ईभीमा कर नबढ्दा व्यापारी चकित, ३ हजार युनिट ‘स्टक’ मा…..

काठमाडौं –     सिन्धुपाल्चोक लार्चा भन्सार, रसुवाको रसुवागढी भन्सार, भैरहवा नाका र चोभारस्थित सुक्खा बन्दरगाह भन्सारमा अहिले पनि विद्युतीय सवारीसाधन (ईभी) सयौँको संख्यामा थुप्रिएका छन् । बजेट अगाडि ईभीमा कर बढ्ने हल्लाले अत्यधिक भित्रिएको ईभी भन्सार जाँचपास भएर पार्किङमा व्यापारीले राखेका छन् । केही समययता ह्वात्तै बढेको ईभी आयात संख्याले भन्सार कार्यालय भरिभराउ छन् । तर, ईभी आयात ह्वात्तै बढाएका व्यापारीहरू ईभीमा कर नबढ्दा अहिले चकित परेका छन् । ‘बजेटमा कर बढ्ने डरले ह्वात्तै आएका ईभी अब पार्किङ शुल्क तिरेर बसिरहन्छन् । कर बढ्नु अगाडि नै भन्सार जाँचपास गरिसकेकाले अब उनीहरूले शो-रुममा भन्दा यहीँ पार्किङ शुल्क तिरेर राख्छन् । बिक्री बढ्न थालेपछि लैजान सक्छन्,’ भन्सार अधिकृतहरू भन्छन् । सुक्खा बन्दरगाह व्यवस्थापन गरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल भन्सार बढ्ने हल्लाले ईभी आयात थुप्रिएको बताउँछन् । ‘करको हल्लाले इभी आयो, अब पार्किङ गरेर बसेका छन् । कर बढाउँदा ग्राहकलाई नयाँ मूल्यमा बेच्ने भनेर ल्याइएको ईभी थुप्रिँदा अहिले बन्दरगाहहरू भरिभराउ छन्,’ उनी भन्छन् । एक अटोमोबाइल व्यवसायीका अनुसार भन्सार जाँचपास भएर बसेका ईभी ३ हजार युनिटभन्दा बढी संख्यामा छन् । कर बढ्नेमा ढुक्क अटो व्यापारीहरूको स्रोतले नै झुक्याएपछि चकित परेका हुन् । ‘ईभीमा कर नबढाउँदा दुःखी हुनुपर्ने कारण त छैन, तर ह्वात्तै आयात गरेको ईभी स्टक हुँदा बाहिर हाँसिरहे पनि मन पोलिरहेको छ,’ एक आयातकर्ता भन्छन् ।

ब्याज र पार्किङ शुल्कले लागत बढ्ने डर:

ईभी आयातकर्ताले बजेटमा कर नबढ्दा राहतको सास फेरे पनि ल्याइएको गाडी तत्काल बिक्री नहुँदा लागत बढ्ने डर छ । केही कम्पनीले हजार हाराहारीमा समेत ईभी आयात गरेका छन्, सामान्य आयातकर्ताले समेत सयको हाराहारीमा आयात गरेका छन्,’ नेपालमा ईभी आयात गर्ने एक व्यवसायी भन्छन्, ‘बजेटले ईभीमा कर नबढाएको त राम्रै छ, दीर्घकालीन हेर्ने हो भने, तर जुन अनुपातमा आयात भएको छ, त्यो दसैं अगाडि सकिँदैन कि भन्ने डरले सताइरहेको छ । तत्काल किन्न सक्ने क्षमता भएका धेरै ग्राहकले बजेट अगाडि नै ईभी किनेका छन् । बजेट अगाडि ईभी नकिन्नेहरू अधिकांशले तत्काल किन्ने देखिँदैन । त्यो हिसाबले केही समय गाडी खासै बिक्री नहोला ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार