विराटनगर – विराटनगर महानगरपालिकाले ३३ केभी विद्युत प्रसारणलाइन मुनि अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । अटिजम भएका बालबालिकाको हेरचाहका लागि विराटनगर महानगरपालिका–४ मा ३३ केभी प्रसारणलाइन मुनि अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । करुण फाउन्डेशनको सहयोगमा सञ्चालनमा आएको केयर सेन्टरको उदघाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । उदघाटन गर्दै उनले आफ्नो कार्यकालको ‘ड्रिम प्रोजेक्ट’ अटिजम सेवा केन्द्र पनि भएको बताए । ‘विराटनगरमा अटिजम भएका थुप्रै बालबालिका छन् । उनीहरूका लागि केही गर्नुपर्छ भन्ने म मेयर हुँदादेखि नै लागेको थियो,’ कोइरालाले भने, ‘भित्रैदेखि चाहेको कुरा आज पूरा भएको छ । केन्द्र सञ्चालनका लागि महानगरपालिकाले आफ्नै कार्यविधि पनि बनाएको छ । ३३ हजार केभी प्रसारणलाइन मुनि अटिजम सेवा केन्द्र खोलेको भन्दै महानगरको आलोचना पनि हुने गरेको छ । ‘विद्युत प्रसारणलाइन मुनि बस्नु जोखिमपूर्ण हुन्छ, अटिजम भएका बालबालिकालाई राख्दा झन् जोखिम बढ्छ,’ अटिजमको क्षेत्रमा काम गरिरहेका एक चिकित्सकले भने, ‘प्रसारणलाइन मुनि निरन्तर राख्दा अझ गम्भीर समस्या निम्तनसक्छ । विज्ञहरुका अनुसार विद्युत प्रसारण लाइनमुनि कुनै भौतिक संरचना बनाउन वा अग्ला रुख बिरुवा रोप्न पाइँदैन । यसको नियमित नजिक बस्दा इलेक्ट्रोम्याग्नेटिक फिल्डको असर हुन्छ । जसले गर्दा स्वस्थ्य मानिसलाई पनि समस्या पार्छ । चिकत्सकका अनुसार विद्युत आपूर्तिबाट उत्पन्न हुने कम्पनले बालबालिकाको मस्तिष्कको विकासमा असर गर्छ । यसले बालबालिकाको रोगप्रतिरोधात्मक क्षमतामा पनि असर गर्छ । विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक दिलीपकुमार यादवले बालबालिका खेल्ने स्थानमाथि ३३ केभी प्रसारण लाइन भए पनि असर नगर्ने जिकिर गरे । ‘बच्चाहरुलाई पढाउने खेलाउने बिल्डिङ अलग छ, बाहिर भनेको एकछिन खेल्नका लागि मात्रै हो ।’ उनले भने, ‘त्यहाँ मापदण्ड भित्र रहेर बनाएको छ, असर गर्दैन । यादवका अनुसार भाडाको घरमा केन्द्रको संरचना तयार गर्नका लागि महानगरपालिकाले ३० लाख रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सेन्टर सञ्चालनका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । २५ जना बालबाालिका रहेको केन्द्रमा बालबालिकाको रेखदेखका लागि महानगरपालिकाले ९ जना कर्मचारी खटाएको छ । केन्द्रमा फिजियोथेरापी, स्पीच थेरापी (बोल्न सिकाउने) तथा बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान गरिने महानगरले जनाएको छ । साभार : अखप












