काठमाडौं – केही वर्षअगाडि अमेरिकामा कक्षा ३ मा अध्ययनरत मेरी छोरीको प्रथम त्रैमासिक परीक्षाको नतिजा आउने दिन म अभिभावकको रूपमा उनको विद्यालय गएको थिएँ। ३० जना विद्यार्थी अध्ययनरत उनको कक्षामा उनकी क्लास शिक्षिकाले कक्षाभरिको नतिजा देखाउँदै भनिन्- ३० जनामध्ये हामीले विद्यार्थीलाई चार समूहमा बाँडेका छौं। जसमध्ये ५ जना औसतभन्दा धेरै माथि अर्थात् अहिले नै कक्षा तीनभन्दा माथिको कक्षामा पढ्न सक्ने खुबी भएका छन्। १० जना औसत भन्दा अलिकति माथि र अन्य १० जना औसत छन् अर्थात् यी दुवै समूह तीन कक्षाकै लागि ठिक छन्। बाँकी ५ जना औसतभन्दा अलिकति तल रहेको हुनाले यिनीहरूले ३ कक्षाकै तहमा आउन थोरै मिहिनेत गर्नुपर्नेछ। यीमध्ये तपाईंकी छोरी कक्षा ३ कै तहको लागि ठीक छिन् र औसत भन्दा अलिकति माथि रहेका १० जनामा पर्छिन्। ती शिक्षिकाले कुन विद्यार्थी कक्षामा प्रथम, द्वितीय वा तृतीय हुन् भन्ने कुरा गरिनन्। उनले प्रत्येक विद्यार्थीको समष्टिगत स्थानको मात्र कुरा गरिन्। हामीलाई दिएको छोरीको प्राप्ताङ्क मध्येमा उनको परिपक्वता, उनले अन्य साथीहरूलाई गर्ने सहयोग, अरूसँग सहयोग माग्न सक्ने उनको खुबी, आफ्ना साथीहरूसँग सामूहिक रूपमा मिलेर काम गर्न सक्ने दक्षता (टिम-वर्क) जस्ता कैयौं व्यक्तिगत र सामाजिक जीवनमा आवश्यक पर्ने दक्षताहरू समावेश थियो। विद्यार्थीलाई विषयगत प्राप्तांक मात्र होइन, उनीहरूको जीवनमा आइपर्ने अत्यन्त आवश्यक सीप र दक्षताको आधारमा मूल्याङ्कन गरिएको थियो। दोश्रो उदाहरण, अमेरिकाको ग्रीष्मकालीन २-३ महिनाको छुट्टीमा विद्यार्थीले विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिने हुनाले केही नेपाली विद्यार्थी पनि महिला फुटबल टोलीमा समावेश थिए। कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई समावेश गरिएको उक्त महिला फुटबल टोलीको अन्तिम दिन विद्यार्थीलाई प्रमाणपत्र दिने कार्यक्रम थियो। कार्यक्रम सुरु हुनभन्दा अगाडि फुटबलका कोचले ढिला नगरी सिधै विद्यार्थीको नाम बोलाउँदै पुरस्कार वितरण गर्न शुरु गरे। हामीले सिक्नुपर्ने पाठ के हो भने शिक्षाको प्रमुख उद्देश्य उनीहरूको प्रतिभा पहिचान गर्नु, उनीहरूमा भएको विशेष दक्षतालाई मलजल र प्रोत्साहन गर्नु हो। हामीले साधारणतया सोच्ने गरे जस्तै त्यहाँ सबैभन्दा बढी गोल गर्ने वा गोल रोक्ने खेलाडीले मात्र पुरस्कार पाएनन्। प्रशिक्षकले टिमका सबै जनालाई समग्रमा राम्रो खेल्ने, गोल गर्ने र गोल रोक्ने लगायत सबैभन्दा मिहिनेती, सहयोगी, टिम स्पिरिट (समूहमा खेल्ने भावना) भएको, आफ्ना साथीहरूलाई प्रोत्साहन गर्ने जस्ता प्रत्येक खेलाडीको विशेषता पत्ता लगाएर पुरस्कृत गरे। यसले प्रत्येक खेलाडीलाई एकप्रकारको प्रेरणा, प्रोत्साहन र आत्मसम्मान दियो। यसबाट हामीले सिक्नुपर्ने पाठ के हो भने शिक्षाको प्रमुख उद्देश्य उनीहरूको प्रतिभा पहिचान गर्नु, उनीहरूमा भएको विशेष दक्षतालाई मलजल र प्रोत्साहन गर्नु हो ।साभार : अखप












