असुली गरेर स्पेन लैजाने गिरोहविरुद्ध मानव तस्करीमा हुनसक्छ अनुसन्धान…..

काठमाडौं –       नेपाली युवासँग प्रतिव्यक्ति १५ लाख रुपैयाँ असुली गरेर संयुक्त राष्ट्रसंघीय कार्यक्रममा स्पेन पुर्‍याउने गिरोहमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६३ अनुसार अनुसन्धान हुनसक्ने देखिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोका एक अधिकृतका अनुसार, पहिले नेपालमा मानव तस्करीलाई सम्बोधन गर्ने कानुन थिएन । तर, ३० चैत २०८० मा भएको यो ऐनको संशोधनले ‘विकासका लागि वित्तको चौथो अन्तर्राष्ट्रिय सम्मेलन’का सहभागी बनाएर स्पेन लैजाने गिरोहमाथि अनुसन्धान गर्ने बाटो खुला गर्ने उनी बताउँछन् । संशोधिन ऐनको दफा ४ मा रहेको ‘मानव बेचबिखन र ओसारपसार गरेको मानिने’ शीर्षकको उपदफा २ (ग) मा मानव तस्करीबारे व्याख्या गरिएको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै गैरकानूनी लाभ वा अन्य फाइदा लिने उद्देश्यले बदनियतपूर्वक कुनै नेपाली नागरिक, विदेशी वा आप्रवासी व्यक्तिलाई नक्कली वा झुठ्ठा कागजात बनाई वा झुक्याई विदेश लेजाने वा त्यस्तो व्यक्तिको आफ्नो मुलुक वा निज रहेको स्थानबाहेक अन्य मुलुकमा गैरकानूनी रुपमा प्रवेश गराउने मानव तस्करी सम्बन्धी कार्य गरे वा गराएमा’ मानव ओसारपसार गरेको मानिने भनिएको छ । असुलीपछि नक्कली कागजात तयार गरेर विभिन्न गैरसरकारी संस्था (एनजीओ) सँग आबद्ध भएको व्यक्ति बनाउँदै यूरोप पठाइएका कारण यसमा मानव तस्करीको मामिलामा अनुसन्धान गर्न सकिने ती अधिकृत बताउँछन् । कोही मान्छे अवैध बाटोको प्रयोग गरेर गलत उद्देश्यका साथ विदेश जान्छ, भिजिट भिसाको नाममा गएर त्यहीँ हराउँछ वा त्यो भए वापत जोखिम हुनसक्छ भन्ने पहिल्यै जानकारी हुँदा हुँदै पैसा बुझाइरहेको छ भने त्यो नै मानव तस्करी हो’, ब्यूरोमा काम गरेका पूर्वप्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थी भन्छन्, ‘रकम बुझाएर पनि जान पाएकाले समेत आफूहरु ठगीमा परेको भन्दै उजुरी दिए भने पनि त्यो बेग्लै अनुसन्धानको विषय बन्छ । स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाईसम्म चलेको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्तिहरु विदेश पठाइएका थिए । १४ असारमा प्रधानमन्त्री केपी शर्मा ओली समेत स्पेनका लागि उडेकै विमानमार्फत मड्रिड पुगेका एक युवाका अनुसार, असुली गरेर नेपाली युवालाई विदेश लगिएको विवरणसहित समाचारहरु आएपछि हालै उनीहरुलाई विचौलियाले समेत सम्पर्क गरेका छन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार