जेठ २ कै अवस्थामा जस्ताको तस्तै फर्काउन नसकिने…..

काभ्रे — एमाले महासचिव ईश्वर पोखरेलले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा जस्ताको तस्तै फर्काउन नसकिने बताएका छन् । एमाले काभ्रे जिल्ला कमिटीले बनेपामा शनिबार गरेको कार्यकर्ता भेलामा उनले एकताको भावनालाई आत्मसात् गरेर माओवादी केन्द्रबाट आएकाहरूलाई कमजोर र हतोत्साही बनाउने कुरा गर्न नहुने पनि बताए । महासचिव पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता कमजोर बनाएको आरोप पनि लगाए । उनले छिमेकी मुलुकका हेलिकोप्टर नेपाली सीमाभित्र आएर सेनाको ब्यारेकमाथि उडिरहँदा सरकारले बोल्न नसकेको तर्क गरे । ‘देशको नागरिक ज्यादतीपूर्ण तरिकाले मारिँदा छिमेकी मुलुकलाई कूटनीतिक नोटसमेत दिन नसक्ने सरकारलाई धिक्कार छ,’ पोखरेलले भने । उनले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक ओहोदाको दुरुपयोग गरेको आरोप लगाउँदै उनको भूमिकाको संसद्‌मा नै ‘हिसाबकिताब’ हुने बताए । निर्वाचन आयोग र सर्वोच्च अदालतका कतिपय फैसला अस्वाभाविक भएको उनको टिप्पणी थियो । केही साथीले जस्ताको तस्तै भन्नुहुन्छ, त्यो हुँदैन, जेठ २ दोहोरिएर पनि आउँदैन,’ उनले भने, ‘माओवादी केन्द्र र अरू पार्टी सम्बद्ध साथीहरू पनि आउनुभएको छ, यो पहिलेको जस्तै एमाले हैन, विकसित एमाले हो । जेठ २ गतेलाई आधारभूत रूपमा हेक्का राखेर एकता र एकीकरणको कुरालाई पनि बिर्सिनु हुँदैन ।’ पार्टीलाई २०७५ जेठ २ कै संरचनामा फर्काउने सहमतिपछि माधव नेपाल पक्षमा खुल्दै आएका नेताले एमालेमै रहने निर्णय गरेका थिए । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार