काठमाडौँ – सरकारले चाडपर्वलक्षित सुपथ मूल्य (सहुलियत) पसल भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग मन्त्रालयअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पसल सञ्चालनको तयारी थालेका छन् । उक्त पसल सञ्चालनका लागि झन्डै चार करोड रुपैयाँ बराबर बजेट विनियोजन गरिएको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयले देशैभर चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनका लागि ३ करोड ८६ लाख ९९ हजार रुपैयाँ विनियोजन गरेको हो । वर्षैभरि सुपथ मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ५२ लाख रुपैयाँ बजेट छुटाइएको छ । यस्तै साल्ट ट्रेडिङले पनि यस्तो पर्वलक्षित पसल सञ्चालन गर्दै आएको छ । सुपथ मूल्य पसल सञ्चालन खर्च तथा छुटका लागि १ करोड ३४ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ । यसैगरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि चाडपर्वलक्षित अनुगमनको तयारी गरेको छ । विभागले तीजपछिदेखि चाडपर्वलक्षित अनुगमन गर्ने जनाएको छ ।
खाद्यले १ सयभन्दा बढी पसल सञ्चालन गर्ने:
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस्तो पसल भदौको अन्तिम सातादेखि सञ्चालनमा ल्याउने भएको छ । यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी देशभर १ सयभन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । गत वर्षभन्दा पसल संख्या बढाउने गृहकार्य भइरहेको कम्पनीका कार्यकारी अधिकृत रमेश आचार्यले बताए । उनका अनुसार गत वर्ष ६६ स्थानमा सञ्चालन गरिएको थियो, अहिले भने १ सय पुर्याउने लक्ष्य राखिएको छ । ‘हामी अहिले यसैको गृहकार्यमा छौँ, कहाँ–कहाँ सञ्चालन गर्ने भनेर छलफल भइरहेको छ,’ आचार्यले भने । भदौ अन्तिम साता भने पनि आचार्यले पसल सञ्चालनको अन्तिम मिति भने नतोकिएको बताए । सामान ढुवानीका लागि टेन्डर प्रक्रिया चलिरहेको र ढुवानीकर्तासँग सम्झौता भएपछि मात्रै पसल सञ्चालनको औपचारिक घोषणा गरिने उनको भनाइ छ । ‘ढुवानीको सम्झौता नभई सामान लैजान अप्ठ्यारो हुन्छ, सम्झौतापछि हामी मिति घोषणा गर्छौँ । यसैगरी साल्ट ट्रेडिङले पनि चाडपर्वअघि देशका ३८ भन्दा बढी स्थानमा पसल सञ्चालन गर्ने जनाएको छ । सूचना अधिकारी कुमार राजभण्डारीले यस्तो पसल सञ्चालनका लागि मन्त्रालयसँग समन्वय गरिरहेको बताए । ‘तीन चार पटक छलफल पनि भएको छ,तर कहिलेदेखि सञ्चालन गर्ने भन्नेबारे अहिले टुङ्गो भने लागिसकेको छैन । साल्ट ट्रेडिङले अघिल्लो वर्ष ३८ स्थानमा यस्तो पसल सञ्चालन गरेको थियो । यी पसलहरूबाट सबै प्रकारका चामल, चिनी, चिउरा, दाल तथा गेडागुडी, तेल घ्यू, कर्णालीको रैथाने उत्पादन (जुम्ली मार्सी, कागुनो, चिनो, तिते फापर, उवा) र नुन लगायतका वस्तु विशेष छुटमा बिक्री गरिँदै आएको छ । यस्तै खाद्य कम्पनी थापाथली बिक्री केन्द्रबाट खसी, बोका, भेडा र च्याङ्ग्रासमेत बिक्री गरिन्छ । खाद्यले गत वर्ष खाद्यान्नमा ५ देखि १० रुपैयाँसम्म र जिउँदो खसीबोकामा प्रतिकिलो २० रुपैयाँसम्म छुट दिएको थियो ।
बजार अनुगमन ‘क्यालेन्डर’:
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्रता दिने भएको छ । तीज पर्व सकिएलगत्तै चाडपर्व विशेष ‘अनुगमन क्यालेन्डर’ नै जारी गरेर बजारमा उपस्थिति बढाउने विभागको तयारी छ । विभागले अहिले डिलर र खुद्रा बिक्रेता तहमै अधिकतम खुद्रा मूल्य (एमआरपी) मा कडाइ गर्न अनुगमन गर्न टोली खटाइएको बताएकाे छ । महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार दाल, चामल, तेल, तरकारी र मासुजन्य अत्यावश्यक वस्तुमा अनुगमन केन्द्रित हुनेछ । हाल विभागका पाँच वटा टोलीले नियमित बजार अनुगमन गरिरहेको र वस्तुगत संघहरूसँग पनि नियमित सम्पर्कमा रहेकाले यसपटक अनुगमन चाडपर्वमा टोलीको संख्यामा ठुलो वृद्धि भने नगरिने दाहालले बताए । ‘हाम्रो निरन्तरको उपस्थितिले बजार धेरै हदसम्म स्थिर छ, विगतमा जस्तो मूल्यवृद्धिको गुनासो अहिले आएको छैन । विभागले अहिले डिलर र खुद्रा बिक्रेता तहमै अधिकतम खुद्रा मूल्य (एमआरपी) मा कडाइ गर्न अनुगमन गर्न टोली खटाइएको बताएकाे छ ।साभार : रापा












