काठमाडौं – कर्णाली विकास बैंकको सुपरिवेक्षणका लागि खटिएका राष्ट्र बैंकका कर्मचारी नै घोटालामा प्रत्यक्ष संलग्न रहेको खुलेको छ । नेपालगञ्ज केन्द्रीय कार्यालय रहेको बैंकको सवा तीन अर्ब घोटाला लुकाउन राष्ट्र बैंकको सुपरिवेक्षण विभागका तत्कालीन कामु निर्देशक भुवन बस्नेतको प्रत्यक्ष संलग्नता रहेको अनुसन्धानबाट खुलेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानको क्रममा हाल अवकाश पाएका राष्ट्र बैंकका कर्मचारी बस्नेतले अनदेखा गरेको पाइएको छ । त्यसवापत उनले आइफोन उपहार पाउनुका साथै १० लाख रुपैयाँ बुझेको अनुसन्धानको निष्कर्ष छ । उनीसहितका १११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भइसकेको छ । कर्णाली विकास बैंकको कार्यालय सहयोगीको रूपमा करारमा काम गरेका विकास विकले समेत बैंकका तत्कालीन कार्यकारी अधिकृत राजेन्द्रवीर रायको निर्देशनअनुसार बस्नेतको खातामा रकम जम्मा गरेको बयान दिएका छन् । रायले भुवन बस्नेतको माछापुच्छ्रे बैंकको खातामा नगदै रकम जम्मा गरिदिनु भनेकाले जम्मा गरेको हुँ,’ विकको बयान छ । विक बाहेक बैंकका कर्मचारी समजलाल चौधरीले समेत बस्नेतको खातामा रकम जम्मा गरेको देखिएको छ । चौधरीले करिब पाँच वर्षअघि नै बैंक छाडिसकेका छन् । सेवामा रहेका बेला बस्नेतले सुपरभाइजर भएर २०७५ वैशाखमा कर्णाली विकास बैंकको स्थलगत अनुगमन निरीक्षण गरेका थिए । तर, सो क्रममा उनले अनुमगन नगरी रकम लिएर मिलेमतोमा काम गरेको देखिएको सीआईबीको अनुसन्धानले देखाएको छ ।अनुगमन अधिकृत
बस्नेतको खातामा कर्णाली विकास बैंकबाटै १० लाख ट्रान्सफर:
नेपाल बैंकको निर्देशनअनुसार बैंकको पूँजी ५० करोड रुपैयाँ पुर्याउनु बाध्यता रहेकामा बस्नेतले उक्त पूँजी नभए पनि भएको भनेर उल्लेख गरेको बताइएको छ । त्यसका लागि संस्थापक सेयरधनी, सर्वसाधारण सेयरधनी र अन्य इच्छुकहरूबाट हिसाब मिलान गर्ने गरी कल इन एड्भान्स खातमा रकम जम्मा गर्न आह्वान गर्ने र यो कार्य गर्न व्यवस्थापनलाई अख्तियारी दिने सर्वसम्मत निर्णय गरी संस्थाको नगद सम्पत्ति समेत अपचलन गरेको देखिए पनि बस्नेतको अनुगमनले यो बारेमा आँखा चिम्लेको बताइएको छ । बैंकले जोखिम व्यवस्थापन समिति गठन गरेको भए तापनि नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अनुसूची ६.२ मा भएको व्यवस्थाअनुसार समितिको बैठक तीन महिनामा कम्तीमा एकपटक बस्नुपर्ने हुन्छ । तर १ जेठ २०७२ देखि हालसम्म बैठक नबसेको र जोखिम व्यवस्थापन समितिको पुनर्गठन समेत नभएको पाइएको छ । बैठक नै नबसी सञ्चालक समितिले संस्थाको रकम हिनामाना गरी हकप्रद सेयर लिने कार्य गरेको पाइएको सीआईबीले बताएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम पूँजी बढाएको सम्बन्धमा के-कुन माध्यम र प्रक्रियाबाट पूँजी वृद्धि गरिएको हो भन्ने विषयको स्पष्टता कतै नखुलाएको अभियोगपत्रमा उल्लेख छ । बैंक घोटालामा कर्मचारीहरूको कानुनविपरीतको कार्य ढाकछोप गरेवापत उनले पटक-पटक रकम बुझेको पाइएको छ । ६ पटकमा गरेर उनले १० लाख ८४ हजार २५० रुपैयाँ बुझेको पाइएको छ । ३ फ्रेबुअरी २०१९ मा विकास विकमार्फत १ लाख रुपैयाँ बस्नेतको खातामा डिपोजिट भएको देखिन्छ । त्यसको चार दिनपछि नै ७ फ्रेबुअरी २०१९ मा समजलाल चौधरीको नामबाट ७ लाख ४९ हजार २५० रुपैयाँ जम्मा गरेको भेटिएको छ । यसको भोलिपल्ट फेरि समजलालकै नामबाट ५० हजार रुपैयाँ जम्मा गरेको भेटिएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।साभार : अखप












