कोलकातामा फ्ल्याट भाडामा लिएर मिर्गौला तस्करीको धन्दा…..

काठमाडौं-    नेपालमा सक्रिय एक गिरोहले भारतको कोलकातामा फ्ल्याट नै भाडामा लिएर मिर्गौला तस्करी गरेको खुलेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले एक महिनासम्म गरेको अनुसन्धानका क्रममा कोलकातास्थित अम्री अस्पताल नजिक फ्ल्याट नै भाडामा लिएर मिर्गौला तस्करीको धन्दा चलाएको फेला पारेको हो । मिर्गौला उपचारका लागि नेपालबाट कोलकाताको अम्री अस्पतालमा जाने व्यक्तिहरुसँग सम्पर्क गर्ने र मिर्गौलाको सम्पूर्ण उपचारको बन्दोबस्त मिलाउने भन्दै ठगी गरेको पाइएको ब्यूरोका अधिकारीहरु बताउँछन् । मिर्गौला तस्करी आरोपमा पक्राउ परेर हाल जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेका अमन साह आमा किरणदेवीको मिर्गौला उपचारको लागि अम्री अस्पताल पुगेका थिए । त्यसपछि यो मुद्दाका अन्य प्रतिवादीसँग कोलकातामै भेट भएको उनले प्रहरीसमक्ष बयान दिएका छन् । अस्पतालका स्टाफले नै मिर्गौला प्रत्यारोपणका लागि एकमुष्ट १० लाख लाग्ने, मिर्गौला दिने मान्छे, कानुनी प्रक्रिया लगायत सम्पूर्ण व्यवस्था हुने बताएका थिए । त्यसपछि हामीले प्रक्रिया अघि बढाएका हौं’, अभियोगपत्रका साथमा समावेश अमनको बयानमा उल्लेख छ । त्यसपछि अमनका बाबु विमलप्रसाद साहको भेट नारायण परियार, शंकर खत्रीलगायतसँग भएको थियो । उनीहरुमार्फत नै काठमाडौंको बालाजुमा खाजाघर सञ्चालन गर्दै आएकी शान्तिमायाको सम्पर्कमा विमलको परिवार पुगेको प्रहरी अनुसन्धानबाट देखिएको छ । शान्तिमायाले आफ्नो होटलका नियमित ग्राहक मनिष (परिवर्तित नाम) लाई कन्भिस गराई मिर्गौला दिन राजी बनाएको खुलेको छ । ३ लाख ७० हजार रुपैयाँमा मिर्गौला बेचेका मनिषले समेत बयानमा कोलकाताको फ्ल्याटमा आफूलाई २ महिनासम्म राखेर मिर्गौला दिन बाध्य बनाएको बताएका थिए । कोलकत्ता पुर्‍याएपछि मलाई विमलप्रसाद साहको जिम्मा लगाइयो । त्यसपछि अम्री अस्पताल नजिकैको फ्ल्याटमा मलाई २ महिनासम्म राखियो । कोठामै खाने-बस्ने व्यवस्था मिलाइएको थियो’, मनिषले प्रहरीसँगको बयानमा भनेका छन् । यो घटनामा प्रहरीले ८ जनाविरुद्ध मानव बेचबिखनविरुद्धको मुद्दा लगाएको छ, तीमध्ये दुई जना फरार छन् । ललितपुरका शंकर खत्री, बालाजुमा खाजा पसल चलाउने मकवानपुरकी शान्तिमाया घलान, काठमाडौं चन्द्रागिरीका नारायण भनिने नारन परियार, धनुषाका अमन साह, धादिङका कृष्ण श्रेष्ठ, सिन्धुपाल्चोकका राजकुमार नेपाली भनिने राजकुमार बिसुन्के, धनुषाका ५९ वर्षीय विमलप्रसाद साह र धनुषाकै मुकेशकुमार साहविरुद्ध मुद्दा छ । उनीहरुमध्ये विमलप्रसाद र मुकेशकुमार फरार छन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कानुन विपरीत मानव अंग झिक्नेलाई १० वर्षसम्म कैद र २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । यो कानुन अनुसार नजिकको आफन्तबाहेक अन्यको अंगदान लिन पाइँदैन ।साभार : अखप   

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार