कोठा फर्किंदै गरेका रेविका र दिनेशलाई हानियो गोली…..

काठमाडौं –      उदयपुरकी २२ वर्षीया रेविका खत्री गएको शुक्रबार अपराह्न ४ बजेतिर जडिबुटीमा रहेको खाद्य गोदाममा काम सकेर डेरातिर लाग्ने तरखरमा थिइन् । त्यो दिन काठमाडौंमा राजावादी समूहले प्रदर्शन गर्दैछ भन्ने उनलाई थाहा थियो, तर डेरा जाने बाटोमा पर्ने कोटेश्वरमा हिंसात्मक परिस्थिति सिर्जना भइसकेको उनले भेउ पाएकी थिइनन् । जब उनी कोटेश्वर नजिक आइपुगिन्, त्यहाँ गाडीमा आगजनी भइरहेको देखिन् । त्यसबेला उनी बिरामी थिइन्, एक्लै अघि बढ्न डर लागेपछि कोटेश्वरको एसओएस क्षेत्र पछाडि शंकरमार्ग डेरा भएका दाजु दिनेश खत्री (ठूलोबुबाका छोरा) लाई फोन गरेर बोलाइन् । त्यतिञ्जेल राष्ट्रिय झण्डा ओढेर सडकमा निस्किएका राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाइरहेका थिए । कोहीको हातमा लत्ताकपडा थियो, कसैले बियर र ह्विस्कीका बोतल समातिरहेका थिए । स्वास्थ्य समस्याका कारण बहिनीलाई गाडी जलेकाले टायरको धुवाँले असर गर्न सक्थ्यो, अझ एक्लै छाड्न झन् जोखिम थियो, त्यसैले फोन आउने वित्तिकै लिन गएको थिएँ,’ २४ वर्षीय दिनेश सम्झन्छन्, ‘त्यसपछि कोटेश्वरको आकाशे पुल कटेर पारिपट्टिबाट जाने निधो गरेका थियौं । दिनेशले बहिनी रेविकालाई लिन मूल सडक पार गराए । त्यहाँबाट उनीहरु एसओएस बालग्राम क्षेत्र हुँदै गल्लीमा छिरेर कोठातर्फ जाँदै थिए । तर कोठा पुग्नै लाग्दा दाजु-बहिनीले नसोचेको दुर्घटना भोग्नु पर्‍यो । कोठा पुग्न दुई पाइला बाँकी थियो, त्यही बेला दाजुबहिनीलाई गोली लाग्यो । गोली कहाँबाट, कसले हान्यो, उनीहरूले पत्तै पाएनन् । दिनेशले भने, ‘म बहिनीलाई लिएर कोठा छिर्नै लागेको थिएँ । प्रहरीहरू यताउता कुदाकुद गरिरहेका थिए, एक्कासि डुङ्ङ गरेको आवाज मात्रै सुन्यौं । प्रहरीले तीनकुनेमा जम्मा भएका प्रदर्शनकारी तितरबितर पारेर कोटेश्वरतर्फ लखेट्दै थियो । त्यही बेला पुगेको टोलीले त्यो क्षेत्रमा अश्रुग्यास र हवाई फायर गरिरहेको थियो । त्यस्तोमा एक्कासि उनीहरुलाई गोली लागेको थियो ।‘मुख्य रोडमा प्रहरीहरू कुदाकुद गरेको देखेका थियौं, तर गल्लीमा त्यस्तो केही देखेका थिएनौं,’ दिनेशले सम्झिए, ‘दाजु-बहिनी कोठा छिर्नै लागेका थियौं, एक्कासि गोली लाग्यो ।’ त्यसबेला घरको छतबाट देख्ने स्थानीयहरूले चाहिँ भाटभटेनीबाट प्रहरीले गोली बर्साइरहेको थियो भनेका उनीहरुले सुनेका थिए । तर, ठ्याक्कै कोठा छिर्नै लाग्दा प्रदर्शनकारी नै नभएको स्थानमा आफैंलाई गोली लाग्ला भन्ने उनीहरुले कल्पनै गरेका थिएनन् । चिकित्सकहरुका अनुसार, गोली दिनेशको खुट्टामा छोएर बाहिरिँदा उनलाई त्यति धेरै समस्या भएन । तर बहिनी रेविकाको दायाँ तिघ्रामा लागेर निस्कियो । उनी गम्भीर घाइते भइन् । बहिनी रगताम्ये देखेपछि दिनेशले आफू घाइते भएको पनि थाहा पाएनन् । उनले हात र आफूले लगाएको पहेँलो ज्याकेटले बहिनीको तिघ्रा छोप्ने प्रयास गरे, तर सकेनन् ।

अष्ट्रेलिया जाने तयारीमा थिए दिनेश:

दिनेश स्नातक सकेर विदेश अध्ययनका लागि अष्ट्रेलिया जाने तयारीमा थिए । भिसा लागेर एक महिनापछि उड्ने उनको तयारी थियो । तर, राजावादीको प्रदर्शनले उनको अष्ट्रेलिया जाने सपना तत्काललाई पछाडि धकेलिएको छ । उनी अस्पतालको बेड हुँदै घरमा आराम गर्न बाध्य भएका छन् । किनकि, उनलाई आराम गर्न र तिघ्रामा लागेको गोलीको घाउ निको हुन समय लाग्ने भएकाले तत्काल बाहिर नजान चिकित्सकको सुझाव छ ।अहिले रेविका निजामती अस्पतालको आईसीयूमा उपचार गराइरहेकी छिन् भने दिनेश डिस्चार्ज भएर घरमा आराम गरिरहेका छन् । उनको रेखदेख उनका भान्जा सुरज बस्नेतले गरिरहेका छन् । उनका अनुसार सुरुमा उनलाई भेन्टिलेटरमा राखिएको थियो । ४ दिन भेन्टिलेटरमा राखेर रेविकालाई सोमबारदेखि आईसीयूमा सारिएको छ । गम्भीर बिरामी रेविकालाई अस्पतालले आफन्त भेट्न दिएको छैन । ‘अहिलेसम्म आन्टी (रेविका) लाई ३५ पाउन्ड रगत चढाइसकिएको छ,’ सुरजले भने, ‘अझै कति लाग्ने हो थाहा छैन ।’ रेविकाको अवस्था अझै पनि खतरामुक्त छैन ।मंगलबार रास्वपा सांसदहरु (सोविता गौतम, डा. चन्दा कार्की र गणेश पराजुली) रेविकालाई भेट्न आउँदा बुवा तुलसीराम खत्री (४६ वर्षीय) ले छोरीको अवस्था नाजुक रहेको बताउँदै सहयोग गर्न आग्रह गरेका थिए । आमा कमला खत्री (४५ वर्षीया) रोइरहेकी थिइन् । रास्वपा सांसद सोविता गौतमले घटनाको बारेमा थाहा पाएर स्वास्थ्य अवस्था बुझ्न आएको बताइन् । उनले रेविकाको आवाज आफूहरूले संसद् र सरकारमा उठाउने आश्वासन दिइन् । बुवा तुलसीरामले भने, ‘मेरो छोरी प्रदर्शनकारी पनि होइन, भाटभटेनी लुट्ने पनि होइन । अफिसबाट फर्किरहेकी छोरीले गोली खानु परेको छ, यसको जिम्मा कसले लिन्छ ? साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार