काठमाडौं – सत्ता सन्चालक नेकपा एमालेका लागि आफ्ना वैचारिक गुरु मदन भण्डारीको जन्मजयन्ती मनाउने कुरा जहिले पनि उल्लासको क्षण बन्ने गर्थ्यो । आगामी जयन्ती भने पार्टी संस्थापनका लागि चुनौतीपूर्ण क्षण बन्ने संकेत सुरु भएका छन् । यसको छनक मंगलबार मिल्यो, जहाँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समिति सार्वजनिक गरियो । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल संयोजक रहेको समितिमा सुशील प्याकुरेल र गणेशमान गुरूङ सह–संयोजक अनि भेषराज अधिकारी सचिव छन् । ७२ जनाको नामावली सार्वजनिक गरिएको यो समितिमा अरु सदस्य थपिंदै जाने जानकारी दिइएको छ । फाउण्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिवादित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) बारे विमर्श गर्नु यो समितिको उद्देश्य रहेको बताएकी छन् । यस सिद्धान्तको आलोकमा सम्पादित कार्यहरूले जनताको मन जितिरहेका छन् र यस सिद्धान्तको कार्यान्वयन गरिरहेको पार्टी नेकपा एमाले विस्तारित र लोकप्रिय बनिरहेको छ’ अध्यक्ष भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘तर सिद्धान्तले अवलम्बन गरेको लक्ष्यको सापेक्षतामा संगठन सुदृढीकरण अभियान सशक्त बन्न सकेको छैन । विस्तार र सबलताको लागि जननेताको योगदान र जबजको प्रचार अति आवश्यक छ । मदन भण्डारीको हीरक जयन्ती विशेष यो समितिको संरक्षकमा पूर्वराष्ट्रपति भण्डारी एक्लै छिन् । सल्लाहकारहरूमा महेन्द्रबहादुर पाण्डे, सोमनाथ अधिकारी प्यासी, युवराज कार्की र बाचस्पति देवकोटा छन् । अर्थात् यो समितिले जबज, एमाले र एमालेभित्रको राजनीतिक कोर्सबारे विमर्श गर्ने लक्ष्य लिएको देखिन्छ ।
ओलीलाई अर्को चुनौती:
११औं राष्ट्रिय महाधिवेशनबाट एमाले अध्यक्ष बन्न कस्सिएकी पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई बुझिनेगरी दबाब बढाएकी छन् । आजको पत्रकार सम्मेलनमा त भण्डारीले ओलीको विकल्पमा एमालेभित्र अरु थुप्रै नेता रहेको बताइन् । ओली विनाको एमाले’ कल्पना नगर्न ओलीले केही दिनअगाडि चेतावनी दिएका थिए । यो प्रसंग पत्रकारहरूले भण्डारी समक्ष राखेका थिए । जवाफमा भण्डारीले एमालेभित्रै थुप्रै विकल्प रहेको बताएकी हुन् । एउटा दर्शन, सिद्धान्त, विचार, नीति र कार्यक्रमले पार्टी चलेको हुन्छ । कहिलेकाहीँ व्यक्तिहरूको अभाव हुन सक्दछ’ भण्डारीले भनिन्, ‘तर हामीसँग थुप्रै योग्य व्यक्तित्वहरू हुनुहुन्छ भन्ने आशा राखेर नै हामीहरू अगाडि बढ्नुपर्छ । मदन भण्डारीको रहस्मय निधनपछि पनि एमाले अगाडि बढेको समेत उनको तर्क थियो । ‘जबजलाई सूत्रीकरण र सिद्धान्तका रुपमा मदन भण्डारीले प्रस्तुत गर्नुभयो, त्यसलाई लागू गर्न पाउनु भएन, रहस्यमय निधन भयो’ उनले भनिन्, ‘तर पनि पार्टी अगाडि बढ्यो, पार्टीले आफ्नो सिद्धान्त अनुसार बढ्दै जाँदा यो ठाउँसम्म आइपुगेको छ । अर्थात् मदन भण्डारीकै रहस्यमय निधन हुँदा पनि सिद्धान्तकै जगमा एमाले अगाडि बढेकाले कुनै व्यक्ति विशेषलाई आधार मानेर व्याख्या नगर्न नहुने सन्देश दिइन् । आजको एमालेभित्र ओलीलाई यो तहको जवाफ दिने हैसियत अरु नेताले राखेका थिएनन् । यही पत्रकार सम्मेलन मार्फत् भण्डारीले आगामी केन्द्रीय कमिटी बैठकका निम्ति आफ्नो सुझाव पनि राखेकी छन् । आगामी ५ साउनमा तोकिएको केन्द्रीय कमिटीले आफूलाई जिम्मेवारी दिने अपेक्षा भण्डारीले राखेकी छन् । महाधिवेशन अगाडि केन्द्रीय कमिटी नै सर्वोच्च अंग हुन्छ, केन्द्रीय कमिटीले के जिम्मेवारी दिन्छ कस्तो निर्णय लिन्छ त्यसमा भर पर्छ भन्ने जानकारी गराउँछु’, पत्रकारहरूलाई पूर्वराष्ट्रपति भण्डारीले भनिन् । विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीलाई सहभागी नै नगराउने एमालेका कतिपय नेताहरूको अभिव्यक्तिप्रति बुझिनेगरी आक्रोश पनि व्यक्त गरेकी छन् । दशौं महाधिवेशनका प्रतिनिधिहरू नै विधान महाधिवेशनको प्रतिनिधि हुने भएकाले भण्डारीले सहभागिता जनाउन नसक्ने एमाले महासचिव शंकर पोखरेलले बताउँदै आएका छन् । विधानत: पोखरेलले बोलेको सही भएपनि दशौं महाधिवेशनपछि मनोनीत केन्द्रीय सदस्य, जिल्ला र जनसंगठनहरूमा आएको नेतृत्वबारे पार्टीले छलफल गर्नुपर्ने भण्डारीले माग राखेकी छन् । ‘नयाँ आएकाहरूको प्रतिनिधित्व कसरी हुन्छ ? त्यसबारेमा केन्द्रीय कमिटीमा छलफल हुन सक्छ, यहाँबाट मैले यही सल्लाह दिन सक्छु’ उनले भनिन्, ‘अब मेरो उपस्थिति कसरी गराउनु हुन्छ, त्यो चाहिँ केन्द्रीय कमिटीमै भर पर्ने कुरा हो । पत्रकारहरूलाई जवाफ दिने क्रममै प्रतिनिधि सभा विघटनको सन्दर्भ पनि उठेको थियो । तर दुईदुई पटक प्रतिनिधि सभा विघटन गर्ने निर्णयको राजनीतिक जवाफ उनले दिइनन् । भनिन्, ‘यसले पछ्याइरहनेछ भन्नेमा जानकार नै छु, संसद विघटनका कुरा ।साभार : अखप












