काठमाडौँ – सरकारको नेतृत्व गर्दै आएको नेकपा एमाले र सत्ता साझेदार दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । उपसभामुख रानाले साढे दुई वर्ष अगाडि लेखेको पत्रलाई आधार बनाएर उनीहरूले संविधानको धारा ९१ को उपधारा ६ (ग) अनुसार उपसभामुखलाई हटाउन खोजेका हुन् । उपसभामुख राना मगरले सन् २०२३ फेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य ६ जना जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ता मिति मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । उपसभामुख रानाले उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङको भिसा अन्तर्वार्ताको मिति मिलाइदिन दूतावासलाई पत्रमार्फत अनुरोध गरेकी थिइन् । पत्रमा सबैका लागि कार्यक्रम महत्त्वपूर्ण भएको र संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको उल्लेख थियो । तर, त्यो पत्रमा सभामुख रानाले उल्लेख गरेका व्यक्तिहरू सम्बन्धित कार्यक्रममा जान लागेको पुष्टि नभएपछि दूतावासले अन्तर्वार्ताको समय दिएको थिएन । त्यसपछि राना विवादमा तानिएकी थिइन् ।साभार : रापा












