भिजिट भिसाका नाममा मानव तस्करी…..

काठमाडौं –     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह प्रशासन पनि शंकाको घेरामा परेको छ । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप कर्मचारीहरुतिर समेत अनुसन्धान सोझ्याएको छ । आयोगले छानबिन गरिरहेका बेला शुक्रबार मन्त्रालयले कम्तिमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । विमानस्थल अध्यागमनबाट हटाइएकाहरुमध्ये अधिकांश नायब सुब्बा छन् । कतिपय अधिकारीहरुले अख्तियारको अनुसन्धान चलिरहेका बेला ती कर्मचारीलाई मन्त्रालयबाट हटाउनुले थप शंका बढाएको बताएका छन् । खासमा भिजिट भिसाका नाममा भएको असुलीमा गृह प्रशासन नै जोडिन आउँछ,’ एक सरकारी अधिकारीले भने, ‘यस्तोमा संवैधानिक आयोगले जाँच गरिरहेका बेला कर्मचारी हटाउँदा मन्त्रालयको नियतमा पनि प्रश्न उठ्छ । जिल्ला अदालत, काठमाडौंमा १८ माघ २०८० मा दायर भिजिट भिसाका नाममा भएको संगठित ठगीमा पौडेल पनि प्रतिवादी बनाइएका थिए । त्यसबेला प्रहरीले उनलाई फेला नपारेपछि फरार बनाएर सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । अध्यागमनका तत्कालीन अधिकृत नरवीर खड्का विमानस्थल बाहिर रहेको होटल बाल्टिक अगाडि दुई लाख रुपैयाँसहित २० पुस २०८० मा पक्राउ परेका थिए । भिजिट भिसामा विभिन्न मुलुक पठाउँदै आएको निमा छिरिङ ट्राभल्सका कर्मचारी पदम लामाले उनका लागि छाडेको पैसा लिन पुगेका बेला प्रहरीले खड्कालाई समातेको थियो । पक्राउ पर्दा उनको साथमा बरामद मोबाइलमा प्रहरीले ६६ जना युवाको सूची पनि फेला पारेको थियो, जसमा केही समय अगाडि मात्र विभिन्न मुलुक उडेका व्यक्तिहरुको सूची थियो । पक्राउ परेपछि बयान दिने क्रममा उनले हाल गृह मन्त्रालयमा रहेका पौडेल समेत ७ जना सदस्य रहेको भिजिट भिसा सहजिकरण समिति रहेको, त्यसमार्फत सबैलाई रकम जाने बताएका थिए । खासमा त्यो समिति भिजिट भिसामा जाने नागरिकले दुःख पाएको भन्दै सहजिकरणका लागि बनाइएको थियो, तर त्यही समितिका अधिकृतहरु नै असूलीमा संलग्न रहेको देखिएको थियो । पक्राउ गरेर अपराध अनुसन्धान कार्यालय ल्याएपछि प्रहरीले नरवीरसँग गरेको कुराकानीको भिडियो समेत बनाएको थियो, त्यसमा उनले भिजिट भिसामा सेटिङ मिलाउने एजेन्टहरुमार्फत समितिलाई नै पैसा आउने बताएका थिए । त्यो रकम कहाँ कहाँ साथीहरु विभाजन गर्छन् मलाई जानकारी हुँदैन, औसतमा प्रत्येक कर्मचारीको भागमा ४०/५० हजार हुन्छ’, उनले भिडियोमा भनेका छन्, ‘हाम्रो मनोज तामाङ र पदम लामा सेटिङ मिलाउने मुख्य एजेन्ट हुन् । त्यसबेला उपत्यका अपराध अनुसन्धान कार्यालयले कर्मचारीतर्फ लक्षित गरेर अनुसन्धान अघि बढाइरहेका बेला कर्मचारीले सामूहिक रुपमा विभागका मन्त्रालय र विभागका महानिर्देशकलाई ज्ञापन पत्र समेत बुझाएका थिए । अध्यागमनका नाममा धेरै निकायका कर्मचारीले आएर कागजात लिने र दोषजति सबै अध्यागमनका कर्मचारीलाई लगाउने प्रवृत्ति देखिएको छ’, ज्ञापन पत्रमा भनिएको थियो, ‘नियमानुसार भिजिट भिसामा प्रस्थान अनुमति दिई व्यक्तिको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकारको सुनिश्चितता स्वरुप प्रस्थान अनुमति दिने कार्य गर्दा अध्यामन अधिकृत मानव तस्कर हो भन्ने निष्कर्ष निकाल्ने हो भने यसलाई रोक्न मन्त्रालय र विभागले हालसम्म किन तदारुकता नदेखाएको हो ? त्यसबेला अनुसन्धानमा खटिएका अधिकृतहरु भने यो ज्ञापन पत्रलाई समेत प्रहरी अनुसन्धान माथिल्लो तहतिर अघि बढिरहँदा त्यसको विरोधमा भएको प्रतिक्रिया ठान्छन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार