राजनीति र सेवाभित्र छुपेको चक्रेको आपराधिक चक्र…..

काठमाडौं –     सडकका ‘भिखारी’लाई रकम बाँड्दै हिँड्ने । कहिले माछालाई चारो हाल्ने । परेवाका बथानलाई आहारा खुवाउने । गाईको पूजा गर्दै केरा खुवाउने । बौद्ध स्तुपादेखि स्वयम्भू, पशुपतिनाथसम्म दर्शन गर्न गइरहने । महाकूम्भ प्रयागराजमा गएर स्नान गर्ने । देवघाटमा गएर जल अर्पण गराउने । कहिले आश्रममा गएर बाबासँग तस्बिर खिचाउने । अक्सर गलामा रुद्राक्षको माला नछुट्ने । निधारमा टिका पहिरिने । गेरु बस्त्र धारण गर्ने । जोगीको जस्तो लामो कपाल पाल्ने । ढल्कंदो उमेरका यी व्यक्तिको हुलिया र कर्म हेर्दा उनी कुनै समाजसेवी हुन् भन्ने लख काट्न मुस्किल पर्दैन । उनका यी गतिविधिले धर्मकर्ममा अचाक्ली आस्था राख्ने र समाज सेवा कटिबद्ध रहको बुझ्न सकिन्छ । आफूलाई यसरी चिनाउँदै हिँडेका यी व्यक्ति कुनै ठूला गुण्डा होलान् ? मान्छेलाई शंका गर्न पनि गाह्रो पर्छ । तर यीनै गतिविधि गर्दै हिँड्ने ती व्यक्ति अहिले गुन्डागर्दी गर्दै हिँडेको आरोपमा प्रहरी हिरासतमा छन् । ती हुन् मिलन गुरुङ उर्फ चक्रे मिलन । माथिका कुराहरूलाई आधार मान्दै चक्रे निकटका व्यक्तिहरू उनी समाजसेवी र राजनीतिज्ञ रहेको दाबी गर्छन् । बेकारमा प्रहरीले पक्राउ गरेर हिरो बन्न खोजेको आरोप उनीहरूको छ । तर चक्रेप्रति प्रहरीको बुझाई र विश्लेषण भने ठिक उल्टो छ । चक्रे मिलन सुध्रिएर मिलन गुरुङ भइसकेको झल्कने गरी उनले गतिविधि गरेको देखिए पनि उनीबाट अझै समाज नै त्रसित हुनुपर्ने अवस्था रहेको प्रहरीको बुझाइ छ । जहाँ गए पनि १०/१२ जना केटाहरू नलिई नहिँड्ने चक्रेको गतिविधि जति धार्मिक र समाजसेवी देखिन्छ, त्योभन्दा बढी समाजलाई आतंकित पार्ने खालको भित्रि प्रवृति रहेको प्रहरीको विश्लेषण छ । प्रहरी अधिकारीले भनेजस्तै चक्रेको टिकटक आईडी मिलन चक्रेमा राखिएका भिडिओहरू नियाल्ने हो भने धार्मिक सामाजिकदेखि विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा केटाहरूको जमात प्रदर्शन गरेको देख्न सकिन्छ । करिब ९० हजार फलओर्स रहेका चक्रे जहाँ गए पनि युवाहरूको हुल अघिपछि हुने गरेको उनैले राखेको भिडिओमा देखिन्छ । चक्रेकै अघिपछि हिँड्ने १९ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । समाजलाई आतंकित पार्दै त्रासमा राखेको आरोपमा चक्रे र उनका आसेपासे गरी १९ जनामाथि अहिले अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारी बताउँछन् । प्रहरीको रेकर्ड अनुसार १२ फागुन २०६७ मा प्रहरी वृत्त नयाँ बानेश्वरबाट पनि चक्रेविरुद्ध मुद्दा चलेको देखिन्छ । त्यही समयमा १३ फागुन २०६७ मा चक्रेविरुद्ध प्रहरी वृत्त महाराजगञ्जबाट पनि प्रहरी प्रतिवेदनका आधारमा मुद्दा चलेको थियो । यो बीचमा उनी लागुऔषधको केशमा पाँच वर्ष जेल तोकिएपछि जेल गए । छुटेको केही समयपछि २६ वैशाख २०७४ र ११ भदौ २०७४ मा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रतिवेदन अनुसार उनीविरुद्ध साधारण अपराधमा मुद्दा चल्यो । २१ साउन २०७१ मा गुन्डा नाइके भनेर दिनेश अधिकारी चरी प्रहरी मुठभेडमा मारिए । ३ भदौ २०७३ मा अर्का गुण्डा नाइके कुमार घैंटे (कुमार श्रेष्ठ) मारिए । गुन्डाविरुद्ध प्रहरीले कठोर नीति लिएपछि काठमाडौंमा गुण्डागर्दी भने सामसुम हुँदै गएको थियो । गुण्डाविरुद्ध प्रहरी कारबाही भएपछि शान्त बनेका चक्रे अहिले करिब एक दशक पछि फेरि आतंकित पारेको आरोपमा पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो प्रभुत्व जमाउँदै युवाहरूको समूह बनाएर रवाफ देखाउने चक्रे देश–विदेश घुम्नदेखि टिकटक बनाउन व्यस्त हुन्थे । तर ६ दिनदेखि भने उनी प्रहरी हिरासतमा छन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार