काठमाडौं – मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीप ज्ञवालीलाई पद तथा गोपनीयताको शपथ गराउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली केन्द्रीय कार्यालयमै सोमबार आयोजित कार्यक्रममा पुगेका थिए । त्यहाँ उनले आफैं संरक्षक रहेको मदन भण्डारी फाउन्डेसन लक्षित केही अनपेक्षित अभिव्यक्ति दिए । जुन अभिव्यक्ति एमाले वृत्तमा चासोको विषय बनेको छ । पार्टीकै नाममा खुलेका कतिपय संस्थाहरू व्यक्तिका ठगी खाने भाँडो बनेको सन्दर्भसँग ओलीले फाउन्डेसनलाई पनि घुमाउरो ढंगले जोडे । निधन भएका नेताहरूको नाममा खुलेका संस्थाहरुको प्रवृत्ति विश्लेषणका क्रममा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नखोलेको संस्था भएको बताएका थिए । जतिबेला मदन–आश्रित स्मृति मनाउन नपाइने स्थिति बन्यो, त्यतिबेला श्रद्धाञ्जली दिन नपाइने स्थिति बन्यो, जन्मदिन मनाउन नपाइने स्थिति बन्यो’ ओलीले भने, ‘पर्सि जन्मदिन छ भने आज विभिन्न विकृतिपूर्ण लेखहरु लिडरसिपबाट लेखिने र प्रकाशित भए । त्यसो भएर एउटा संस्था बनाउनुपर्छ भनेर मदन भण्डारी फाउन्डेसन जन्मिएको हो । ओलीको व्याख्या अनुसार नेताका नाममा खुलेका प्रतिष्ठानहरु तत्कालीन पार्टी नेतृत्वकै पक्षमा उभिने गरेकाले आफू संरक्षक रहेर मदन भण्डारी फाउन्डेसन खोल्नु परेको थियो । तत्कालीन एमाले नेतृत्वसँग समानान्तर गतिविधि गर्ने त्यस्तो कार्यलाई ओलीले पार्टी र आन्दोलनका हितमा गरिएको कार्य भनेका छन् । माधव नेपालहरुले पार्टी कब्जा गरेका बेलामा, संगठन कब्जा भएका बेला, विभिन्न ठाउँमा मदन भण्डारी फाउण्डेसन मार्फत मदन भण्डारीका विचारहरु जीवित राख्ने, पार्टीको वास्तविक मर्मलाई जीवित राख्ने काम गरिएको थियो’, २ वर्षअघि मदन जयन्तीको अवसरमा ओलीले भनेका थिए । त्यसअघि र पछि पनि ओलीको बुझाइ हुन्थ्यो– मदन भण्डारी फाउन्डेसनले गर्ने गतिविधि पार्टीको हितमा हुन्छ, शंका गर्नु पर्दैन । कतिपय जिल्लाहरुमा म सुन्छु, मदन भण्डारी फाउन्डेसनलाई गतिविधि गर्न नदिने वा त्यसमा गतिविधि गर्दा गलत ढंगले सोच्ने…’ १४ वैशाख २०८० मा इलाम पुगेर ओलीले भनेका थिए, ‘पार्टीका विरुद्ध यो मदन भण्डारी फाउण्डेसन जाँदैन, आशंका गर्न पनि हुँदैन । मदन भण्डारी फाउन्डेसनबारे यो तहको पक्षपोषण र प्रवर्द्धन गर्ने ओलीले सोमबार पहिलो पटक शंकासहित अभिव्यक्ति दिएका छन् । ‘अब त्यसको (फाउन्डेसनको) आगामी दिनमा के हुन्छ अलिकति हेर्नुपर्ने अवस्था चाहिँ बन्या छ, कसरी जान्छ त्यो भन्ने कुरा’ उनको शंका छ, ‘किनकि त्यसका पदाधिकारीहरुका अभिव्यक्ति आदि कुरा, चक्रपथ भन्ने अनलाइनको प्रस्तुति आदि हेर्दा खेरी कसरी जाने हो, त्यो भने अन्योल छ । सोमबारको अभिव्यक्ति सुन्दा ओलीले फाउन्डेसनको गतिविधिप्रति असहमति जनाएका मात्र छैनन्, यो संस्था ‘कुनै व्यक्तिको ठगी खाने भाँडो’ बन्न सक्ने अनुमान पनि गरेका छन् । मदन भण्डारी फाउन्डेसनलाई नै ठगी खाने भाँडो बन्यो भन्नु भयो जस्तो लाग्दैन । तर पार्टीकै नाममा खुलेका त्यस्ता संस्थाहरु ठगी खाने भाँडो बन्यो भन्नुभयो’ एमाले स्थायी कमिटी सदस्य कर्ण थापा भन्छन्, ‘कुन संस्था त्यस्तो बन्यो ? तथ्यहरु के हुन् ? देखाएर भन्दा राम्रो हुन्थ्यो । प्रतिष्ठानहरुको व्यवस्थापन गर्न विगतमा पार्टी नेताहरुको जिम्मेवारी नै तोकिने गरेकाले त्यो विकल्पमा जान सकिने सुझाव उनी दिन्छन् । ‘गुरू बराल, भीम रावलहरु कुनैबेला प्रतिष्ठानहरुको विभागीय जिम्मेवारीमा हुनुहुन्थ्यो’ थापा भन्छन्, ‘यदि अहिले समस्या हो भने त्यो विकल्पमा जानुपर्छ, यस्ता शब्दहरु (ओलीको अभिव्यक्ति) राम्रो सुनिँदैन । एमाले नेताहरुका नाममा मदन–आश्रित, तुलसीलाल, पुष्पलाल, मनमोहन, मदन भण्डारी फाउन्डेसन जस्ता संस्थाहरू खुलेका छन् । फाउन्डेसन बाहेक अरू संस्था तत्कालीन नेतृत्वको पकडमा थियो । विगतमा आफू प्रतिकूल संस्थाहरूप्रति असहमति जनाउँदै आएका ओलीले सोमबार भने फाउन्डेसनलाई समेत कटाक्ष गरे । तत्कालीन संस्थापनलाई चुनौती दिँदै आफू अध्यक्ष जुन संस्था उपयोग गर्नुभयो । अहिले त्यही फाउन्डेसनबारे बोल्नु भएको कुरा असाध्यै अप्रिय छन्, यसले राम्रो सन्देश गएन’, एमालेका एक नेता भन्छन् ।साभार : अखप












