काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मन्त्री हेरफेरका विषयमा आज छलफल हुँदैछ । छलफलको समय भने निर्धारण भइसकेको छैन । तर मन्त्री हेरफेरको एजेण्डासहित आज दिउँसो देउवासँग भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालय स्रोत बताउँछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चौथो कार्यकालको पहिलो वर्ष सकिंदै गर्दा मन्त्रिपरिषद्मा उल्लेख्य हेरफेर चाहेका थिए, जुन प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसको अनिच्छाका कारण सम्भव हुन सकिरहेको छैन। औसतभन्दा कमजोर कार्यसम्पादन भएका मन्त्री पहिचान गरेर हेरफेर तयारी गरेका प्रधानमन्त्री ओलीले यसबीचमा तिनको सूची सहित कांग्रेससँग केही चरण कुराकानी गरिसकेका छन् । तर, आफ्नो दलको केन्द्रीय कार्यसमितिकै बैठकबाट ओली सरकारको पहिलो वर्षको समीक्षा गरेको कांग्रेसले अहिले पठाइएकै मन्त्रीहरूलाई कायम राख्ने निर्णय गरेपछि उनी पछि हटेका थिए ।
मन्त्री हेरफेरका लागि ओलीका चार आधार:
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आफ्नै दलका कतिपय मन्त्रीसहित कांग्रेस र लोसपाका मन्त्रीहरू हेरफेरको मनस्थिति बनाइसकेको स्रोत बताउँछ । यही एजेन्डासहित उनले बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन् । उच्च सरकारी स्रोतका अनुसार, देउवासँग ओलीले केन्द्रीय कार्यसमितिको निर्णय पुनर्विचार गर्दै सरकारको कार्यक्षमता वृद्धिमा सघाउन आग्रह गर्नेछन् । मन्त्री फेर्ने योजना कांग्रेसको निर्णयसँग पनि सम्बन्धित छ, त्यसैले प्रधानमन्त्रीज्यूले आफैं फाइनल कुरा गर्दै हुनुहुन्छ’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘विहीबार देउवासँग बैठक हुन्छ । कांग्रेसले नाम दियो भने ठिकै छ, दिएन भने पनि केही दिनभित्रै मन्त्रिपरिषदमा आवश्यक हेरफेर हुन्छ । मन्त्री फेर्नका लागि देउवासँग बिहीबार बैठक गर्न लागेका ओलीले चार कारणलाई हेरफेरका आधार बनाएका छन् : औसतभन्दा कमजोर कार्यसम्पादन, विवादका शृंखला, सत्ता साझेदारका सरोकार, अनि आफ्नै दलभित्र पछिल्ला दिनमा देखिएको गुटगत चलखेल । ओलीले निकटस्थसँग कार्यक्षमतामा कमजोर देखिने मन्त्रीहरूमध्ये कांग्रेसका समेत भएको भन्दै तिनलाई बिदा गर्दा कांग्रेस स्वयंलाई समेत राम्रो हुने तर्क गरिरहेका छन् । देउवा आगामी पार्टी महाधिवेशन केन्द्रित समीकरणको सन्तुलनलाई ख्याल राख्दै सरकारी अवसरमा सानातिना सम्झौता गर्न खोजिरहेका छन्, जुन शैली ओलीलाई निको लागिरहेको छैन । मन्त्रिपरिषद् हेरफेर पक्का छ, अब कुर्दैनौं । कति मन्त्री फेरिन्छन् भन्ने कुरा कांग्रेससँगको विहीबारको बैठकसँग निर्भर छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।साभार : अखप












