काठमाडौँ – उद्योगीहरूले फेरि सिमेन्टमा प्रतिबोरा ४० रुपैयाँ बढाएका छन् । दुई दिनदेखि सिमेन्टको मूल्य ४० रुपैयाँ बढीले मूल्य बढेको निर्माण व्यवसायीहरूले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ओपीसी र पीपीसी दुवै किसिमका सिमेन्टको मूल्य प्रतिबोरा ४० रुपैयाँले बढेको जानकारी दिए । ओपीसी र पीपीसी दुवै सिमेन्टको मूल्य थप ४० रुपैयाँ बढेको छ । अहिले बजारमा ओपीसी सिमेन्टको मूल्य ६३० देखि ८०० रुपैयाँसम्म पुगेको छ ,’ उनले भने,‘पीपीसी सिमेन्ट ५९० देखि ६५० सम्म पुगेको छ ।’ दुईदिनअघि ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६०० देखि ७६० रुपैयाँ थियो । मूल्य ५५० देखि ६०० रुपैयाँसम्म थियो । सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले सिमेन्टको मूल्य बढाएको स्वीकार गरेका छन् । उनले लोडसेडिङ बढेको कारण मूल्य बढाएको बताए । ‘विद्युत कटौतीको कारणले मूल्य बढाइएको हो । १२ घण्टा लोडसेडिङ हुँदा ठूलो नोक्सानी भएको छ,’ अध्यक्ष मारुले भने ।
सिमेन्ट र फलामे छडको एमआरपी राख्नुपर्ने:
अहिले बजारमा निर्माण सामग्री सिमेन्ट,फलामे छड र फलामे जालीको मूल्य बढेको बढ्यै छ । मूल्य नियन्त्रण गर्न पछिल्लो समय सरकारले पहल थालेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट, फलामे छड (डन्डी) लगायत निर्माण सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) राखेर बिक्री वितरण गर्न निर्देशन दिएको छ । मंगलबार विभागमा सिमेन्ट र फलामे डन्डीको मूल्य वृद्धिबारे छलफल थियो । उक्त छलफलमा मूल्य घटाउनेभन्दा सिमेन्ट र फलामे डन्डी उद्योगीलाई एमआरपी राख्न निर्देशन दिइएको र उद्योगीहरूले सहमति जनाएका विभागका महानिर्देशक कुमारप्रसाद दहालले बताएका छन् । महानिर्देशक दहालले भने,‘छलफलमा डन्डी र सिमेन्टमा मूल्य घटाउनेभन्दा पनि अबदेखि सिमेन्टको बोरामा र फलामे छडको एमआरपी राखेर बिक्री गर्न बजार पठाउने सहमति भएको छ । सात दिनभित्र तयारी गरेर आउँछौँ भनेका छन् ।’ दहालका अनुसार फरक–फरक उद्योगीले आफ्नो उत्पादन लागतअनुसार फरक फरक मूल्य निर्धारण गर्न पाउने छन् । तर यसपछि उद्योगीहरूले जथाभावी रुपमा मूल्य बढाउन नपाउने उनको तर्क छ । अहिलेसम्म एमआरपी राखेकै छैनन् । उद्योगीलाई एमआरपी राख्ने स्वतन्त्रता छ । उत्पादन लागतअनुसार एमआरपी निर्धारण गर्नेछन् । यसपछि बजारमा मूल्य घटबढ भएकोबारे सहजै जानकारी हुन्छ । र मूल्य नियन्त्रण गर्न सहज हुन्छ । एमआरपी फ्याक्ट्रीमै राखेर पठाउने निर्णय भएको छ । सायद अर्को हप्तादेखि निर्धारण हुन्छ,’ उनले भने । पछिल्लो समय उद्योगीले मनपरी ढङ्गले कार्टेलिङ गरी मूल्य बढाएको छन् । यस विषयमा कति मूल्य बढ्यो भन्ने विषयमा डिलरलाई सोध्दा फ्याक्ट्रीले भन्छन्, फ्याक्ट्रीलाई सोध्दा डिलरले भन्छन् । एमआरपी निर्धारण भएपछि कहाँ कसले कति मूल्य बढायो भन्ने विषयमा सहजै थाहा हुने उनको भनाइ छ । एमआरपी राखिसकेपछि सिमेन्ट र डण्डीको मूल्य समायोजन गर्ने बताए । लोडसेडिङ कति बढ्दा कति मूल्य निर्धारण गर्ने यसको सूचीसमेत राख्न भनेको छु । लोडसेडिङ बढ्दा मूल्य जतिको त्यति राखेर उद्योगलाई फाइदा हुँदैन सरकारले १२ घण्टा लोडसेडिङ गरिदिने अनि मूल्य जतिको त्यति निर्धारण गरेर हुन्छ ?साभार : रापा












