प्रहरी रिपोर्ट भन्छ विस्फोटमा दुई मारिए, कहीँबाट पुष्टि भएन…..

काठमाडौं –       उच्च अदालत, वीरगञ्जले रौतहटका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिँदा विस्फोट भएको प्रमाणित नभएको र इँटाभट्टामा दुईजनालाई जलाइएको पुष्टि नहुने आधार देखाएको थियो । आलम आफ्ना भाइका साथ राजपुरस्थित काका शेख इद्रिशको घरमा बस्ने गर्थे । त्यही घरमा विस्फोट भएको थियो । त्यसपछि मृतक र घाइतेहरूलाई नजिकैको इँटाभट्टामा हालेर जलाएको आरोप छ । न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले मूलतः रौतहटको राजपुरस्थित शेर इद्रिश (मोहम्मद आफताब आलमका काका)को घरमा विस्फोट नभएको भन्ने तर्क अघि सारेर सफाइको आधार बनाएको देखिन्थ्यो । मुद्दाका मिसिलहरू अध्ययन गर्दा त्यो दिन राजपुरमा विस्फोट भएको भन्ने कैयौं प्रमाण पेस गरेको देखिन्छ । कैयौ साक्षीहरूले संविधानसभा निर्वाचनको अघिल्लो दिन (२७ चैत, २०६४) मा इद्रिशको घरमा बम विस्फोट भएको र त्यस क्रममा दुईजनाको ज्यान गएको बताएका थिए । त्यति मात्रै होइन, स्वयं रौतहट प्रहरीले समेत आलमको घरमा विस्फोट भएको र केही व्यक्तिको हताहती भएको विवरण सहितको पत्र मानव अधिकार आयोगमा पठाएको देखिन्छ । प्रहरीले दुई पटकसम्म मानव अधिकार आयोगमा यसबारे स्पष्ट खुलाएर पत्राचार गरेको थियो । उजुरी परेपछि राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे खुलाइदिन निर्देशन दिँदै रौतहट प्रहरीलाई पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटले राष्ट्रिय मानव अधिकार आयोगमा पठाएको पत्रमा नारायण सिंह राजपुतको छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत अनि रोक्साना खातुनको छोरा ओसी अख्तर मियाँको मृत्यु भएको विवरण स्पष्ट रूपमा उल्लेख छ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार