काठमाडौं – मनसुनजन्य विपत्तिका कारण यसपालि दसैंतिहार जस्ता ठूला चाडका बेला नेपाली उपभोक्ताले महँगीको मार खेप्नुपर्ने भएको छ । बाढीपहिरोका कारण उत्तरतर्फका दुई प्रमुख व्यापारिक नाका लगगभ ठप्प रहेका कारण उताबाट नेपाल आउनुपर्ने ठूलो परिमाण बराबरका उपभोग्य सामग्री आउन नसक्दा उपभोक्ताले आसन्न ठूला चाडमा महँगीको मार खेप्नुपर्ने भएको हो । ठूला चाडको रौनक नेपालीको घरआँगनमा प्रवेश गरिसक्दा उत्तरी छिमेकी चीनबाट नेपाल भित्रिनुपर्ने अर्बौं मूल्यका सामान भने उतै अलपत्र छन् । कारण हो– मनसुनजन्य विपत्ति । उत्तरतर्फका प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी दुवै मनसुनजन्य विपत्तिका कारण लगभग ठप्प हुँदा करिब ४ सय कन्टेनर सामान उतै अलपत्र परेको व्यवसायीहरूले जानकारी दिएका छन् ।दसैंतिहार लक्षित गरी व्यवसायीले मगाएका ती सामान बाढी, पहिरोका कारण वारि ल्याउन नसक्दा यसपालिको दसै–तिहारमा उपभोक्ताले सामान अभाव र अनियन्त्रित मूल्यवृद्धिको दोहोरो मार खेप्नुपर्ने देखिएको हो ।
४०० कन्टेनर सामान चीनतिरै अलपत्र:
नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव जयन्तकुमार अग्रवालका अनुसार चीनतर्फ करिब ४ सय कन्टेनर सामान रोकिएका छन् । हामीसँग यकिन तथ्यांक त छैन, तर ४ सय कन्टेनर जति सामान चीनतर्फ नै रोकिएको भन्ने हाम्रो अनुमान छ,’ उनले भने । ती कन्टेनरमा दसैंतिहार लक्षित सम्पूर्ण बजार छ, अर्थात् लत्ताकपडा, जुत्ता, स्याउ, ओखर, लसुन, ड्राइ फ्रुट्स र इलेक्ट्रोनिक ग्याजेट । यो चार–पाँच महिनाअघि नै दसैंतिहारको बजार हेरेर योजना बनाइ अर्डर गरिएका सामान हुन्,’ महासचिव अग्रवालले अनलाइनखबरसँग भने, ‘एक महिनाभन्दा बढी भयो कन्टेनरहरू एउटै ठाउँमा थन्किएको । त्यो बन्द बाकसभित्र स्याउ, लसुनजस्ता वस्तुको हालत के भयो होला ? लत्ताकपडा र जुत्तामा ढुसी पलायो होला । यो क्षतिको कुनै हिसाबकिताब छैन । यो यसपालिको मनसुनले निम्त्याएको एक पटकको संकटमात्र नभई हरेक वर्ष दोहोरिने नियति भएको महासचिव अग्रवालको भनाइ छ । यो समस्या अहिलेको मात्र होइन, वर्षौंखि सधैं यस्तै सास्ती खेपिरहनु परेको छ, नयाँ नाकाहरू प्रयोगमा ल्याउनु आजको आवश्यकता हो,’ उनी भन्छन्, ‘चालु नाकाको स्तरोन्नति अत्यावश्यक छ । समुद्री मार्ग हुँदै चीनतर्फको व्यापार गर्ने अवस्था आयो भने बजारमा महँगी र अभाव दुवै बढ्ने निश्चित छ । उनका अनुसार सरकारले १० वर्षअघि नै सम्झौता भएका मुस्ताङजस्ता सुरक्षित र वैकल्पिक नाकाहरू तत्काल सञ्चालनमा ल्याउन ढिला गर्न हुँदैन ।साभार : अखप












