दोष जति प्रसाईंको टाउकोमा खन्याएर टक्टकिँदै आरोपी…..

काठमाडौं –    गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा पक्राउ परेकाहरूविरुद्ध करिब दुई महिनापछि मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहल, काठमाडौंले आज आइतबार मुद्दा दायर गरेको हो । प्रहरीले मुद्दा चलाउन राय दिएका १०८ जनामध्ये ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। ३४ जनाविरुद्ध भने मुद्दा नचलाउने निर्णय भएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले अनलाइनखबरलाई बताए । ४ जना बालबालिका रहेकाले बाल अदालत भक्तपुरमा मुद्दा दर्ताका लागि पठाइएको छ । यो प्रकरणमा प्रतिनिधिसभाका सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा, राप्रपाकै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, झापाका विवादास्पद व्यक्ति दुर्गा प्रसाईं लगायतविरुद्ध मुद्दा दायर भएको छ । प्रसाईंसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानदेखि ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, संगठित अपराध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको छ । मिश्र र राणाविरुद्ध भने राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ । धेरै वटा कसुर आकर्षित हुने र प्रतिवादी पनि धेरै हुने भएपछि परिसरले अन्य युनिटबाट पनि जनशक्ति मगाएर तीनकुने घटनाको अनुसन्धान गरेको थियो । जसमा, प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट एसपी प्रवीण धिताल, जिल्ला प्रहरी परिसर ललितपुरबाट मुद्दा शाखाका इन्स्पेक्टर नानिकाजी थापा, काठमाडौं अपराध अनुसन्धान कार्यालय आईटी शाखाका इन्स्पेक्टर राजेश महर्जन, हृदय सापकोटा सहितको टोलीले यो प्रकरणको अनुसन्धान गरेको थियो । परिसर काठमाडौंबाट भने एसपी कुलदीप चन्दले अनुसन्धानको कमान्ड गरेका थिए । करिब दुई महिना लामो समय लगाएर गरेको यो अनुसन्धानका प्रतिवादीले भने दुर्गा प्रसाईंलाई दोष देखाएर बयान दिएका छन् । रवीन्द्रदेखि धवल शमशेर राणा समेतले आफूहरू अथिति मात्रै रहेको र यसको सम्पूर्ण जिम्मा प्रसाईं रहेको संकेत गर्दै बयान दिएका छन् ।साभार : अखप

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार