सकस सल्टाउन माधवले खोजे वामदेवको साथ…..

काठमाडौं –      वामदेव गौतम कता जालान् भन्ने अपेक्षा, आशंका लम्बिंदै जाँदा यो जिज्ञासाप्रति आकर्षण समेत घट्न थालिसकेको थियो । कहिले च्यासलमा केपी ओलीसँग एक्लाएक्लै वार्ता, कहिले कोटेश्वरमा माधवकुमार नेपालसँग लम्बेतान संवादहरुकै सिलसिला टुंग्याउँदै गौतमले राजनीतिक बाटो समाएका छन् । यो संयोगकै कुरा हो, कुनै बेला नेपाल एमालेको प्रमुख रहेका बेला उनीसँग विवाद मच्चिएर पार्टी नै विभाजन गरेका गौतम अन्तत: २८ वर्षपछि उनै नेपालले एमालेबाट विभाजन गरेको नेकपा एकीकृत समाजवादीमा समाहित हुन हस्ताक्षर गरेका छन् । अनि नेपालचाहिं आफ्नो निरन्तर चुनौतीपूर्ण राजनीतिको सबैभन्दा सकसपूर्ण अवस्था झेलिरहेका बेला गौतमको साथ खोजिरहेका छन् । गौतम र एकीकृत समाजवादीका अध्यक्ष नेपालले शुक्रबार (२७ असारमा) संयुक्त वक्तव्य मार्फत पार्टी एकता गर्ने निर्णय सार्वजनिक गरेका छन् । वक्तव्य बमोजिम २ साउनमा राष्ट्रिय सभा गृहमा भव्य समारोह गरी पार्टी एकताको घोषणा हुनेछ । एकताका बारेमा थप जानकारी उक्त वक्तव्यमा उल्लेख छैन । नेताहरुका अनुसार पार्टी एकता भनिए पनि गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई एकीकृत समाजवादीमा समाहित गर्न लागिएको हो । र, गौतमले उक्त पार्टीमा तेस्रो वरीयता पाउनेछन् । एमाले हुँदै पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल गौतम भन्दा सिनियर नेता भएकाले उनले पाउने वरीयता स्वाभाविक हो । गौतमले पाउने तेस्रो वरीयतामा सहमति पनि धेरै अगाडि टुंगिएको हो । पार्टी एकता गरौं भनेर कम्तीमा २० पटक वार्ता भयो होला, उत्तिकै पटक सहमति पनि गरियो होला’ एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडा भन्छन्, ‘तर केपी ओलीले हामीबीच हुने सहमतिलाई बिथोल्ने काम गरिरहँदा समस्या थियो । तत्कालीन नेकपा विभाजन पछि कतै नलागेर आफ्नै नेतृत्वमा एकता अभियान चलाएका गौतमले पनि एमाले र एकीकृत समाजवादीसँग समानान्तर वार्ता गर्दै आएका थिए । कहिले एमालेतिर समाहित हुने सहमति गर्थे त कहिले एकीकृत समाजवादीसँग । गत माघ तेस्रो साता प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँग भेटेपछि गौतमले प्रसन्न हुँदै एमालेमा फर्कन नपाए खेतीपाती गरेर बस्ने बताएका थिए । तर ओलीसँग भएको सहमति बमोजिम एमाले बैठकले निर्णय गरेन । ‘सहकार्य मात्रै गर्ने’ निर्णय गरी एमालेले गौतम नेतृत्वको पार्टीसँग एकता नहुने सन्देश सार्वजनिक गरिदियो । यसपछि गौतम थप अविश्वासिलो र हाँसोको पात्र बने । ‘जसले छिटो बोलाउँछ, उतै जान्छु’ जस्तो अभिव्यक्तिले उनी झनै हलुका भए । पार्टी एकता गर्ने भनेर पटकपटक सहमति गर्ने, तर फेरि अनेक बहाना बनाएर पछि हट्न थालेपछि एकीकृत समाजवादीले पनि वास्ता गर्न छोडेको थियो । अहिले दुवैतर्फका पार्टीपंक्तिलाई झुक्याउनेगरी पार्टी एकताको निर्णय सार्वजनिक भएको छ । गौतम नेतृत्वको एकता अभियानका महासचिव डीबी कार्की यसपटकको निर्णयबाट पछि नहट्ने बताउँछन् । यसपटकको सहमतिबाट चाहिं हामी पछि हट्दैनौं । दुई जना अध्यक्षले हस्ताक्षर गरिसक्नुभयो, अब जो पछि हट्छ ऊ गलत ठहर्छ’ कार्की भन्छन्, ‘दुई अध्यक्ष उभिएकाले पनि यस पटकको सहमतिलाई विश्वास गर्नुपर्छ । उनका अनुसार एकताका अरु एजेण्डामा भने केही निर्णय भएको छैन । ‘हामीले १ गते (साउन) बैठक बोलाएका छौं । त्यही बैठकले कसरी मिल्ने भन्ने निर्णय हुन्छ । तर अब धेरै कुरा त उतै गएपछि होला’, उनी भन्छन् । अर्थात् यसअघि गौतमले लिएका सार्वजनिक अडानबारे कुनै सहमति जुटेकै छैन । एकीकृत समाजवादीसँग एकताको सहमति गर्दा यसअघि गौतमले जनताको बहुदलीय जनवाद (जबज) छोड्न नहुने लगायत कतिपय सैद्धान्तिक एवं संगठनात्मक अडान राखेका थिए । ती कुनै पनि शर्तहरु माथि छलफल र सहमति जुटेको छैन ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार