रूपमा सडक अवरुद्ध भएको उनी बताउँछन् । मकवानपुर र गोरखाका यी दुई किसानले भोग्नु परेको समस्या त उदाहरण मात्रै हुन् । देशभरिका किसानहरूले यस्तै समस्या झेलिरहनु परेको किसानहरू बताउँछन् । राष्ट्रिय कृषक महासंघका अनुसार तराई क्षेत्र डुबान र पहाडी क्षेत्रमा पहिरोका कारण तरकारी संकलन र ढुवानीमा समस्या भइरहेको छ । देशभरिका किसानको हरियो तरकारी संकलन तथा ढुवानीमा समस्या हुँदा किसानलाई घाटा भइरहेको छ,’ महासंघका अध्यक्ष उद्धव तिमल्सिनाले भने, ‘एक त झरी परेपछि हरियो तरकारी एवम् बालीमा किराहरू धेरै लाग्ने समस्या हुन्छ, त्योमाथि उत्पादन भएको तरकारी बजारसम्म पुर्‍याउन नपाएपछि किसान मर्कामा पर्ने नै भए । स्थानीय तहरूले कृषि सडक मर्मत गर्न बेलैमा ध्यान दिनुपर्ने हो, तर त्यसो हुन सकेन । हरेक वर्षायाममा किसानले यस्तै समस्या भोग्नु परेपनि सरकारले समाधान गर्न नसकेको उनको गुनासो छ । वर्षामा किसान मात्रै होइन, उपभोक्ता पनि मारमा परेका छन् । प्रत्येक वर्ष यही समस्या झेलिरहनु परेको छ । तरकारीको मूल्य बढ्नुमा भारतीय तरकारी पनि कम भित्रिन थालेको छ,’ तिमल्सिनाले भने ।

   देशभरि १५ सडक अवरुद्ध:

सडक विभागका अनुसार शुक्रबार साँझ ५ बजेसम्म देशभरिका १५ वटा सडक खण्ड अवरुद्ध रहेको छ । कोशी राजमार्गको विभिन्न स्थान, डुम्रे बेंसीसहर चामे सडक खण्ड, तानसेन रिडी कोरला सडक खण्ड अवरुद्ध रहेको छ । डोटीमा ३ ठाउँमा, बाग्लुङमा ४ ठाउँमा, म्याग्दीमा २ ठाउँमा, सिन्धुली, तनहुँ, गुल्मीमा १ ठाउँ र संखुवासभामा एक ठाउँमा राजमार्ग अवरुद्ध रहेको छ ।

  बजार भाउ उकालो:

बिहीबारदेखि तरकारीको भाउ उकालो लागेको छ । वर्षाका कारण ढुवानी प्रभावित हुँदा कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारीको भाउ महँगिएको छ । अघिल्लो दिनको तुलनामा स्थानीय काउली ४६, लाम्चो भेन्टा १८, तने बोडी ६१, तिते करेला २७, लौका ६९, परवर ४९, घिरौंला २६, भिन्डी १४ प्रतिशत बढेको छ । कालीमाटी बजारमा ठूलो गोलभेँडा प्रतिकिलो १२०, गाजर १००, स्थानीय काउली १००, तने बोडी १५०, घिउ सिमी २२०, तितेकरेला १२०, घिरौंला १००, भिन्डी १२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । त्यस्तै कन्य च्याउ ३ सय, डल्ले च्याउ ४ सय ५०, कुरिलो ३ सय, न्युरो १ सय, ब्रोकाउली १ सय २० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कालीमाटी बजारमा रातो आलु प्रतिकिलो ६८, प्याज ९५, सेतो मुला ४०, लाम्चो भेन्टा ८०, परवर ९०, पाकेको फर्सी ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । यद्यपि शुक्रबार केही घटेपनि वृद्धिको तुलनामा कम हो । साभार : अखप 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार