काठमाडौं – कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापानबाट निष्कासनमा परेका ६ जनामाथि प्रहरीले सरकारी कागजात कीर्तेमा मात्र अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अनुसन्धान अधिकृतका अनुसार, मन्त्रालयको नक्कली परिचय बनाएर जापान जानलाई पेश गरेको पाइएपछि उनीहरुमाथि लिखत कीर्तेको कसुरमा अनुसन्धान भइरहेको हो । निवर्तमान मन्त्री अधिकारीसँगै कार्यक्रममा सहभागी हुन काठमाडौंबाट उडेका रसुवाका २२ वर्षीय कञ्चन देवकोटा, खोटाङका ३६ वर्षीय दावा शेर्पा र जनक राईलाई जापानस्थित अध्यागमन कार्यालयले होल्ड गरेर नेपाल डिपोर्ट गरिदिएको थियो । शनिबार नेपाल आइपुगेपछि अध्यागमन विभागले तीन जनालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो । कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार, तीन जनाको बयानका आधारमा नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डे पनि पक्राउ परेका छन् । ६ जना पक्राउ परेपछि थप अनुसन्धानका लागि सबैलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएका छौं’, उनले अनलाइनखबरसँग भने, ‘फरार रहेका व्यक्तिहरुको खोजीमा हामीले पनि सहयोग गर्छौं, मुद्दा चाहिँ काठमाडौं प्रहरीबाटै अघि बढ्छ । अनुुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, कोशी प्रदेशका निवर्तमान मन्त्री अधिकारी ‘आर्ट काउन्सिल टोकियो’ले आयोजना गरेको ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुने भन्दै १३ कात्तिकमा जापानका लागि उडेका थिए । अधिकारीसहित ६ जना नेपाली युवा कोशी प्रदेशको आन्तरिक मालिमा तथा कानून मन्त्रालयका कर्मचारी भएको भन्दै जापान उडेका अनुसन्धानबाट खुलेको छ । मन्त्रीको हस्ताक्षर भएको परिचय पत्रमा उनीहरुमध्ये कसैलाई मन्त्रालयको सहायक, कसैलाई अन्य विभिन्न भूमिकामा रहेको उल्लेख गरिएको थियो । एक जनाको साथमा भने खोटाङको ऐसेलुखर्क गाउँपालिकाको वडा समिति सदस्य भएको भन्दै परिचय दिइएको भेटिएको छ । मन्त्री अधिकारीले भने आफ्नो नाममाथि गरिएको हस्ताक्षर नै नक्कली भएको जिकिर गरेका छन् । अनौपचारिक कुराकानीमा उहाँले आफूले अंग्रेजी हस्ताक्षर नै नगर्ने बताउनु भएको छ, सबै कुरा हेर्दा सरकारी कागजात कीर्ते गरेको जस्तो देखिन्छ’, काठमाडौं प्रहरीका एक अधिकृतले भने, ‘त्यसैले अहिले कीर्तेमा अनुसन्धान गरिरहेका छौं । अपराध अनुसन्धानका विज्ञ हेमन्त मल्ल ठकुरी चाहिँ यो मामला सरकारी कागजात कीर्तेको मात्र विषय भएको मान्न तयार छैनन् । ‘जसरी मन्त्रीकै नेतृत्वमा अन्य युवाहरु जापानको विमानस्थलसम्म पुगे, त्यो हेर्दा यो लिखत कीर्तेको विषय मात्र हो भन्ने लाग्दैन’, उनले भने, ‘यसमा मानव तस्करीको मुद्दामा पनि अनुसन्धान थाल्न मिल्ने थुप्रै आधारहरु छन् । पक्राउ परेकाहरुले प्रारम्भिक सोधपुछमा उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकारीहरुसँग आफूहरुले जापान जान १० देखि १४ लाख रुपैयाँसम्म बुझाएको बताएका छन् । मन्त्रीज्यूभन्दा पनि मोरङका एमाले कार्यकर्ता गोपाल गौतमले राहदानी लिएर जापान जाने व्यवस्था मिलाएको देखिएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘यसमा गौतमसँगै महेश पाण्डे नामक व्यक्ति समेत जोडिएको खुलेको छ । प्रहरीका अनुसार, पाण्डेले मन्त्री अधिकारीलाई समेत टोकियो महानगर समेत आयोजक रहेको कार्यक्रमको नेपाल प्रतिनिधि भएको भन्दै चिनारी दिएका थिए । पाण्डेलाई प्रहरीले पक्राउ गरिसकेको छ । अनुसन्धान अधिकृतहरुका अनुसार, सबै विषय हेर्दा मन्त्रीको जापान भ्रमण आफूैंमा शंकास्पद देखिन्छ । ‘टोकियोमा हुने भनिएको कार्यक्रमको विषय पनि उहाँको मन्त्रालयसँग सम्बन्धित थिएन, न परराष्ट्र मन्त्रालय न प्रदेश सरकारसँग उहाँले अनुमति लिनु भएको थियो’, एक अनुसन्धान अधिकृतले भने, ‘यस्तोमा थुप्रै अनुत्तरीत प्रश्नको जवाफ खोज्न पूर्वमन्त्री स्वयम्को बयान लिनुपर्छ । साभार : अखप












