काठमाडौं – मितेरी सहकारी ठगी प्रकरणमा जोडिएको आरोप लागेका ज्योतिबहादुर भण्डारीलाई जब प्रहरीले पक्राउ गरी अनुसन्धान गर्यो, अनुसन्धान अधिृकतहरू नै चकित परे । सहकारी ठगीमा जोडिएको भन्दै मुद्दा चलाइएका भण्डारी न सहकारीको सञ्चालक थिए, न सदस्य नै । तर सहकारी ठगी जालोको मुख्य केन्द्रमा भण्डारी रहेको प्रारम्भिक अनुसन्धानले खुट्याइसकेको थियो । त्यसै कारण भण्डारीलाई पक्राउ गर्न नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको पत्रमार्फत इन्टरपोलले रेड नोटिससमेत जारी गर्यो । भण्डारीलाई कम्बोडियामा पक्राउ गरी ४ असार राति काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । भण्डारीको नेक्सस, सहकारी ठगीको कनेक्सन र यसरी आर्जन गरिएको अकुत रकमको गन्तव्यसम्म खोजी गर्दा सीआईबीले नयाँ तथ्य पत्ता लगायो- सहकारीको रकम कम्बोडियामा लगानी । सहकारीसँग कुनै साइनो नै नरहेका ज्योतिबहादुरले अर्का ज्योति गुरुङमार्फत रकम विदेश लगेर मोजमस्ती, घुमफिरमा मात्रै खर्च गरेनन् क्यासिनोदेखि ‘एल्लो चिल्ली’ नामको रेष्टुरेन्ट समेत चलाए । कपडा पसल खोले । सीआईबीका एसएसपी होविन्द्र बोगटीका अनुसार यो सहकारीको अधिकांश रकम विदेश पुगेको देखिएको छ । करिब दुई महिना लगाएर गरेको अनुसन्धानबाट बचतकर्ताको १४ करोड रुपैयाँभन्दा बढी रकम सहकारीकी तत्कालीन महाप्रबन्धक तथा कांग्रेस उपभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङले ज्योतिबहादुर भण्डारीमार्फत विदेश पुर्याएको खुल्यो । सहकारीको यो रकमबाट उनीहरूले थाइल्यान्ड, कम्बोडिया, अमेरिकासम्मको भ्रमण गरे । विश्वस्त स्रोतका अनुसार रेड नोटिस जारी भएकी धनराजकी पूर्वपत्नी सहकारीको केही रकम लिएर अहिले अमेरिकामै बसोबास गरिरहेकी छिन् । उनै ज्योति गुरुङमार्फत रकम लिएर हुन्डी, क्रिप्टोमार्फत विदेश लगेर उतै लगानी गरेका ज्योति भण्डारी भने पक्राउ परेर अहिले हिरासतमा छन् । सीआईबीले यो प्रकरणको अनुसन्धान सकेर बुझाएको प्रतिदेनको आधारमा १ भदौमा अदालतमा ८ जनाविरुद्ध मुद्दा दर्ता गर्यो । न्यायाधीश निर्मला योङ्याको सोमबारको इजलासले ज्योतिबहादुर भण्डारी र सुवास खत्रीलाई पुर्पक्षका लागि कारागार पठायो । सुरेश अधिकारी भने ७ लाख धरौटीमा रिहा भए । यो मुद्दाका प्रतिवादीमध्ये भण्डारी, खत्री र अधिकारी गरी तीनजना पक्राउ परेका थिए । खत्री र अधिकारी तिनै व्यक्ति हुन् जसले सहकारीको रकम विदेश पुर्याउने मुख्य भूमिका खेलेको बताइन्छ । खत्री त यसअघि पनि हुण्डीको रकम र नक्कली नोटसहित पक्राउ परेका व्यक्ति हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खत्रीलाई ७ कात्तिक २०८१ मा १० लाख नक्कली नोट लिएर बैंकमा जम्मा गर्न गएपछि पक्राउ गरेको थियो । १० असार २०७३ मा उनी हुन्डी कारोबारको ३६ लाख रुपैयाँसहित काठमाडौंबाट पक्राउ परेका थिए । मितेरी सहकारी ठगी प्रकरणमा जोडिएकाहरूको रकम मागदाबी करिब ७ अर्बको छ । ६ अर्ब ७४ करोडभन्दा बढीको त क्रिप्टो कारोबार गरेको तथ्यबाटै पुष्टि हुन्छ । तर उनीहरू पक्राउ पर्दा न त्यत्रो रकमको सम्पत्ति नेपालमा भेटिन्छ न उनीहरूको बैंक खातामै मौज्दात हुन्छ । यसको मुख्य कारण भनेकै अपचलन गरेको सम्पत्ति विदेशमा लगेर लगानी गर्ने, मोजमस्ती गरेर मास्ने प्रवृत्ति देखिएको अनुसन्धान अधिकृतहरूको भनाइ छ ।साभार : अखप












