विद्या भण्डारीबारे छलफल नगर्न निर्देशन…..

काठमाडौं –     नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा थप छलफल र बहस नगर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । गत ६–७ साउनमा सम्पन्न नवौं केन्द्रीय कमिटी बैठकको निर्णय समेत संलग्न गरेर आइतबार साँझ जारी अपानि–१२, मार्फत् पूर्वराष्ट्रपति भण्डारीका बारेमा थप छलफल नगर्न निर्देशन दिइएको हो । पछिल्लो समयमा सम्माननीय पूर्वराष्ट्रपतिका नाममा पार्टी एकतालाई कमजोर बनाउनेगरी सुरु भएको बहस र विवादलाई केन्द्रीय कमिटीको नवौं बैठकले उपयुक्त निर्णय गरी समाधान गरेको छ । अब उक्त विषयमा थप छलफल र बहस गरेर सम्माननीय पूर्व राष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच आउने काम कसैले पनि गर्नु हुँदैन’, अपानिमा भनिएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकोे सम्बोधनलाई अपानिमा समेट्दै यस्तो निर्देशन दिइएको हो । पूर्वराष्ट्रपति भण्डारीबारे थप व्याख्या गर्न अपानिमा छुट्टै शीर्षक नै राखिएको छ । ‘सम्माननीय पूर्व राष्ट्रपति पार्टी राजनीतिमा संलग्न हुने सन्दर्भ’ भन्ने शीर्षक राखेर एमालेले भण्डारीबारे डेढ पेज व्याख्या गरेको छ । उक्त व्याख्यामा पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन किन रोक लगाइयो भन्ने उल्लेख छ । जहाँ राष्ट्रपति संस्थाको गरिमा जोगाउन र संविधानको भावना कार्यान्वयन गर्न एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउनु परेको तर्क गरिएको छ । अर्थात् नेताहरुले सार्वजनिक भाषणमा भन्दै आएकै कुरा राखेर अपानि जारी गरिएको छ । गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आवद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिदैन’ अपानिमा भनिएको छ । यो तर्क अनुसार पूर्वराष्ट्रपति भण्डारीले संविधानको परिकल्पना अनुसार राजनीतिमा फर्कन मिल्दैन । गणतन्त्रको गौरव र गरिमा कायम राख्नकै निम्ति एमालेले गत वर्ष पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरिएको पनि अपानिमा उल्लेख छ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार