काठमाडौँ – पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीको बैठक आज पनि बस्ने भएको छ । यसअघि सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्षबिच वार्ता सकारात्मक रहेको बताइएको छ । आज ११ बजे पुनः वार्ता सुरु हुने आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले जानकारी दिए । संयोजक तुम्याहाङले आफूहरूले तत्कालका लागि तीन कुरा राखिए पनि सरकारी पक्ष सहमत नभएको बताए । उनले भने, ‘हामीले एक नम्बरमा केबलकार निर्माण कार्य अहिलेका लागि स्थगित गर्ने, अर्को वार्ता समूहलाई स्थगन गर्ने, तेस्रो जति पक्राउ पर्नुभएको छ, उहाँहरू सबैलाई छाड्ने र बाँकी घाइतेहरूको उद्धार गर्ने भनेका हौँ । तर त्यो कुरामा उहाँहरू सहमत हुनुभएन । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । भट्टराईको संयोजकत्वमा वार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका छन् । यता, आन्दोलनरत पक्षले पनि वार्ता सहजीकरण समिति गठन गरेको छ । सोमबार प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता सहजीकरण समिति गठन गरिएको हो । समितिको सदस्यमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सह) रहेका छन् । मुक्कुमलुङ सेमुक्तु मुक्तुबो माङ कवित पाथिभरा क्षेत्रमा केबलकार निर्माणको कार्य खारेज गर्न माग गर्दै आन्दोलन भइरहेको छ । अरुणपूर्व ९ जिल्ला अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलन भइरहेको छ ।साभार : रापा












