नेपालमा कसरी पतञ्जलि आयो ? प्रधानमन्त्रीमाथि नै मुद्दा चल्नुको धरातल के हो ?…..

काठमाडौं –    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको स्वामित्वमा आउनुपर्ने जग्गा व्यक्तिको नाममा गएको र त्यसक्रममा मन्त्रिपरिषद्‌ नै संलग्न भएको आरोपमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल सहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो ।पञ्चायतकालको अन्त्यपछि अख्तियारले मन्त्रिपरिषदकै निर्णयमा प्रश्न उठाएर प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा चलाएको यो पहिलो घटना हो । यसअघि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि मेलम्ची भ्रष्टाचारसँग जोडेर छानबिन गरिए पनि त्यसमा अख्तियार संलग्न थिएन । बरु तत्कालीन राजा ज्ञानेन्द्रले दलहरुविरुद्ध प्रतिशोध साध्ने क्रममा शाही आयोगमार्फत् चालेको कदम थियो । अहिले चाहिँ हामी पतञ्जलि योगपीठ प्रत्यक्ष जोडिएको घटना प्रकरणबारे जिज्ञासा र जवाफ तयार पार्दैछौं ।

नेपालमा पतञ्जलि योगपीठको प्रवेश किन र कसरी भयो ?

योग र आयुर्वेद्‌जन्य उत्पादनबाट ख्याती कमाउँदै गएका भारतका योगगुरु रामदेव नेपाल भ्रमणमा आएका बेला नेपालमा पनि आयुर्वेद्‌जन्य उत्पादनको सम्भावना र बजार देखे । त्यसक्रममा उनको सक्रियतामा खुलेको भारतको पतञ्जलि योगपीठले नेपालमा पनि बिस्तार हुन रुचि देखायो । मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा असोज, २०६४ मा ‘पतञ्जलि योगपीठ नेपाल’ दर्ता भयो । कम्पनी दर्ता गर्ने क्रममा पतञ्जलिका नेपाल प्रतिनिधि शालिग्राम सिंहले सोझै उद्योगमन्त्रीलाई निवेदन लेखेका थिए र तोक आदेशबाट कम्पनी दर्ता भएको थियो । भारतमा दर्ता भएको कम्पनी नेपालमा बिस्तार गर्दा कम्पनीको सञ्चालकमा स्वामी रामदेव, आचार्य बालकृष्ण, महेन्द्र राजेन्द्र दास, राजेन्द्र सिंह र शालीग्राम सिंह थिए । कम्पनी दर्ता हुनासाथ प्रतिनिधि शालीग्राम सिंहले कम्पनीको प्रबन्धपत्र संशोधन गरेर प्रयोगशाला निर्माण, मुद्रण एवं प्रकाशन, ग्रीन हाउस सञ्चालन लगायतका काम गर्न सक्ने विवरण थपेका थिए । पतञ्जलिले त्यतिबेला काभ्रेमा निशुल्क औषधालय बनाउने, आयुर्वेद् अनुसन्धान केन्द्र स्थापना गर्ने, अरु सामाजिक गतिविधि गर्ने, विद्यालय सञ्चालन गर्ने अनि औषधी बिक्रीवितरण गर्ने एवं जडीबुटी संग्रहका काम पनि गर्ने क्षेत्राधिकार विस्तार गरेको थियो ।

पतञ्जलिले कसरी जग्गा किन्न थाल्यो ?

असोज, २०६४ मा सञ्चालकहरुले विशेष निर्णय गरेर पतञ्जलिनेपालका सबै कामकारवाही गर्ने अधिकार शालीग्राम सिंहलाई दिने निर्णय गरे । कम्पनीको प्रबन्धपत्रमा उल्लेखित गतिविधि गर्न जग्गाको आवश्यक पथ्र्यो । अख्तियारको आरोपपत्र अनुसार, पतञ्जलिले नेपालले माघ, २०६६ अघि नै काभ्रेका तीन गाविसमा ५ सय ५७ रोपनी जग्गा खरिद गरिसकेको थियो । कतिपय विवरणमा भने ५ सय ५५ रोपनी भन्ने उल्लेख छ । जे होस, अख्तियारले जग्गा खरिद भइसकेपछि बल्ल पतञ्जलिले हदबन्दी छुटका लागि भूमीसुधार मन्त्रालयमा निवेदन दिएको फेला पारेको छ । पतञ्जलिले निवेदनमा काभ्रे लगायत देशभरका एक दर्जनजति जिल्लामा २ हजारदेखि २५ सय रोपनी जग्गा आवश्यक पर्ने र त्यसका लागि एक वर्ष लाग्ने भनेको थियो ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार