काठमाडौं – अमेरिकाले ५० प्रतिशत भन्सार लगाइदिएपछि भारत आहत बनिरहेका बेला त्यही नीति नेपालका लागि भने ठूलो अवसरका रूपमा उदाएको छ । अमेरिकाले भारतलाई ‘जस्तालाई त्यस्तै भन्सार’ (रेसिप्रोकल ट्यारिफ) बापत २५ प्रतिशत भन्सार लगाएको छ, जुन यही बिहीबारदेखि कार्यान्वयनमा आइसकेको छ । त्यस अतिरिक्त भारतले रुसबाट तेल किनिरहेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप २५ प्रतिशत भन्सार थपिदिएका छन् । ट्रम्पले कार्यकारी आदेश मार्फत थपिदिएको यो भन्सार आगामी २७ अगस्टदेखि लागु हुनेछ । तर, अमेरिकाले नेपाललाई भने १० मात्रै रेसिप्रोकल भन्सार लगाएको छ । यस्तो अवस्थामा भारतसँगको व्यापार वार्ता असफल भएर भारतमाथि ५० प्रतिशत नै भन्सार कायम भएको अवस्थामा नेपाल र भारतबीचको भन्सार दरमा ४० प्रतिशत फरक हुनेछ । होइन, ट्रम्पले हालै लगाएको थप २५ प्रतिशत भन्सार फिर्ता लिए भने पनि यी दुई देशबीचको भन्सार दरमा १५ प्रतिशतको फरक पर्ने छ । भन्सार दरमा १५ प्रतिशत मात्रै फरक पर्नु पनि अन्तर्राष्ट्रिय व्यापारमा धेरै ठूलो हो, यस्तो अवस्थालाई नेपालले आफ्नो हितमा प्रयोग गर्न सक्नुपर्छ,’ काठमाडौंस्थित दक्षिण एसियाली थिंक ट्यांक सावतीका कार्यकारी निर्देशक डा. पारस खरेलले भने । अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट अमेरिकामा १८ अर्ब ३२ करोडका वस्तु निर्यात भएको छ । यो अघिल्लो आव २०८०/८१ को तुलनामा ६ प्रतिशतले बढी हो । सोही वर्ष १७ अर्ब ३१ करोडका सामान निर्यात भएको थियो । नेपालबाट खासगरी कार्पेट, छुर्पी, तयारी कपडा, फेल्टका सामान तथा माटो र अन्य धातुका भाँडावर्तन निर्यात हुने हुने गरेको छ । भारत बाहेक दक्षिण एसियाली देश बंगलादेश, पाकिस्तान तथा श्रीलंकालाई पनि १९–२० प्रतिशत भन्सार दर अमेरिकाले लगाएकाले त्यसबाट पनि नेपाललाई फाइदा हुने खरेलको भनाइ छ ।साभार : अखप












