रौतहट नरसंहार, गौरीशंकरको खत सद्दे कि श्रीमान्‌को फैसला ?…..

काठमाडौं –     नीलो सर्ट, पाइन्ट र चप्पल लगाएका गौरीशंकर राम चमार आइतबार बिहान भृकुटीमण्डपमा आइपुगे । उनको दुवैतिरका कानका लोती छँदै छैनन्, तर अरूले बोलेका कुरा स्पष्ट सुन्छन् । अनुहारमा मुखमुनिको भागमा ठूलो दाग छ । चिउँडोमुनि रुद्रघण्टी देखिंदैन । सेतो खत छ । छातीदेखि माथि अनुहारभर र कानको लोतीसम्मको भागमा खतैखत छन् । २६ चैत, २०६४ मा संविधानसभा निर्वाचनको अघिल्लो साँझ रौतहटको राजापुरमा भएको विस्फोटको साक्षी हुन्, ४३ वर्षीय गौरीशंकर राम चमार । त्यो दिन कांग्रेस सांसद मोहम्मद आफताब आलमका काका शेख इद्रिशको घरमा विस्फोट भएको थियो । दुई जना मारिए भने अरु कैयौं घाइते भए । पूर्वसांसद आलम र उनका सहयोगीमाथि घाइते र मृतकलाई इँटाभट्टामा हालेर पोलेको आरोप छ । विस्फोट हुनु केहीबेर अघि मात्रै आलमको घरमा पुगेका गौरीशंकर घाइते अवस्थामा भागेर जोगिएका हुन् । म राजा इँटाभट्टामा काम गथें, मेरो हप्ता (पैसा लिने दिन) थियो, मुन्सीले पठाएपछि जाँदा आलमले पैसा बाँडिरहेको थियो’ गौरीशंकरले भने, ‘म ढोकामा जानेबित्तिकै बम पड्कियो, जीउमा पोलेपछि म भागें, पानी भएको खेतमा म पल्टिएँ, त्यहाँबाट पनि भागेर जाँदा गहुँको खेतमा गिर्‍यो (लडें) । त्यसरी लडेपछि आफूलाई गाउँलेहरुले उद्धार गरेर भारत सीतामढीस्थित अस्पतालमा पुर्‍याएको र होसमा आउँदा आफू अस्पतालमा रहेको उनले बताए । करिब तीन महिनाको उपचारपछि उनी निको भएर घर फर्किए । घटनाको लामो समयसम्म उनको उपचार भइरह्यो । त्यसपछि विस्तारै काम गर्न थाले । घाइतेलाई त ज्यूँदै इँटाभट्टामा पोलेको आरोप खेपेका आलमले भागेर ज्यान जोगाएकाहरुलाई हेर्ने र उपचार खर्च दिने अवस्थै थिएन । न आलमले कुनै सोधखोज गरे, न गौरीशंकर फर्केर उनकोमा पुगे । साढे तीन महिनाको उपचारबाट जसोतसो घर फर्किए पनि गौरीशंकरलाई पूरै निको भएको छैन । घर–भवन निर्माणको काम गर्ने उनी केहीबेरमै गल्छन् । निरन्तर खटेर काम गर्न सक्दैनन् । विस्फोटपछि शरीरकै अन्य भागबाट छाला निकालेर घाउ टालिएको थियो । गर्मीको बेलामा उनको ज्यानले असाध्यै सास्ती पाउँछ । शरीर पोल्छ, भारतमा गर्मी भएका बेलामा त्यसलाई छल्न उनले पटकपटक काठमाडौं, पोखरा गएर काम पनि गरे । आमा, श्रीमती र तीन सन्तानका लागि पनि हिम्मत जुटाइरहेका उनी बेलाबेलामा आउने धम्की र त्रासबाट भने बिथोलिन्छन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार