नेपालले बीआरआई सम्झौतामा हस्ताक्षर गरेपछि भारतीय मिडियाले के लेखे ?…..

काठमाडौं –    नेपालले चीनको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको विषयलाई भारतीय मिडियाहरुले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् । उनीहरुले नेपाल चीनतिर ढल्किएको, चीनको ऋणको पासोमा परेको लगायतका विश्लेषणसहित समाचार छापेका छन् । बीबीसीको हिन्दी संस्करणले बीआरआई सम्झौतामा हस्ताक्षर गरेबाट नेपाल भारतको प्रभावबाट टाढा जाने कोसिसको रुपमा हेरिएको जनाएको छ । बिजनेस स्ट्याण्डर्डले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको परनिर्भरता कम गर्न चाहेकाले चीनसँग बीआरआई सम्झौतामा हस्ताक्षर गरेको लेखेको छ । उसले लेखेको छ, ‘ओली उत्तरी छिमेकीसँग आर्थिक सम्बन्ध गहिरो र पुनर्गठित गर्न चाहन्छन् । साथै उनी भारतसँग परम्परादेखि चल्दै आएको निर्भरता कम गर्न चाहन्छन् । नेपालको अन्तर्राष्ट्रिय व्यापारको हिस्सा भारतसँग दुई तिहाइ र चीनसँग १४ प्रतिशत मात्र भए पनि चीनले नेपाललाई भारतको तुलनामा ३० मिलियन डलरभन्दा बढी अनुदान दिने गरेको पनि समाचारमा उल्लेख छ । टाइम्स अफ इण्डियाले पनि सुरुमा भारत भ्रमण गर्ने परम्परा तोडेर ओली चीन भ्रमणमा गएको र बीआरआई सम्झौतामा हस्ताक्षर गरेको लेखेको छ । नवभारत टाइम्सले नेपालले बीआरआईमा हस्ताक्षर गर्दा भारतलाई टेन्सन भएको समाचार लेखेको छ । ‘चीनलाई खुसी बनाउने नाममा ऋण लिएर नेपालका कम्युष्टि पार्टीले जहाज डुबाउन सक्ने चिन्ता छ । नेपाल चीनको ऋणको पासोमा फस्दै जाने आशंका छ । यदि यस्तै भयो भने नेपालको नीतिमा चीनको दख्खल बढ्ने छ, जुन भारतका लागि राम्रो हुने छैन । एनडीटीभीले पनि बीआरआईमा नेपालले हस्ताक्षर गर्दा भारतमा तनाव भएको लेखेको छ । नेपालले बीआरआईमा हस्ताक्षर गरेको विषयलाई जी न्यूजले अझ कडा शब्दमा टिप्पणी गरेको छ । उसले यो सम्झौताले ओलीलाई भारी पर्नसक्ने लेखेको छ । जी न्यूजको अनलाइन संस्करणमा लेखिएको छ, ‘बीआरआई सहयोग मस्यौदामा अनुदानको सट्टा सहायता लेखेर नेपालले तत्कालको लागि फाइदा देखेको होला तर आँखा चिम्लिएर चीनको भरोसा गर्नु ओलीका लागि भारी पर्नसक्छ । उसले थप लेखेको छ, ‘यो सम्झौतापछि नेपालमा चीनको प्रभाव बढ्ने आशंका छ र यो भारतका लागि कुनै पनि हालतमा राम्रो होइन ।  साभार : अखप 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार