काठमाडौं – सरकारले निजी मेडिकल कलेज सञ्चालकसँग घुँडा टेक्दै एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको चिकित्सा शिक्षा आयोगको २१औं बैठकले एक सय सिट रहेको एमबीबीएसको सिलिङ बढाएर १३० र ५० सिट रहेको बीडीएसलाई ६० पुर्याउने निर्णय गरेको हो । उक्त निर्णयको पछाडि निजी मेडिकल कलेज सञ्चालकको आर्थिक स्वार्थ जोडिएको छ । किनकि, निजी मेडिकल कलेज सञ्चाकललाई पोस्न प्रधानमन्त्री स्वयं नै अग्रसर भएको विज्ञहरू बताउँछन् । सिट संख्या बढ्नुले नेपालको चिकित्सा शिक्षा गुणस्तर खस्किने खतरा बढेको उनीहरूको धारणा छ । सरकारले स्नातकोत्तर तह (पीजी) अन्तर्गतको एमडी, एमएसका आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिन मेडिकल कलेजसँग सम्झौता गरेर एमबीबीएस र बीडीएस लगायतको सिट संख्या बढाएको हो ।
शुल्क बढाउने खेलमा सरकार र निजी कलेजको गठबन्धन:
किनकि प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले मेडिकल कलेज सञ्चालकलाई एमबीबीएस र बीडीएसको शुल्क बढाउने आश्वासन दिएसँगै (पीजी) अन्तर्गतको एमडी, एमएसका आवासीय चिकित्सकलाई निर्वाह भत्ता निर्वाह भत्ता दिन कलेज सञ्चालक तयार भएका थिए । तर सरकारले अध्यापन गराउनका लागि समक्ष भएका सरकारी र प्रतिष्ठानमा स्रोत सुनिश्चिता नभएको भन्दै सिट नबढाउने निर्णय गरेको छ । आयोगको १८ बैठकमा एमबीबीएस र बीडीएसको शुल्क र सिट परिमार्जनका लागि तत्कालीन शिक्षा सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको थियो । प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष दबाबमा निजी मेडिकल कलेजको एमबीबीएस सिट १३० सम्म पुर्याउने निर्णय भएको छ । तर स्रोत सुनिश्चिता नभएको भन्दै सरकारी मेडिकल कलेजको सिट वृद्धि भएन । उक्त कार्यदलले हाल कायम रहेको एक सय सिटको सिलिङ हटाउँदै थप गर्न सकिने सुझाव दिएको थियो । पछि कार्यदललाई थप अध्ययनलाई निर्देशन दिइएको थियो । उक्त निर्देशनको आधारमा कार्यदलले कलेज अनुसार सिट संख्या बढाउने प्रतिवेदन तयार गर्यो । जस अनुसार विराट मेडिकल कलेज, चितवन मेडिकल कलज, नोबेल, नेपालगञ्ज, युनिभर्सल, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज १३०, त्यस्तै मणिपाल, जीएमसी १२० र देवदह मेडिकल कलेज ९० सिट पाएका छन् । आयोगको २१औं बैठकले बढाएको सिट संख्या तालिका । बीडीएसमा पिपुल्स र कान्तिपुर ६० मा र अन्यमा ४०, ३० सिट बढेको छ । काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकलले १३० सिट पाएको छ । उच्च स्रोतका अनुसार एमबीबीएसको सिट बढाउनका लागि निजी मेडिकल कलेजको केही वर्षयतादेखि नै चलखेल थियो । सिट संख्या बढाउनका लागि प्रधानमन्त्रीसँग मेडिकल कलेज सञ्चालकहरूले लबिङ गर्दै आएका थिए,’ स्रोत भन्छ, ‘अहिले देखावटी रूपमा कार्यदल बनाएर अध्ययन गरेको जस्तो देखिए पनि मेडिकल सञ्चाकलकै स्वार्थले सिट बढाइयो । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सिट संख्या बढाउँदा गुणस्तरको सुनिश्चिता हुनुपर्थ्यो । तर त्यसलाई ख्याल गरिएको देखिँदैन ।साभार : अखप












