काठमाडौं – संयुक्त राष्ट्रसंघीय कार्यक्रम ‘विकासका लागि वित्तको अन्तर्राष्ट्रिय सम्मेलन’को सहभागी बनाएर युरोप प्रवेश गराउन खोजिएका ५५ जनामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोधपुछ थालेको छ । गैरसरकारी संस्थाको नक्कली प्रतिनिधि बनाएर सहभागीताका लागि आवेदन दिई युरोपियन मुलुक प्रवेश गर्न मिल्ने सेन्जेन भिसा पाएका उनीहरूको विवरण झिकाएर छानबिन अघि बढाइएको हो । भारतको नयाँ दिल्लीमा रहेको स्पेनिस दूतावासबाट भिसा प्राप्त गरेर अन्तिम समयमा रद्द भएकाहरूको विवरणमा उल्लेखित उनीहरूसँग नेपाल प्रहरीले गठन गरेको छानबिन समितिले सोधपुछ गरिरहेको एक उच्च प्रहरी अधिकृतले अनलाइनखबरलाई बताए । छानबिन समितिले सार्वजनिक रुपमा नाम आएका ५५ जनाको व्यक्तिगत विवरण राहदानी विभागसँग माग गरेको थियो’, ब्युरोका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘त्यसका आधारमा सम्पर्क गर्दै बोलाउन थालिएको छ, केहीसँग सोधपुछ समेत भइसकेको छ । अधिकृतहरूका अनुसार, ५५ जनाको सूचीमा रहेकामध्ये अधिकांश राजधानीबाहिरका छन् । तीमध्ये कतिपयको फोन स्वीच्ड अफ छ । केहीले जिल्लाबाहिरबाट आउन समय लाग्ने बताएका छन्’, ती अधिकारीले भने, ‘छानबिन समितिले सबैलाई सोधपुछको दायरामा ल्याउँछ । ३० जुनदेखि २ जुलाई २०२५ सम्म चलेको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा एउटा टोली १४ असारमा स्पेनतर्फ प्रस्थान गरेको थियो । ओली गएकै विमानमा समेत असम्बन्धित युवा सेभियामा आयोजित कार्यक्रममा सहभागी हुने भन्दै गएका थिए, जो फर्किँदै फर्किएनन् । अधिकृतहरूका अनुसार, ओली नेतृत्वको प्रतिनिधि मण्डलमा भएका सदस्यहरू सबै फर्किएको पाइए पनि सोही समयमा गएका अरु युवा नफर्किएको पाइएको छ । ओली स्पेनका लागि उडेको भोलिपल्ट खानेपानीमन्त्री प्रदीप यादवसहित केही अधिकारीहरू कार्यक्रममा सहभागी हुन स्पेन गएका थिए । त्यस दिन एयरलाइन्सका कर्मचारीहरूलाई ५५ जना नेपाली युवाको सूची आएको थियो, जसलाई शंकास्पद भनिएको थियो । राति विभिन्न एयरलाइन्सबाट स्पेन दूतावासबाट प्राप्त भिसा भएका २५ जना यात्रुहरूलाई उतारिएको थियो, ती सबैले यूएन सम्मेलनमा सहभागी हुन सेभिया जाँदैछौं भनेर दाबी गरेका थिए’, एयरलाइन्सका अधिकारीहरूलाई पठाइएको सूचनामा भनिएको छ, ‘तीमध्ये केहीले नक्कली एनजीओको पत्र त केहीले सम्मेलनमा भाग लिन नै नक्कली पत्र बोकेका थिए । भिसा भएकामध्ये कतिपयले आफू किन स्पेन जान लागेको भन्ने समेत स्पष्ट जानकारी दिन नसकेको भनिएको थियो । केही यात्रुले अंग्रेजी समेत राम्रोसँग बोल्न नसकेको उल्लेख छ । काठमाडौंबाट जान नसकेपछि केहीले भारतको नयाँ दिल्लीबाट उड्ने प्रयास गरेको सूचनामा उल्लेख भएकोबारे अनलाइनखबरले २७ असारमा समाचार लेखेको थियो । शंका लागेपछि दिल्लीस्थित स्पेनिस दूतावासलाई खबर गर्दा ५५ जनाको सूची आएको अधिकारीहरू बताउँछन् । त्यही सूचीका आधारमा छानबिन समितिले प्रारम्भिक जाँच अघि बढाएको हो । विस्तृत अनुसन्धानका लागि चाहिँ स्पेनको दूतावाससँगै विवरण माग गरिएको छ ।साभार : अखप












