गृहमन्त्रीको राजीनामाबारे सत्ता र प्रतिपक्षको अडान यथावत…..

काठमाडौँ –    आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट संसदमा पेस गर्न दिएका प्रतिपक्षी दलले बजेटमाथिको छलफल अघि सहमति नजुटे संसद् बैठक अवरोध गर्ने भएका छन् । आगामी जेठ २० गतेदेखि संसदमा बजेटमाथि छलफल गर्न संसद्को कार्यतालिका छ । तर, संसद्को अवरोध हटाउन सभामुखले शुक्रबार गरेको छलफलमा गृहमन्त्रीबारे सत्तापक्ष र प्रतिपक्ष दुवैले पुरानै अडान नछोडेपछि बजेटमाथिको छलफल प्रभावित हुने देखिएको हो । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले शुक्रबार सिंहदरबारमा दलका सचेतकहरूसँग छलफल राखेका थिए । उक्त छलफलमा विपक्षी दलले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को कामकारबाही अघि बढ्न नदिने अडान राखे भने सत्तापक्ष राजीनामाको विपक्षमा उभिए । बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विपक्षीका माग पूरा नहुँदासम्म संसद् बैठक चल्न नसक्ने बताए । ‘खासगरी सदनको क्यालेन्डर बनाउने विषयमा बैठक थियो । हामीले हाम्रो मुख्य माग सम्बोधन नहुँदासम्म सदनका क्रियाकलाप अगाडि बढाउन नदिने विषय राख्यौँ’, पाण्डेले भने, ‘माग सम्बोधन गर्ने विषय सरकारको हो । संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नसक्ने बताउँछन् । उहाँहरू केही भएको छैन भन्दै नियमित प्रक्रियाबाट जान खोज्दै हुनुहुन्छ । हामीले आफ्नो कुरा राखेका छौँ,’ परियारले भने, ‘हिजो जिम्मेवारी बोध गरेर छाडेका हौँ । रास्वपासहित सबै विपक्षी दल आन्दोलनमा छौँ । आन्दोलनको माग सम्बोधन नभएसम्म हामी सदन अगाडि बढाउन सक्दैनौँ । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखक नै संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादीसहित प्रतिपक्ष दलहरूले उनको राजीनामालाई बटमलाइन बनाएका छन् । यसबाहेक उनीहरुले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने र यसबारे प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताउँदै आएका छन् । तर, सत्तापक्ष एउटा कर्मचारीको कमजोरीमा मन्त्रीले राजीनामा गर्नुपर्ने कुनै कारण नरहेको भन्दै विपक्षीको माग पुरा गर्न नसकिने अडानबाट पछि हटेको छैन । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने शुक्रबार सभामुखसँगको छलफलमा सदन अवरोधका विषयमा कुनै औपचारिक छलफल नभएको दाबी गरे । संसद्को क्यालेन्डर बनाउने विषयमा छलफल थियो । सदनको अवरोधबारे अनौपचारिक विषयमा कुरा उठे पनि औपचारिक छलफल भएन,’ घिमिरेको भनाइ छ । शुक्रबारै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पनि गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नसक्ने ठहर गरेको छ । यद्यपि त्यसबारे औपचारिक निर्णय संसदीय दलको बैठकले गर्ने माओवादीको भनाइ छ । प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउन विज्ञ सहितको संसदीय दलको बैठक बोलाएको छ । संसद्को अवरोधलाई जारी राख्ने कि वैकल्पिक उपाय खोज्ने भन्ने विषयमा विज्ञहरूको सहयोग लिनेछौँ । जेठ १९ गते बस्ने बैठकले नै निर्णय गर्नेछ’, माओवादी केन्द्रका सचिव समेत रहेका देवेन्द्र पौडेलको भनाई छ । एमाले प्रमुख सचेतक तथा सत्तारुढ दलका मुख्य सचेतक समेत रहेका महेश बर्तौलाले विपक्षी दलले झिनामसिना कुरालाई मसला बनाएर सदन अवरोध गर्ने नजिर बसाउनु गलत हुने बताए । ‘झिना मसिना कुराहरूलाई मसला बनाएर संसद् अवरोध गर्ने कुराले राम्रो गर्दैन । यस्तो ढङ्गले अघि बढ्दा संसदीय प्रणालीलाई सुदृढ गर्न चुनौती सिर्जना गर्छ’, एमाले प्रमुख सचेतक बर्तौलाले भने, ‘यो उहाँहरू (विपक्षी) ले पनि सोच्ने कुरा हो । एउटा कर्मचारीको विषयलाई लिएर जिम्मेवार दलहरूले आन्दोलन गर्ने वा संसद् अवरोध गर्ने कुरा जायज नहुने बर्तौलाको भनाई छ ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार