कृषिप्रधान देशमा मलकै हाहाकार…..

काठमाडौं –     नेपालगञ्ज। बाँके खजुराका किसान लालबहादुर खत्रीले यस वर्ष दुई बिघा जमिनमा धानखेती लगाएका छन् । धान रोपेको डेढ महिना बित्यो । अब धान पोटाउने बेला भएको छ । ठीक यो बेलामा धानमा युरिया मल हाल्न सकिएन भने धान फल्दैन । त्यसैले उनको दिनचर्या अहिले कृषि सहकारीको कार्यालय धाउँदैमा बितिरहेको छ । कार्यालय पुग्नुअघि भीड छिचोलेर घण्टौं लाइन बसेर दुई–चार किलो मल लिनुपर्छ । बुधबार बल्लतल्ल उनले २५ किलोको एक बोरा मल पाए तर दुई जना मिलेर आधा–आधा बाँड्नुपर्ने शर्तमा । हरेक वर्ष हामीले यसैगरी मलको अभाव भोग्नुपरिरहेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘सधैं जस्तो यसपालि पनि दु:ख पाइएको छ । उनका अनुसार विगतका वर्षहरूमा भारतबाट पनि किसानहरुले केही मल आफ्नै तरिकाले ल्याउँथे । यसपटक नाकाबाट भारतीय सुरक्षाकर्मीले मल नेपाल ल्याउन दिएका छैनन् । त्यसैले अभाव झन् बढेको छ । मल नै कम छ, भारतबाट पनि ल्याउन पाएको छैन । यो अभावमा कृत्रिम अभाव सिर्जना गर्ने काम पनि भएको छ’, उनले भने । उनका अनुसार सरकारले गत वैशाख–जेठमै किसानहरूको लगत लिएर आवश्यक तयारी गरेको भए यस्तो अभाव झेल्नुपर्ने थिएन । तर जब किसान समस्यामा पर्छन् त्यो बेला मात्र सरकारी निकायहरुको चेत खुल्छ । समयमै सरकारी निकायहरु सम्भावित समस्याबारे तयारी अवस्थामा बस्दैनन् । विगतमा जस्तै मल अभावमा देशैभर किसानले दु:ख झेलेपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ‌ओलीले कृषिमन्त्री, उद्योगमन्त्री लगायत कृषिका विभिन्न निकायकै पदाधिकारीहरुलाई कार्यालयमै बोलाएर मलको अभावबारे सोधपुछ गरे । समयमा किन नपुर्‍याएको भन्दै प्रश्न गरे । प्रधानमन्त्रीले नै यो महसुस गर्नु त राम्रो हो तर बेला घर्किएपछि लिएको चिन्ताको के अर्थ रह्यो र ? किसान खत्री आक्रोश पोख्छन्, ‘नेपालमा यति धेरै राजनीतिक दल छन् । तिनका किसान भ्रातृ संगठन छन् । हामी यस्तो अभावमा पर्दा आजसम्म के हेरेर बसेका छन् ? कृषि सामग्री कम्पनी नेपालगञ्जका प्रमुख पुष्पराज श्रेष्ठका अनुसार बाँके जिल्लामा धान खेतीका लागि करिब ६ हजार मेट्रिक टन युरिया मलको माग छ । तर कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयले ६ हजार मेट्रिक टन कोटा तोकेको छ । तर धानको सिजन वैशाखदेखि भदौसम्ममा कृषि सामग्री कम्पनी नेपालगञ्जबाट हिजोसम्म १५९८.५ मेट्रिक टन मात्रै वितरण भएको छ । मागभन्दा निकै कम मल आएकाले अभाव भएको हो । किसानले असारदेखि नै मागेजति युरिया मल पाएका छैनन् । युरिया मलको अभाव हुनुको अर्को कारण भारतले अवैध रूपमा नेपालतर्फ आउने मलमा कडाइ गर्नु हो ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार