तीनकुनेमा सविन ढले, यता घरको खम्बा…..

काठमाडौं –     कीर्तिपुर नगरपालिका–४ गाम्चाका २९ वर्षीय सविन महर्जन १५ चैतको बिहानै घरबाट निस्किएका थिए । काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउने सविन गाडी बिग्रिएकाले बनाउन भन्दै घरबाट हिँडेका थिए । वृद्ध बाबुआमा, ८ वर्षकी छोरी र श्रीमती उनलाई पर्खिरहेका थिए । बिहान बित्यो, दिउँसो बित्यो गाडी बनाएर सविन आएनन् । अपराह्न हुँदै गर्दा खबर आयो, ‘तीनकुनेमा प्रहरीको गोली लागेर सविन ढले ।’ बिग्रिएको गाडी बनाउन भन्दै बल्खु हिँडेका सविन अब कहिल्यै फर्कने छैनन् । १५ चैतमा तीनकुनेलाई केन्द्र बनाएर राजावादीहरूले राजतन्त्र पुनस्र्थापनाको दबाबका लागि भन्दै प्रदर्शनको आयोजना गरेका थिए । गाडी बनाउन हिँडेका सविन कसरी त्यहाँ पुगे परिवार अनभिज्ञ छ । तर, प्रदर्शन चर्किंदै जाँदा प्रहरीसँग मुठभेड भएपछि प्रहरीले चलाएको गोली घाँटीमै लाग्दा सविन सडकमै ढले । गोली लागेको केहीबेरमै तीनकुने सडकमै प्राण त्यागेका सविनको शव चार दिनयता त्रिवि शिक्षण अस्पतालको शवगृहमा लडिरहेको छ । घटनाको चार दिनपछि कीर्तिपुर नगरपालिका–४ स्थित गाम्चा चोकबाट २०० मिटर उत्तरतर्फ हरियो रङ लगाएको एक तले घर छ । १५ गतेको बिहानसम्म त्यो घरमा खुसीयाली थियो । चार दिनयता रुवाबासी छ । श्रीमती छिनछिनमै बेहोस् हुन्छिन् । बुढेसकालको सहारा ढलेका आमा–बा निःशब्द छन् । ८ वर्षमै पिताको स्नेह र संरक्षण गुमाएकी छोरीको पीडा बयानगरी साध्य छैन । त्यो घर मात्र होइन, घरछिमेकसम्मे सन्नाटा छ । छिमेकीका अनुहार मलिन देखिन्छन् । गाउँका गुठियारहरू पनि अब के गर्ने, कसलाई पहल गर्ने भनेर छलफल गरिरहेका छन् । सविनको शव बुझ्न परिवारले मानिरहेको छैन । शहीद घोषणा र परिवारलाई क्षतिपूर्तिको माग सम्बोधन नभएसम्म शव नउठाउने अडानमा पीडित परिवार छ । प्रहरीको गोली लागेर मृत्यु भएको चार दिन भइसक्दा पनि सरकार वा आन्दोलनकारी पक्षले कुनै वास्ता नगरेको मृतकका काका किरण महर्जनले आरोप लगाए । उनले भने, ‘सविन बितेको आज चार दिन भइसक्यो । अस्पतालमा सविनको शव बेवारिसे अवस्थामा छ । न सरकार पक्षले कुनै चासो दिएको छ, न राजावादीले । हाम्रो परिवारको खम्बा नै ढलिसक्यो । तर, कसैलाई वास्ता छैन । सुक्सुकाउँदै उनले भने, ‘राज्य पक्षले एउटा मजदुरको छोरालाई यसरी गोली हानेर मार्न मिल्छ ? त्यसपछि कुनै वास्तै नगरी बेवारिसे बनाउन मिल्छ ? सविनलाई सरकारले शहीद घोषणा गर्नुपर्ने उनले माग गरे । उनले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘प्रहरीको गोली लागेर मेरो परिवारको पिलर नै ढल्यो । परिवारमा कमाउने उही एकजना थियो । अब परिवार कसले हेर्छ ? त्यसकारण सरकारले परिवारलाई उचित क्षतिपूर्ति दिइयोस् । श्रीमती र छोरीको जिम्मा लेओस् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार