माओवादीले शनिबार राजधानीमा गरेको खबरदारी सभा…..

काठमाडौं –    लामो समय सत्तामा बसेको नेकपा माओवादी केन्द्रले शनिबार राजधानी काठमाडौंमा खबरदारी सभा गरेको छ । सभामा माओवादीका शीर्ष नेताहरुले सरकारलाई सुशासनको अभियान नरोक्न खबरदारी गरेका छन् । सँगै, खबरदारी सभाको औचित्यमाथि उठेको आशंकाप्रति प्रष्टोक्ति पनि दिएका छन् । किनकि सहकारी बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका रवि लामिछाने र उनको पार्टी रास्वपालाई साथ दिनेगरी माओवादीले सडक प्रदर्शन राखेको टिप्पणी भइरहेको छ । रवि पक्राउअघि त्यसैदिन २ कात्तिकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै पहलकदमीमा विपक्षी दलहरु सम्मिलित संयन्त्र बनाएर १३ बुँदे साझा मागपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएकाले पनि यस्तो टिप्पणी स्वाभाविक देखिन्थ्यो । तर माओवादी नेताहरुले शनिबार भएको खबरदारी सभा रविको समर्थनमा नभएको स्पष्टीकरण दिएका हुन् । ‘दोषी कोही बच्न हुन्न, निर्दोष कोही फस्न हुन्न । हामीले हिजो त्यही भनेका थियौं, अहिले पनि यही भन्छौं’, खबरदारी सभामा प्रचण्डले स्पष्टीकरण दिए, ‘सबै सहकारी पीडितहरुले न्याय पाउनुपर्छ । सहकारी ठगहरुलाई कारबाही गर्नुपर्छ । आफू प्रधानमन्त्री हुँदा पनि संसदीय छानबिन समिति बनाउनुपर्छ भनेको उनले स्मरण गरे । यद्यपि रविलाई पक्राउ गरेको सरकारले सहकारी ठगीमा संलग्न कांग्रेस र एमाले नेताहरुलाई केही नगरेको भन्दै आपत्ति जनाए । ‘सरकारले जे रबैया अपनाएको छ, त्यसमा हाम्रो आपत्ति छ’, पूर्वप्रधानमन्त्री प्रचण्डले भने । उनीअघि बोलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको रवि पक्राउ प्रकरणबारे स्पष्टीकरण दिएका थिए । ‘अनुसन्धान स्वच्छ र निष्पक्ष हुनुपर्छ, भेदभाव चाहिँ गरिनु हुन्न हामीले भनेको यत्ति हो। माओवादीका एक पदाधिकारीका अनुसार सडक प्रदर्शनको कार्यक्रम राख्ने बेलामा नै सम् भावित टिप्पणीबारे छलफल भएको थियो । त्यो छलफलमा अरु नेताको तुलनामा अध्यक्ष प्रचण्ड रविप्रति केही नरम थिए, तर सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रविको बचाउ गर्न हुन्न भन्नेमा सबै एकमत थिए । रविलाई प्रोटेक्ट गर्न सकिन्न । अरु जोजो संलग्न छन्, उनीहरुलाई पनि कारबाही गर्न र पीडितलाई न्याय दिन दबाब दिनुपर्छ भन्ने नै हाम्रो साझा निष्कर्ष थियो’, एक पदाधिकारी भन्छन्, ‘त्यसअनुसार नेताहरुले आज प्रष्ट पार्नुभएको छ ।

सरकारलाई सन्देश:

खबरदारी सभामा माओवादी नेताहरुले प्रचण्ड नेतृत्व सरकारले थालेको भ्रष्टाचार विरोधी र सुशासनको पक्षमा थालेको अभियानलाई नरोक्न खबरदारी गरेका छन् । तर वर्तमान सरकार सुशासनविरुद्ध र भ्रष्टाचारी बचाउन बनेको आशंका रहेको भन्दै प्रचण्डले भने, ‘आज त्यो सरकारले पुष्टि गरेको छ । उपाध्यक्ष श्रेष्ठले पनि यो सरकार बनेकै भ्रष्टाचार विरोधी अभियान रोक्न भएको बताए । बाढी तथा पहिरो पीडितहरुको उद्दार तथा राहतमा पनि सरकार चुकेको प्रचण्डले बताए । नख्खुमा चार घण्टासम्म गुहार माग्दासमेत नागरिकको उद्दार गर्न नसकेको भन्दै उनले त्यहाँ नागरिक होइन, सरकार मरेको टिप्पणी गरे । तर अब जे गरेपनि हुन्छ भन्ने नठान्न नेताहरुले सरकारलाई चेतावनी दिए । संसदमा भद्र रुपमा जवाफ माग्ने, नभए सडकबाटै जवाफ खोज्ने प्रचण्डको चेतावनी छ । भुटानी शरणार्थी, बाँसबारी जग्गा, बालमन्दिर लगायत प्रकरण कहाँ पुग्यो भन्ने प्रश्न गर्दै प्रचण्डले भने, ‘जे गरेपनि हुन्छ, जवाफ दिनुपर्दैन भन्ने लागेको होला । संसदको रोष्ट्रममा भद्र तरिकाले मागिन्छ जवाफ । निहुँ खोजे विशेष अधिवेशन माग गर्ने भन्दै उनले चेतावनीको भाषामा थपे, ‘धेरै अभद्र भयो सडकमै घिसारेर सडकमै अभद्र तरिकाले मागिन्छ जवाफ । साभार : अखप    

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार