पोखरा – ४० वर्षभन्दा पुरानो फैसला देखाउँदै पोखरा–१६ दीपको लिची बगैंचा बारीका रुपमा चिनिएको जग्गा हडप्ने चलखेल भएको छ । तत्कालीन राजाले राणाहरुलाई बिर्ता दिएको जग्गा पछि कीर्ते गरी अर्कैको नाममा गएको भन्दै २०३१ सालमा अदालतमा परेको मुद्दाको फैसला बोकेर करिब १ सय १० रोपनी जग्गा हत्याउन चलखेल भएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग घुस डिल गरेको प्रकरणमा मुछिएका सुजन लामा नाम गरेका व्यक्तिकै अगुवाइमा पोखराको लिचिबारी हडप्ने चलखेल पछिल्लो समय चलिरहेको थियो । जग्गा हत्याउनकै निम्ति मालपोतकै प्रमुख नै फेर्ने प्रपञ्च चलेको थियो । ३ जना कर्मचारीलाई विचौलिया लामाले नै सरुवा गराएर मालपोत कार्यालय कास्कीमा पत्र देखाउँदै शक्ति प्रदर्शन गरेका थिए । पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरिरहेको छ, मन्त्रीज्यू । हामी यहाँ हेरेर यसरी बसेर हुन्छ ?’ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग विचौलिया सुजन लामाले भनेको सार्वजनिक अडियोमा सुनिएको छ । उनले पोखराको जग्गाले हेरिरहेको भनेको यही लिचीबारी हो । जुन जग्गा हत्याउन लामाले हकदार खडा गर्नेदेखि राजनीतिक शक्तिको आडमा कर्मचारीलाई दबाब दिनेदेखि कर्मचारी सरुवासमेत गराएका थिए । अहिले विभिन्न व्यक्तिहरुले पुर्जासहित भोकचलन र खरिदबिक्रीसमेत गरिरहेको लिचीबारी पुरानो फैसला अनुसार फिर्ता ल्याउने नाममा हकदार खडा गर्ने, मालपोत कास्कीमा कागजातसहित निवेदन दिने र मन्त्रीदेखि विभिन्न नेताहरुसँगको आडमा हत्याउन दबाब दिने काम लामाले नै गरेका हुन् । पोखराको दीपमा रहेको केआइसिंह पुल कटेर बाटुलेचौर जाने बाटोमै देखिन्छ, लिचीको बगैंचा । अन्य ठाउँमा तीव्र सहरीकरण भइरहेको भए पनि त्यो ठाउँमा भने लिचीबगैंचा र खेतीपाती लगाइरहेको जग्गा देखिन्छ । त्यहाँ तल्लो लिचीबारी र माथिल्लो लिचिबारी भनेर चिन्ने गरिएको छ । अहिले त्यहाँ विभिन्न मानिसहरुले जग्गा खरिदबिक्री गरिरहेका छन् भने त्यहाँ अधिकाशंको आफ्नै लालपुर्जासमेत छ । २०५९ सालमा नयाँ नापी आएर हालसाविक गरेको, पुर्जा स्रेस्ता कायम भएको जग्गा हडप्ने खेल भइरहेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी नै दिएका छन् । स्थानीयले केही शंकास्पद व्यक्तिले आफूहरुको घरजग्गामा घुम्ने, धर्काउने, धम्क्याउने काम गरेको भन्दै सुरक्षा मागसमेत गरेका छन् ।
अहिले २५ राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाऔंला:
अदालतको फैसलाअनुसार दुर्गादेवीको नामको जग्गा फिर्ता ल्याउने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएको कर्मचारीलाई दबाब दिने, मन्त्री र नेताहरुसँगको सम्बन्ध र शक्तिको दुरुपयोग गर्ने नेतृत्व लामाले गरेका हुन् । लोकदिव्यश्वरी नाममा जग्गा ल्याउने भन्दै कसरत गर्ने तथा हकदार खडा गरेर मालपोत कार्यालय कास्कीमा निवेदन दिने फेरि अर्को गिरोह छ । ओखलढुंगा घर भइ पोखरा बस्ने प्रकाश दाहाल, नेकपा माओवादी केन्द्रका पर्वतका संयोजकसमेत रहेका उमाकान्त भुर्तेल र पोखरामा निजी विद्यालयसमेत चलाएका देव मल्लले लोकदिव्यश्वरीको नाममा रहेको जग्गा फिर्ता ल्याउने भन्दै चलखेल गरेको आरोप छ । राजनीतिक शक्तिसमेत जोडिएर गर्न खोजिएको यो प्रपञ्चमा सबैभन्दा बढी दाहाल खटिएका थिए । दुर्गादेवी र लोकदिव्यश्वरी दुबै जनाको हकदार खोजेर जग्गा हडप्न प्रपञ्च गर्दै यिनै दुई समूहले मालपोत कार्यालय कास्कीमा निवेदनसमेत दिएका हुन् । दुर्गादेवीको नाममा तत्कालीन अदालतले उल्लेख गरेको नक्सा नम्बर २५, २६ र २८ नम्बरको जग्गा पाउन हकदार खडा गरिएको हो । यस्तै गरी लोकदिव्यश्वरीको नाममा कायम गर्न अदालतले गरेको फैसलाअनुसार नक्सा नम्बर २, १२, २०, २१, २२ र २७ को जग्गा हत्याउन विचौलिया प्रकाश दाहालको नेतृत्वमा चलखेल भएको कार्यालयको भनाइ छ । दुर्गादेवीको जग्गा हात पार्न नातिनी बुहारी गीतादेवी शाह, नाति सुरज शाह ठकुरी, भीमसेन शाह, सुनील शाहलाई हकदारको रुपमा खडा गरिएको छ । २०३१ सालमा सुरु कास्की जिल्ला अदालत र २०४० सालमा तत्कालीन पश्चिमाञ्चल अदालतले गरेको आदेशबमोजिम जग्गा कायम गर्ने भनिएकी दुर्गादेवीको २०५९ वैशाख ५ गते मृत्यु भएको निवेदनमा उल्लेख गरिएको छ ।साभार : अखप












