बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार…..

बुटवल –     पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ । तीन बच्चसहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति करिब ११ बजेतिर बगाएको हो । बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए । बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको प्रहरीले बताएको छ । बस अहिले भर्खर फेला परेको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजन तिमिल्सेनाले बताए । गत पुसमा भारतीय ओभरलोड ट्रकले पुल भाँचिएपछि यो सडकमा डाइर्भसन बनाइएको थियो । तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ । डाइभर्सन बगाएकाले यातायात अवरुद्ध छ । दुम्किबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले गाडीहरू उकालो चढ्न नसकेर बिच बाटोमै अलपत्र छन् ।

रोशी खोलाको बाढीमा फसेका ५ जनाको सकुशल उद्धार:

काभ्रेको नमोबुद्ध नगरपालिका–५ लास्कोटस्थित रोशी खोलाको बाढीमा फसेका ५ जनालाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । ढुंगागिट्टी निकाल्न भनेर टिपर र लोडरसहित राति करिब ९ बजेतिर खोलामा गएकाहरु एक्कासी बाढी आएपछि फसेका थिए । उनीहरुलाई राति १२ बजे नेपाल प्रहरी र नेपाली सेनाको समेत सहयोगमा सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको पाँचखालस्थित सशस्त्र प्रहरीका गणपति प्रेम प्रसाईंले जानकारी दिए । उद्धार गरिएका व्यक्तिहरुमा तेमाल गाउँपालिका–५ गिम्दीका ४२ वर्षीय सन्जय लामा, तेमाल गाउँपालिका ५ कै ३२ वर्षीय रेबन तामाङ, नमोबुद्ध नगरपालिका–५ डाँडागाउँका १९ वर्षीय मुस्कान तामाङ, ओखलढुंगा घर भई नमोबुद्ध नगरपालिका–५ डाडागाउँ बस्ने २१ वर्षीय सागर राई र डोजर चालक दोलखाको भिमेश्वर नगरपालिका घर भई हाल डाँडागाउँ बस्ने २९ वर्षीय समिर तामाङ छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेले बुधबार नै सूचना जारी गर्दै बाढीको जोखिम भएकाले खोलामा नजान भनेको थियो । तर उनीहरु त्यसको बेवास्ता गर्दै ढुंगागिट्टी निकाल्ने उद्देश्यले राति खोलामा जाँदा फसेका थिए । उनीहरुलाई उद्धार गर्न सुरक्षाकर्मीहरु सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ । राति भंगालोमा फसेको जानकारी कटुन्जेबेंसी प्रहरी चौकीबाट प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपालको अस्थायी सुरक्षा बेस (आईटी पार्क) पनौतीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भिमसेन के.सी.को नेतृत्वमा १० जना र सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा थप ११ जनाको टोली खटिएको थियो । उद्धार टोलीले अप्पर रिभर क्रसिङ्ग विधि र रोप रेस्क्यु विधि प्रयोग गरी उद्धार गरेको प्रसाईंले बताए । उद्धार गरिएका सबै पाँच जना, एउटा लोडर र एउटा टिपर सकुशल रहेको प्रहरीले जनाएको छ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार