बाल श्रमविरुद्ध काठमाडौँ महानगरको अभियान…..

काठमाडौँ –     काठमाडौँ महानगरले पछिल्लो ५ महिनामा विभिन्न क्षेत्रमा बाल श्रमिकको रूपमा कार्यरत ५१ जना बालबालिकाको उद्धार गरेको छ । काठमाडौँ महानगरले थालेको ‘बालबालिकाको रक्षा, भविष्यको सुरक्षा’ अभियान अन्तर्गत वैशाखदेखि हालसम्म ५१ जना बालबालिकाको उद्धार गरेको हो । काठमाडौँ महानगरको प्रमुखको सचिवालय सदस्य धिरज जोशीले अहिलेसम्म जोखिममा रहेका २७ जना बालिका र २४ जना बालकको उद्धार गरिएको बताए । तीमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको छ । भने बाँकीलाई परिवारमा पुनर्मिलन गराइएको छ । उनीहरूलाई सुरक्षा, शिक्षादीक्षा तथा स्वास्थ्योपचार सुनिश्चित गरेर पारिवारिक पुनर्मिलन गराइएको जोशीले बताए । त्यसका लागि महानगरले सामाजिक विकास विभाग अन्तर्गत बालबालिकाको क्षेत्रमा काम गर्नेगरी ३१ जना इन्टर्न विद्यार्थी गणकहरू माग गरेको थियो । र उनीहरूलाई परिचालन गरी तथ्याङ्क सङ्कलन तथा अवस्था विश्लेषण सम्बन्धी काम गरेका थिए । इन्टर्न विद्यार्थी गणकहरूलाई विभिन्न ६ वटा समूहमा परिचालन गरिएको जोशीले बताए । उनीहरूले पहिलो चरणमा यातायात क्षेत्र र आफ्नो नातागोता भन्दा बाहेकका घर परिवारसँग रहे बसेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरेका थिए । उक्त अभियानको क्रममा भए गरेका कामबारे जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा महानगरको बाल कल्याण अधिकारी सत्या पहाडीले काठमाडौँ महानगर क्षेत्रभित्र गुड्ने ४८९ वटा सवारी साधनमा बालश्रमिक प्रयोग भएको पाइएको बताइन् । ती मध्ये १४ वर्ष मुनिका ५४ जना बालकहरू रहेको पाइएको बताइन् । सबैभन्दा बढी ९२ जना बालकहरू परिचालकका रूपमा चक्रपथ परिक्रम रूटमा चल्ने सवारी साधनमा काम गर्ने गरेको पाइएको उनको भनाइ छ । सवारीका प्रकारहरूमध्ये बसमा सबैभन्दा बढी ३९८ जना बालकहरू परिचालकको रूपमा कार्यरत रहेको पाइएको बताइन् । ती मध्ये ५ जना श्रमिक बालकहरूको उद्धार तथा पारिवारिक पुनर्मिलन गराइएको उनको भनाइ छ । सचिवालय सदस्य जोशीका अनुसार काठमाडौँ महानगरभित्रका ८० वटा सामुदायिक विद्यालयमा इन्टर्न विद्यार्थी गणकहरू गएका थिए । त्यही क्रममा आफ्नो नातागोताभन्दा बाहेकका परिवारसँग रहे बसेका २४५ जना बालबालिकाहरूको तथ्याङ्क सङ्कलन गरिएको जोशीले बताए । ती मध्ये १५३ जना बालिका र ९२ जना बालक रहेको जोशीको भनाइ छ । आफ्नो नाताभन्दा बाहेकका घरपरिवारसँग रही महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको तथ्याङ्क सङ्कलनका लागि इन्टर्न गणक विद्यार्थीमार्फत बालबालिकासँग प्रत्यक्ष अन्तर्वार्ता लिइ अनलाइन प्रश्नावली फारम भरिएको, विद्यालयका बाल संरक्षण शिक्षक र प्रधानाध्यापकसँग समेत प्रत्यक्ष कुरा गरेर बालबालिकाहरूको विवरण लिइएको जोशीले बताए । बालबालिकाको रहे बसेको अवस्था, कामको प्रकृति र अवधि, भोगाई आदिका आधारमा रातो, पहेँलो र हरियो गरी तीन वर्गमा विभाजन गरिएको थियो । जसमा ८४ जना बालबालिकालाई रातो वर्गमा, १३५ जनालाई पहेँलो र २६ जनालाई हरियो वर्गमा वर्गीकरण गरिएको थियो । सङ्कलित तथ्याङ्क अनुसार ३२ जना बालबालिकालाई रहे बसेको घरमुलीले भुईँमा भर्याङमुनी वा सानो ठाउँमा खाट राखेर सुत्न ठाउँ दिएको र ९ जना बालबालिका भुईँमा सुत्ने गरेको पाइएको थियो । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार