काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अब कुनैपनि सम्झौता नहुने बताएका छन् । कर्णालीका केन्द्रीय सदस्यहरुलाई शनिबार राति बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले पार्टीभित्र उत्पन्न समस्याबारे लामै ब्रिफिङ पश्चात् निर्देशन दिएका थिए । ‘तीन घण्टा जति छलफल भयो, पहिले नेताहरुबाट ब्रिफिङ लिएपछि अध्यक्ष कमरेडले दुई घण्टा लामो कुरा राख्नुभएको थियो’, त्यो छलफलमा सहभागी एक नेता भन्छन् । कर्णालीबाट केन्द्रीय कमिटीमा रहेका २७ मध्ये २२ नेता सहभागी बालुवाटारमा भएको छलफलमा ओलीले आफ्नो कुरा झापा विद्रोहका सन्दर्भबाट थालेका थिए । ‘विद्रोहकालीन कुराहरु भन्न आधा घण्टा खर्चनुभयो, त्यसपछि पूर्वराष्ट्रपतिबारे भएका कुराहरु सुनाउनुभयो’, स्रोतले भन्यो । भण्डारीलाई आफूले नै राष्ट्रपति बनाएको पृष्ठभूमि सम्झँदै ओलीले त्यसैबेला फेरि राजनीतिमा फर्कन नमिल्ने परिस्थिति जानकारीमा रहेको बताएका थिए । ‘माधव नेपाललाई प्रस्ताव राखेँ । तर फर्केर फेरि राजनीतिमा आउन पाइँदैन भन्दै उहाँले मान्नुभएन’, प्रधानमन्त्री ओलीले यो कुरा माधव नेपालसँग समेत बुझ्न सकिने बताएका थिए । झलनाथ खनालले पनि माधव नेपालकै जस्तो जवाफ दिएको उनले बताए । सक्रिय राजनीतिमा फर्कन नपाइने भनेरै माधव र झलनाथले राष्ट्रपति हुन नमानेको ओलीले बताए । ‘अब माधव नेपाल र झलनाथ खनालले बुझेको कुरा विद्याजीले नबुझ्ने भन्ने त हुँदैन’, ओलीले भने, ‘माधव भन्दा १० वर्ष कान्छो विद्याजीले बुझेरै जानुभयो । सक्रिय राजनीतिमा फर्कन नपाइने भएकैले विद्या भण्डारीलाई दोस्रोपटक पनि राष्ट्रपति बनाउन आफूले जोड गरेको ओलीले बताएका थिए । विद्याजीलाई दोस्रोपटक बनाउने म क्याम्पेनियर हुँ । झलनाथजीले रहर गरेपनि मैले नै अर्को पाँच वर्ष हुन दिनुपर्छ भनेको थिएँ’, ओलीको भनाइ उदृत गर्दै अर्का केन्द्रीय सदस्यले भने । तर अस्ति ३ असारमा बालुवाटार आएर पूर्वराष्ट्रपति भण्डारीले आफूलाई तथ्यहीन आरोप लगाएको ओलीले नेताहरुलाई बताएका थिए । ‘थाहा छैन, कसले उकास्ने काम गरिरहेको छ’, ओलीले भने, ‘साँझ साढे ६ बजेदेखि साढे १० बजेसम्म कुरा गर्दा उहाँले मलाई अलोकप्रिय हुनुभयो भन्नुभयो । हाँकाहाँकी अब छोड्नुस् भन्नुभयो । तर भण्डारीले भनेजस्तो आफ्नो लोकप्रियता नघटेको र पार्टीलाई स्वीकार्य बनाउँदै लगेको तर्क ओलीले गरे । चर्को घेराबन्दी बीच पार्टीलाई एउटा पोजिसनमा पुर्याएको, देशीविदेशी शक्ति लगाएर सत्ताबाट हटाएको तीन वर्ष नपुग्दै एमालेलाई सबै दलहरुले स्वीकार्ने शक्ति बनाएको ओलीले बताएका थिए । विद्या भण्डारीलाई आफूले दिएको जवाफ पनि ओलीले सुनाएका थिए । ‘नेतृत्व हस्तान्तरण भनेको राखेको ठाउँबाट झिकेर लैजाने कुरा होइन । मर्यादामा तपाईं (विद्या भण्डारी) माथि हो, तर तपाईं भन्दा धेरै सिनियर नेताहरु पार्टीमा हुनुहुन्छ’, विद्यालाई दिएको जवाफ ओलीले सुनाएका थिए, ‘अहिले शेरबहादुर देउवा किन बलियो हुनुहुन्छ भने उहाँलाई अरुले मानेका छन् । मैले छोड्दैमा तपाईंलाई अरुले छोड्छन् भन्ने छैन ।साभार : अखप












