काठमाडौँ – लामो रस्साकस्सीपछि सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । चैत २२ गतेबाट रिक्त गभर्नर पदपूर्ति गर्न सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबिच यसबिचमा ठुलै रस्साकस्सी चल्यो । त्यसको ‘साइड इफेक्ट’का रूपमा सरकार र गठबन्धन नै भत्कनेसम्मको चर्चा पनि यसबिचमा चुलियो । पछिल्लो पटक जेठ ५ गते सोमबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक र सोही दिन प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच हुने भनिएको भेटवार्ता अचानक स्थगित भएपछि त झनै सरकार र गठबन्धन भत्किने चर्चाले व्यापकता पाएको थियो । यही चर्चाका बिच प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच मंगलबार बालुवाटारमा करिब एक घण्टा छलफल भएपछि तत्काल मन्त्रिपरिषद् बैठक बसेर गभर्नर नियुक्त गर्ने सहमति जुटेको हो । ओली र देउवाको गोप्य भेटलगत्तै दुवै नेताले आ–आफ्ना विश्वासपात्र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई बालुवाटारमा बोलाएका थिए । पौडेल र लेखकले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे बाहिर भइरहेका चर्चा र त्यसको नकारात्मक प्रभावबारे दुवै शीर्ष नेतालाई ब्रिफिङ गर्दै विषयलाई धेरै लम्ब्याउन नहुने सुझाव दिएसँगै गभर्नर नियुक्तिको विषय टुङ्गिएको स्रोत बताउँछ । खासमा गभर्नर कांग्रेसको भागमा परे पनि उसले सिफारिस गरेका पात्रप्रति प्रधानमन्त्री ओली सकारात्मक नभएको र नियुक्तिमा ढिलाइ गरेको कांग्रेसवृत्तको बुझाइ थियो । पौडेलविरुद्ध सर्वोच्चमा निवेदनसमेत पुगेको भन्दै ओलीले पौडेलको विकल्प खोज्न भनेपछि कांग्रेस नेताहरू ओलीसँग थप चिढिन पुगेका थिए । यद्यपि कांग्रेस पौडेलको विकल्प खोज्न तयार नभएपछि ओली अन्ततः उनैलाई गभर्नर बनाउन तयार भएको बुझिएको छ । गभर्नर नियुक्तिबारे बाहिर चर्चा र हल्ला भएजस्तो दुई दलमा कुनै विवाद नभएको कांग्रेस–एमालेका केही नेताको दाबी छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का गभर्नरको विषयलाई लिएर अनावश्यक चर्चा गरिएको बताउँछन् । ‘गभर्नर नियुक्तिमा भएको ढिलाइसँग जोडेर गठबन्धन र सरकारप्रति सार्वजनिक भएका धारणाहरूमा सत्यता छैन’, खड्काले रातोपाटीसँग भने, ‘सोमबार प्रधानमन्त्रीको स्वास्थ्यले गर्दा मन्त्रिपरिषद् र सभापतिजीसँग भेट हुन नसकेको हो ।’ त्यसैलाई आधार बनाएर विभिन्न कोणबाट हल्ला फैलाइएको तर मंगलबारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि त्यस्ता हल्लाका बजार आफैँ सेलाएको उनले बताए ।साभार : रापा












