विराटनगर – पूर्वराष्ट्रपति विद्या भण्डारीले चार महिनाअघि कुरा गर्दै एमालेमा आफू अध्यक्ष बन्ने सम्भावना टरिनसकेकाे खुलासा गरेकी थिइन् । उनै भण्डारीले सोमबार मोरङको विराटनगर पुगेर पत्रकार सम्मेलन गर्दै सक्रिय राजनीतिमा आउने संकेत दोहोर्याइन् । विराटनगरको होटल बिगमा कार्यकर्ता भेटघाटपछि आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन । भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थी राजनीति सुरु गरेको जिल्ला हो, मोरङ । त्यस बेलाकी विद्यार्थी नेतृ विद्या पाण्डेले २०३० को दशकमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट राजनीतिक जीवन थालेकी थिइन् । राष्ट्रको प्रथम नागरिक भइसकेर फेरि राजनीतिक जीवनमै फर्कन चाहेकी उनले अर्को अध्यायको सक्रियता पनि पुरानै आधारक्षेत्र मोरङबाटै थाल्ने संकेत गरेकी छिन् । एमालेका वैचारिक मूलनेता तथा पूर्वमहासचिव मदन भण्डारीसँग भोजपुरको विद्या पाण्डेको मोरङमै बिहे भएको थियो । हाल जसपा अध्यक्ष रहेका तत्कालीन माले नेता अशोक राईले उनीहरूको मिलन गराइदिएका थिए । मदनको घर पनि मोरङकै इटहरामा पर्छ । विद्या भण्डारीकी आमा पछिल्ला वर्षहरूमा मात्रै काठमाडाैं बस्दै आएकी छन् । नत्र उनी मोरङ र सुनसरीमै आधा आधाजसो समय बिताउने गर्थिन् । भण्डारी आफूले विराटगरको डेरामा गृहस्थी जीवन थालेका विगत दिनहरुको भावनात्मक स्मरण दिलाउँदै याे शहरमा एक साता बस्न चाहेको बताइरहेकी छन् । अबको ६ दिन उनी बिग होटलमा बस्ने कार्यक्रम छ । सोही होटलमा भेटघाटको समयतालिका मिलाउने जिम्मेवारी भने एमाले मोरङका सहसचिव सोमराज थापाले पाएका छन् । उनका अनुसार १९ गते यो भ्रमणको अन्तिम कार्यक्रम कार्यक्रम छ । ‘१९ गते समय रह्यो भने सोही दिन फर्कनुहुन्छ, नभए भोलिपल्ट फर्कनुहुन्छ उनले भने ।साभार : अखप












