उता एमसीसी रोक्ने निर्णय, यता १० कम्पनीको बोलपत्र पेस…..

काठमाडौं –     अमेरिकी सरकारले एमसिसीको अनुदान रोक्ने निर्णय गर्दैगर्दा यता नेपालमा १० कम्पनीले प्रसारण लाइन परियोजना निर्माणका लागि बोलपत्र पेस गरेका छन् । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को अनुदान तथा नेपाल सरकारको लगानीमा निर्माण हुने कुल २ सय ९७ किलोमिटर ४०० केभी प्रसारण लाइनलाई तीन लटमा विभाजन गरी बोलपत्र आह्वान भएकोमा १० कम्पनीले निवेदन दिएको एक निर्माण कम्पनीका प्रतिनिधिले अनलाइनखबरलाई जानकारी दिए । एमसीसीले थप दायित्व सिर्जना हुने गतिविधि नगर्न नेपाल सरकारलाई सूचित गरे पनि एमसीए नेपालले भने आएका बोलपत्रहरू खोलेको ती प्रतिनिधिले बताए । दुई वर्षअघि नै कुल ३१५ किलोमिटर प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान भएको थियो । कम्पनीहरूले गरेको न्यूनतम कबोल नै लागत अनुमानको तुलनामा ६० प्रतिशत महँगो भएपछि टेन्डर प्रक्रिया पूर्ण रुपमा रद्द भएको थियो । त्यसमध्ये न्यू बुटवलदेखि नेपाल भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइनको ठेक्का सम्झौता भइसकेको छ । बाँकी २ सय ९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि गत २७ नोभेम्बरमा बोलपत्र आह्वान भएको थियो । बोलपत्र हाल्ने म्याद बुधबार (१९ फेब्रुअरी) दिउँसो २ बजेसम्म तोकिएको थियो । त्यस अवधिमा १० कम्पनीले आवेदन दिएको आवेदन दिएकामध्ये एक निर्माण कम्पनीका प्रतिनिधिले जानकारी दिएका हुन् । २ फागुनमा एमसीसीले नेपाल सरकारलाई इमेल पठाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरीको कार्यकारी आदेश कार्यान्वयनका क्रममा तीन महिनाका लागि एमसीसीलाई भुक्तानीलगायत थप दायित्व सृजना हुने कुनै गतिविधि नगर्न भनेको छ ।

एमसीसी परियोजनाको भविष्य अन्योलमा:

यसअघि नै टेन्डर आह्वान भएकोमा कम्पनीहरूले दिएको आवेदन भने एमसीए नेपालले स्वीकृत गरेको छ । नयाँ परिस्थितिमा टेन्डर प्रक्रिया कसरी अघि बढ्छ भनी अनलाइनखबरले एमसीए नेपाललाई जिज्ञासा राखेको छ । यो समाचार तयार पाने बेलासम्म जवाफ प्राप्त भएको छैन । एमसीए नेपालले २ सय ९७ किलोमिटर प्रसारण लाइनलाई तीन लटमा विभाजन गरेको छ । पहिलो लटमा लप्सीफेदी सबस्टेसनदेखि रातमाटे सबस्टेसनसम्मलाई राखिएको छ । यही लटमा रातमाटे सबस्टेसनदेखि न्यू हेटौंडा सबस्टेसन निर्माणलाई पनि समावेश गरिएको छ । यो लटको प्रसारण लाइन निर्माणका लागि चारवटा कम्पनीहरू इच्छुक देखिएका छन् । तर, कुनकुन कम्पनीले बोलपत्र हालेको भन्नेबारे एमसीए नेपालले खुलाएको छैन । त्यस्तै, दोस्रो लटमा रातमाटे सबस्टेसनदेखि न्यू दमौली सबस्टेसनसम्मको प्रसारण लाइन निर्माण गर्नुपर्ने छ । यो खण्डको निर्माणका लागि तीनवटा कम्पनीले बोलपत्र हालेको स्रोतले बतायो । त्यस्तै, तेस्रो लटमा रहेको न्यू दमौलीदेखि न्यू बुटवल सबस्टेसनसम्मको प्रसारण लाइन निर्माणका लागि पनि तीनवटा कम्पनी नै ईच्छुक देखिएको स्रोतले बतायो । एमसीसीले प्रसारण लाइनको पुरानो ठेक्का रद्द गरेपछि डिजाइन परिवर्तन तथा लागत घटाउने अन्य उपाय अपनाएर नयाँ बोलपत्र आह्वान गरेको हो । यसपटक आह्वान भएको बोलपत्र पनि लागतकै कारण पुनः रद्द गर्नु नपरोस र एमसीए नेपालले समयमै ठेक्का सम्झौता गरी थप विलम्बबिना परियोजना कार्यान्वयन अघि बढाउन सकोस् भनेर ५ करोड अमेरिकी डलर अनुदान बढाउने निर्णय अमेरिकी कंग्रेसले हालै गरेको छ ।साभार : अखप 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार