काठमाडौँ – इरान र इजरायलबिच चर्किरहेको युद्ध आफूहरूले देखेमध्ये सबैभन्दा भयानक र खतरनाक रहेको इजरायलमा बसोबास गरिरहेका नेपालीले बताएका छन् । विगत केही दिनदेखि जारी यस द्वन्द्वमा दुवै देशले ठुलो जनधनको क्षति व्यहोरिरहेका छन् । इरानले इजरायलका विभिन्न सहरहरूलाई लक्षित गरी निरन्तर हवाई आक्रमण गरिरहेको छ, जसले त्यहाँका नेपाली समुदायमा त्रासको वातावरण सिर्जना गरेको छ । इजरायलमा हाल करिब साढे ५ हजार नेपाली कार्यरत छन्, जसमध्ये अधिकांश केयरगिभरका रूपमा र करिब ३ सय जना कृषि क्षेत्रमा संलग्न छन् । लामो समयदेखि त्यहाँ बसोबास गर्दै आएका नेपालीले यस पटकको आक्रमण विगतका कुनै पनि द्वन्द्वभन्दा गम्भीर र जटिल प्रकृतिको भएको अनुभव सुनाएका छन् । यद्यपि, आफूहरू सुरक्षित रहेको उनीहरूको भनाइ छ । एनआरएनए एनसीसी इजरायलका महासचिव अलि महम्मद मियाका अनुसार इरानले प्रयोग गरिरहेका हतियारहरू निकै शक्तिशाली छन्, जसले इजरायलका केही क्षेत्रमा क्षति पुर्याएको छ । ‘इरानले हाइपरसोनिक र ब्यालेस्टिकजस्ता शक्तिशाली क्षेप्यास्त्रहरू प्रहार गरिरहेको छ, जसलाई रोक्न इजरायली प्रतिरक्षा प्रणाली (आइरन डोम) लाई समेत हम्मेहम्मे परेको देखिन्छ,’ मियाले भने । विगत १७ वर्षदेखि इजरायलमा बस्दै आएकी नितु खतिवडाले पनि हालको युद्ध पहिलाभन्दा निकै जटिल रहेको बताइन् । मनमा डर भए पनि सुरक्षा साइरन बज्नासाथ सुरक्षित आश्रयस्थलमा जाँदा सुरक्षित महसुस हुने उनले बताइन् । ‘अहिलेसम्म नेपाली वा अन्य विदेशी नागरिकहरूले देश फर्किनेबारे सोचेका छैनन् । हामी त्रसित छौँ, मन त अलि आत्तिएको छ । तर, रुममा जाँदा सुरक्षित भइन्छ ।साभार : राप












