पोखरामा भेटिएका हायू परिवार भन्छन्…..

काठमाडौं –      सिन्धुलीको गोलोन्जर गाउँपालिका–६ छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्ने उर्मिला हायूको परिवारका १६ जना अन्तत: पोखरामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार, पोखरा महानगरपालिका–३० स्थित दुई वटा घरमा बाँडिएर बसेको अवस्थामा उनीहरू भेटिएका हुन् । गत शनिबार नै पोखरा पुगेका उनीहरू उक्त दिन लेकसाइडस्थित होटल जननीमा पुगेका थिए । होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार, सो दिन उनीहरू तीन वटा कोठा लिएर बसेका थिए । उनीहरू आइतबार नै त्यहाँबाट निस्किएका थिए । (सोमबार) बिहान एकै परिवारका १६ जना बेपत्ता भएको खबर अनलाइनखबरले प्रकाशित गरेको थियो । त्यसपछि प्रहरी, प्रशासन, स्थानीय जनप्रतिनिधिसहितको टोली खोजी कार्यका लागि सक्रिय भएको थियो । अन्तत: साँझ उनीहरू पोखरा पुगेको भेटिए । अहिले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सोधखोज गरिरहेको छ । उनीहरू इलाका प्रहरी कार्यालय सिसुवाको सम्पर्कमा रहेको एसपी ओलियाले बताए । प्रहरी स्रोतले बताए अनुसार, उनीहरूले सिन्धुलीको उक्त घरमा आफूहरू बिरामी पर्न थालेपछि नयाँ ठाउँको खोजीका लागि पोखरा पुगेको बताएका छन् । सिन्धुलीको त्यो ठाउँमा हामी बिसन्चो भइरहेने भएको कारणले हामी नयाँ ठाउँमा आएका हौं भनेका छन्,’ प्रहरीसमक्ष उनीहरूले बताएका छन् । पटकपटक बिरामी पर्ने र उपचारका लागि अस्पताल जान पनि असहज भएपछि त्यहाँबाट हिँडेको उनीहरूले प्रहरीलाई बताएका छन् ।

सिन्धुली फर्कन छैनन् तयार:

प्रहरीका अनुसार, उनीहरूले सिन्धुली फर्कन तयार नभएको बताइरहेका छन् । ओलीया भन्छन्, ‘उहाँहरू सिन्धुली फर्कन तयार हुनुहुन्नँ ।’ आफूहरूलाई सिन्धुलीको उक्त क्षेत्रभन्दा अन्यत्र नै बस्ने व्यवस्था मिलाइदिन उनीहरूले आग्रह गरेका छन् । हामी यतै बस्छौं । उता, जाँदैनौं,’ हायू परिवारका सदस्यको भनाइ उद्धृत गर्दै ओलियाले अनलाइनखबरसँग भने ।

ज्यामी काम गर्ने भन्दै लिएका थिए शरण:

सिन्धुलीका उक्त परिवारका सदस्यहरू पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँमा भेटिएका थिए । स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएका हुन् । दुईवटा घरमा बाँडिएर बसेका रहेछन्,’ एसपी ओलियाले भने । उनीहरू आफूहरू ज्यामी काम गर्नका लागि आएको भन्दै पौडेल र भण्डारीको घरमा बसेका थिए । हामी ज्यामी काम गर्न आएका हौं भन्दै उहाँहरू ती घरमा बस्नुभएको रहेछ,’ ओलियाले भने ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार