गृहकै संरक्षणमा हुन्थ्यो विमानस्थलमा सामूहिक असुली…..

काठमाडौं  –     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीहरूले गृह मन्त्रालयकै संरक्षणमा सामूहिक असुली गर्ने गरेको भेटिएको छ । भिजिट भिसामा विदेश जाने युवाबाट असुल गरिने रकम अध्यागमनका अधिकांश कर्मचारीदेखि मन्त्रालयसम्म बाँडफाँड हुने गरेको तथ्य फेला परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जेठमा विमानस्थल अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर थालेको अनुसन्धानका क्रममा यो लेनदेनमा ‘कर्मचारीको ठूलो समूह नै संलग्न’ हुनसक्ने आधारहरू फेला परेको जाँचमा संलग्न एक अधिकारी बताउँछन् । हालसम्म फेला परेका प्रमाण र औपचारिक/अनौपचारिक सूचनाले भिजिट भिसाका नाममा हुने ठगीमा कर्मचारीको संगठित समूह नै संलग्न हुनसक्ने देखिएको छ’, उनले भने, ‘प्राविधिक कारणले कतिपय तथ्यहरू फेला पार्न निकै कठिन हुने स्थिति छ, यद्यपि अनुसन्धान गहिराइमा पुगे गृह प्रशासनका कर्मचारीहरू संलग्न हालसम्मकै ठूलो भ्रष्टाचारमध्ये यो एउटा बन्नेछ । आयोगका अधिकारीहरूका अनुसार, विमानस्थलमा खटिएका कर्मचारीको असुलीमा सामूहिक संलग्नताबारे पहिले पनि चर्चा हुने गथ्र्यो । मन्त्रालयमा कतिपय अधिकृतलाई पुरस्कृत गर्नुपरे ‘केही समय अध्यागमन बसेर आउनू’ भन्ने स्थिति समेत विगतमा रहेको स्रोत बताउँछ । झण्डै दुई/तीन वर्ष अघिबाटै भिजिट भिसाका नाममा भइरहेको अनियमितताबारे सूचना आउँथे, निगरानी पनि गरिरहेका थियौं’, आयोगका एक अधिकारी भन्छन्, ‘हालसम्म प्रमाणसहित फेला पार्न सकिएको थिएन, पछिल्लो पटक केही महत्वपूर्ण आधारहरू फेला परेपछि जाँचले तीब्रता पाएको छ । स्रोतका अनुसार, पछिल्लो समय केही कर्मचारीबाट समेत अनुसन्धान अधिकृतहरूसम्म यसबारे महत्वपूर्ण सूचना पुगेका छन् । ‘खासमा अध्यागमनमा सेटिङबारे अनुसन्धान भइरहेको हल्ला चल्ने वित्तिकै झन् रेट बढ्ने रहेछ,’ ती अधिकृतले भने, ‘पछिल्लो पटक प्रहरीले मुद्दा चलाएपछि डेढ वर्षयता त्यो असुली उत्कर्षमा पुगेको थियो भन्ने बुझेका छौं । विमानस्थलमा असुलीका लागि कर्मचारीबीच यति एकता थियो कि सेटिङबाहिरका नागरिकलाई भिजिट भिसामा विदेश उड्नै कठिनाइ हुन्थ्यो । अख्तियारसम्म पुगेको सूचना अनुसार, मध्यराति नियमित उडान हुने कुवेत एयरलाइन्समा अधिकांश सेटिङमा उड्ने महिलाहरू हुन्थे । विदेश पठाउने एजेन्टले दिने सूची अनुसार यो उडानमा सबै असुली गरिएका महिलाहरू हुन्थे’, एक अधिकारी भन्छन्, ‘त्यसमा एयरलाइन्सको कर्मचारीलगायतबारे समेत छानबिन गर्नुपर्ने स्थिति छ ।’ राति उडान हुने फ्लाई दुबई, जजिरा, एयर अरेबिया लगायतमा पनि अधिकांश सेटिङका यात्रुहरू हुने सूचना आयोगसम्म पुगेको छ । ओमानमा भिजिट भिसामा गएर काम गर्न मिल्ने कानुनी प्रावधान नभएकाले यूएई लगायतका मुलुकलाई ट्राजिट बनाएर समेत महिलाहरू जाने गरेका थिए । त्यसरी घरेलु कामदारका रुपमा ओमान जाने कतिपय महिलाहरू त्यहाँ अलपत्र परेका उदाहरण समेत छन् ।

कर्मचारीको खल्तीमा बिचौलियाको फोन:

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार, डेढ वर्षयता यूएई, साउदी अरब भिजिट भिसामा पठाउन ५० देखि ७५ हजार रुपैयाँ प्रतिव्यक्तिसम्म संकलन गर्ने गरिएको थियो । यूरोप जानलाई ३ देखि ४ लाख रुपैयाँसम्म लिने गरिएको भेटिएको उनी बताउँछन् । अधिकृतहरूका अनुसार, रकम असुली गरिएका व्यक्तिको सूची अध्यागमनमा खटिएका कर्मचारीलाई बेग्लै फोनमा बिचौलियाले पठाउने गरेका थिए । ‘१५/२० हजार रुपैयाँ पर्ने एन्ड्रोइड फोन हुन्थ्यो, त्यसमा ह्वाट्स एप चाहिँ चल्थ्यो’, यसबारे जानकार एक अधिकारीले भने, ‘त्यो फोन बढीमा एक सातासम्म मात्र प्रयोग गरिन्थ्यो । प्रारम्भिक जाँचका क्रममा विचौलियाले त्यो फोनमा प्रयोग हुने सीम कार्ड समेत विदेश जानेले बुझाएको नागरिकता र फोटो प्रयोग गरेर खरिद गर्ने गरेको खुलेको छ । ‘समस्या पर्दा कुनै पनि हालतमा पत्ता नलागोस् भन्ने हिसाबले व्यवस्थित रुपमा र्‍याकेट चलाएको देखिन्छ’, ती अधिकृतले भने, ‘कतिसम्म भने अख्तियार र प्रहरी आकस्मिक जाँचमा आए के गर्ने भन्नेसम्म पूर्वतयारी हुने गरेको रहेछ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार