काठमाडौं – संयोग नै मानौं, राजधानी काठमाडौंमा दुई दिनअघि जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य शीर्षकमा सगरमाथा संवाद नामक अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै थियो । त्यसैको अघिल्लो राति अर्थात् १ जेठमा पश्चिम कर्णाली पहाडको विकट लिमी उपत्यकाको हिमाली क्षेत्रमा हिमताल फुटेर एकाएक पहिरो गयो । नाम्खा गाउँपालिका वडा नम्बर ६ को तिलगाउँमा पहिरो जाँदा सिंगो बस्ती नै यतिबेला विस्थापित छ । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दा १ जेठको राति सुतिसकेका थिए । राति खहरे गडगडाएझैं ठूलो आवाजले १८ घरका बासिन्दाको भागाभाग भयो । वर्षाको कुनै संकेत बेगर आएको यो बाढीबारे तिलगाउँका वडाध्यक्ष पाल्जोर लामाले पहिरोस्थलबाट अनलाइनखबरसँग भने, ‘पहिरो गएको ठाउँ हेर्दै अचम्मको रहेछ । म वारिपट्टि रहेकाले गर्दा गाउँ पुग्न पनि निकै गाह्रो थियो । तल एक ठाउँबाट बाटो पार गर्न सकिन्छ जस्तो देखियो । त्यसपछि म त्यो बाटो हुँदै गाउँतर्फ लागेँ । हेर्दाखेरि ठूलो क्षतिजस्तो नदेखिए पनि बस्ती नै जोखिमतर्फ गइसकेको रहेछ । विकट तिलगाउँमा पुग्न हिल्साबाट जनपद र सशस्त्र प्रहरीलाई आधा दिन समय लाग्यो । उनीहरूले क्षति विवरण लिएर गए पनि उद्धारको ठोस कार्य भने हुन सकेन । माथि ५ हजार ३ सय मिटरको दुईवटा हिमताल रहेछन्, त्यहाँ आजसम्म गाउँले पुगेका नै थिएनन्,’ वडाध्यक्ष लामाले भने, ‘यस्तो जोखिम आउला भन्ने कहिल्यै सोचेनौं । ३२ गाउँले यति बेला त्रिपालमुनि बसिरहेका छन् । तिलगाउँमा अहिले खानेपानीको समस्या सुरु भएको छ । कुलो बगिसकेको छ ।
लेदोसहितको पहिरोले हुम्लाको तिल गाउँ जोखिममा, स्थानीयलाई खुला चौरमा सारियो:
उच्च जोखिममा परेपछि ३२ जनालाई खुला चौरमा सारेर त्रिपाल टाँगेर राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । जसमा २१ महिला, ९ पुरुष र २ बालक छन् । यो गाउँमा ५० घरधुरी मध्ये १८ घरधुरी अहिले बसोबास गर्दै आएका थिए । आजै बिहान मात्रै सगरमाथा संवादमा आएका पाहुनाहरूलाई लिएर सरकारी टोली माउन्टेन फ्लाइटमार्फत हिमालहरूको अवलोकनका लागि निस्किएको थियो । लेदोसहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ । सोनाम साङ्मु लामाको घरको छत पहिरोका कारण प्वाल परेको छ । छे बुटी लामाको घर चर्किएको छ । धर्मशालाको छत समेत भत्किएको छ । लेदोसहितको पहिरोले १५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको छ । करिब ४ सय रोपनीमा सिँचाई गर्ने कुलो र खानेपानी समेत बगाएको छ ।साभार : अखप












